
अमित खनाल ´उर्जा´
नेपाल आज एउटा गम्भीर राजनीतिक, सामाजिक र मानसिक संकटको यात्रामा छ। बाह्य रूपमा हामीसँग आन्दोलनको लामो इतिहास छ — राणा शासनको अन्त्यदेखि २०४६ को प्रजातान्त्रिक आन्दोलन, २०६२/६३ को जनआन्दोलन र गणतन्त्रको स्थापनासम्म हामी निरन्तर परिवर्तनको खोजीमा रह्यौँ। तर विडम्बना के छ भने आज हामी परिवर्तनको नेतृत्व गर्न सक्ने साहस, दृष्टि र सामर्थ्य दुवै गुमाउँदै गएका छौँ।
आजको मूल समस्या नै आन्दोलन उत्पन्न गर्ने शक्ति मरेको छ, परिवर्तनलाई संस्थागत गर्ने क्षमतामा कमजोरी छ; र अरूले ल्याएका सकारात्मक परिवर्तनहरूलाई समेत पचाउन नसक्ने प्रवृत्ति सत्ताको शीर्षदेखि समाजका आधारसम्म गहिरो रