
शिवकुमार थापा
बिजौरी हत्याकाण्डमा परी तत्काल शहीद हुनुभएका आदरणीय नारायण चौधरी, पुष्प घिमिरे र कृष्ण चौधरी, सोही घटनामा घाइते भई केही समयपछि निधन हुनुभएका आदरणीय फर्साराम देवकोटा, श्रीमणि आचार्य, शिवराज गौतम, मदन केसी, देवी पोख्रेल, मयाराम खड्का, ऋषिराज बस्नेतलगायतका शहीदहरूप्रति ३२औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
सोही घटनामा घाइते भई हाल स्वस्थ हुनुभएका तथा अंगभंग भई जीवनयापन गरिरहनुभएका ढिकपुर पोखराका ठगेन्द्र वलीलगायतका योद्धाहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु।
यस पटक अस्वस्थताको कारण कुनै पनि स्मृति कार्यक्रममा सहभागी हुन नसकेकोमा क्षमा प्रार्थना गर्दछु।
उक्त घटनाको जानकारी नभएका नयाँ पुस्ता र दाङ जिल्लाबाहिरका मित्रहरूका लागि बिजौरी हत्याकाण्डबारे संक्षिप्त विवरण प्रस्तुत गर्न चाहन्छु।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पार्टीभित्रको कलहका कारण संसद्मा अल्पमतमा परेपछि २०५१ साल कात्तिक २७ गतेका लागि मध्यावधि निर्वाचन तोक्नुभयो।
अन्य दलहरूसहित संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) “आगामी सरकार एमालेको — देशभक्त र प्रजातन्त्रवादीको” भन्ने नारासहित चुनावी अभियानमा लागेको थियो।
पहिलो आमनिर्वाचनमा दाङ जिल्लाबाट एक मात्र सिट जितेको एमाले यस पटक सबै सिट जित्ने उद्देश्यसहित अभियानमा जुटेको थियो। त्यसबेला दाङमा चारवटा निर्वाचन क्षेत्र तोकिएका थिए।
निर्वाचनअघि कात्तिक १६ गते तत्कालीन क्षेत्र नं. ३ अन्तर्गत बिजौरी गाविसको अक्कासी भन्ने ठाउँमा एमालेको कार्यकर्ता भेला आयोजना गरिएको थियो। सो भेला विथोल्ने उद्देश्यले कांग्रेस कार्यकर्ताले नाराजुलुस गर्न गएपछि भिडन्त भयो। ठूलो संख्यामा जम्मा भएका एमाले कार्यकर्ताले प्रतिकार गरेपछि कांग्रेस कार्यकर्ता तितरबितर भए र दुवै पक्षका केही कार्यकर्ता घाइते पनि भए।
त्यसपछि सत्ताको उन्मादमा रहेका कांग्रेस कार्यकर्ताले तुलसीपुरबाट थप बल मगाएर दुधरासस्थित एमाले कार्यालय तोडफोड गरे र त्यहाँ रहेका फर्साराम देवकोटा र मयाराम खड्कालाई कुटपिट गरे। उनीहरूको रिस त्यसमै रोकिएन — बिजौरीस्थित निर्वाचन सम्पर्क कार्यालयमा समेत तोडफोड गरी त्यहाँ रहेका जनार्दन पोख्रेल र पद्मप्रसाद रेग्मीलाई कुटपिट गरे। त्यसपछि बिजौरी क्याम्पस नजिकैको चियापसलमा बसेका देवी पोख्रेललाई समेत निर्घात कुटपिट गरियो।
कात्तिक १७ गते एमालेले बिजौरीकै हाडिमेमा युवा भेला तथा निर्वाचनसम्बन्धी प्रशिक्षण आयोजना गरेको थियो। यो कार्यक्रम आकस्मिक नभई पूर्व निर्धारित थियो। जिल्लाभरका अगुवा नेता–कार्यकर्ताको उपस्थिति थियो। सो कार्यक्रममा नेता शिवराज गौतम, श्रीमणि आचार्य, क्षेत्र नं. ३ का उम्मेदवार शंकर पोख्रेललगायतले प्रशिक्षण दिनुभएको थियो।
भेलामा अघिल्लो दिनको आक्रमणबारे पनि जानकारी गराइयो र त्यसको विरोधस्वरूप शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरियो। प्रदर्शन हाडिमेदेखि बिजौरी हुँदै दुधरासमा कोणसभा गरी समाप्त गर्ने योजना बनाइयो।
त्यसैदिन बेलझुण्डीमा तत्कालीन निर्माण तथा यातायात मन्त्री तथा शक्तिशाली कांग्रेस नेता खुमबहादुर खड्का र कांग्रेस उम्मेदवार दीपक गिरीको उपस्थितिमा कांग्रेसको पनि चुनावी भेला चलिरहेको थियो। दुई भेलाको दूरी करिब चार किलोमिटर मात्र थियो। त्यहाँ पनि अघिल्लो दिनको घटना र एमालेको कार्यक्रमबारे चर्चा भयो र “आवश्यक परे कठोर कदम चाल्ने” निर्णय गरियो। त्यसपछि हातहतियारसहितका कांग्रेस कार्यकर्ता बिजौरी तर्फ हिँडे।
एमाले पक्षका केही कार्यकर्ताले यो योजनाबारे जानकारी दिए पनि कार्यक्रम शान्तिपूर्ण हुने भन्दै नेताहरूले सबैलाई ढुक्क पारेका थिए।
करिब चार बजे प्रदर्शन सुरु भयो। “नेकपा एमाले जिन्दाबाद!”, “आगामी सरकार एमालेको!”, “जबज जिन्दाबाद!”, “कांग्रेसी गुण्डागर्दी मुर्दाबाद!” भन्ने नारासहित करिब चार–पाँच सय कार्यकर्ता अगाडि बढे।
मानपुर चोक नजिकै करिब पचास जना कांग्रेस कार्यकर्ताले लठ्ठी र बार लगाएर बाटो रोक्ने प्रयास गरे, तर जुलुस अघि बढ्यो। दोस्रो पटक प्रहरीले रोक्ने प्रयास गर्यो, तर पनि जुलुस रोकिने अवस्थामा थिएन। केही अघि बढेपछि जुलुसमाथि लाठी प्रहार भयो। त्यसको प्रतिकारमा भिडन्त भयो र त्यसपछि दक्षिणतर्फको बारमा लुकेर बसेका कांग्रेस कार्यकर्ताले अन्धाधुन्ध गोली चलाए।
अचानक सबैतिर भगदड मच्चियो। को घाइते भयो, को ढल्यो — कसैलाई थाहा भएन। दृश्य जलियाँवाला बागजस्तै भयावह बन्यो। सडक राता रगतले भरियो। घाइतेहरू छटपटाइरहेका थिए। नेताहरू र अन्य साथीहरूले उनीहरूलाई बोकाबोकी १९ किलोमिटर टाढा घोराहीस्थित महेन्द्र अस्पताल पुर्याए।
त्यस घटनामा दाङ सेवारका नारायण चौधरीको अस्पतालमै मृत्यु भयो। गम्भीर घाइते शिवराज गौतम, श्रीमणि आचार्य, ठगेन्द्र वली, मदन केसी, खगेश्वर भण्डारी, पुष्प घिमिरे र कृष्ण चौधरीलाई काठमाडौँ लगियो।
काठमाडौँमा उपचारकै क्रममा कृष्ण चौधरी र पुष्प घिमिरेले पनि ज्यान गुमाए।
त्यसअघि कात्तिक १६ कै दिन अक्कासीका ऋषिराज बस्नेतलाई कांग्रेस कार्यकर्ताले खुकुरी प्रहार गरी हत्या गरेका थिए।
केही समयपछि उपचाररत फर्साराम देवकोटा, श्रीमणि आचार्य, शिवराज गौतम, मदन केसी, मयाराम खड्का र देवी पोख्रेललगायतका योद्धाहरू पनि दिवंगत हुनुभयो। ठगेन्द्र वली अहिले अपाङ्ग जीवन बाँचिरहनुभएको छ। अन्य साथीहरू अझै शरीरमा गोलीका छर्राहरू बोकेर कष्टकर जीवन व्यतीत गरिरहनुभएको छ।
बिजौरी हत्याकाण्ड कांग्रेसी सर्वसत्तावादको चरम अभिव्यक्ति थियो। जनताको सेवा गरेर भन्दा विपक्षीलाई दमन गरेर चुनाव जित्न सकिन्छ भन्ने सोच र “दाङका चारै सिट जितेर एमालेलाई सून्य बनाउने” अहंकारको परिणाम थियो।
—
किन बिजौरीमै गोलीकाण्ड भयो?
पहिलो आमनिर्वाचनमा क्षेत्र नं. २ बाट एमालेका शिवराज गौतम विजयी भएका थिए। २०५१ को निर्वाचनमा अनेरास्ववियूका अध्यक्ष रहिसकेका हालका एमाले महासचिव शंकर पोख्रेल युवा र लोकप्रिय उम्मेदवार थिए भने कांग्रेसबाट दीपक गिरी प्रतिस्पर्धामा थिए।
खुमबहादुर खड्का दाङका सबै सिट जित्नुपर्ने मानसिकतामा थिए। अन्य तीन क्षेत्र सजिलै जितिन्छ भन्ने विश्वास कांग्रेसमा थियो। एमालेका लागि भने यो क्षेत्र आफ्नो प्रभाव जोगाउने मुख्य चुनौती थियो। यही कारण कांग्रेस पक्षको आक्रमण क्षेत्र नं. ३ अर्थात् बिजौरीमै केन्द्रित भयो।
—
के कांग्रेस पक्ष शंकर पोख्रेलको हत्या गर्न खोज्दै थियो?
कतिपय जानकारहरूले यस्तो आशंका पनि व्यक्त गरेका छन्। घटनाक्रम हेर्दा त्यसमा केही सत्यता देखिन्छ।
अघिल्लो दिन कुटपिटमा घाइते भएका देवी पोख्रेल र जनार्दन पोख्रेल — दुवै शंकर पोख्रेलका सहोदर दाजु हुन्। उनीहरूलाई खोजी–खोजी कुटिएको थियो। जुलुसमा सधैं अग्रभागमा उम्मेदवार रहने र सुरक्षाका लागि युवा दस्ताले घेरा दिने प्रचलन थियो। त्यसबेला गोली सिधै अगाडिबाट प्रहार गरिएको थियो, जसमा सबैभन्दा बढी घाइते र शहीद त्यही घेरामा परेका थिए।
त्यसैले प्रहारको लक्ष्य शंकर पोख्रेल नै हुनसक्ने देखिन्छ — यद्यपि यसबारे अन्तिम निष्कर्ष म एक्लैले दिन सक्दिनँ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
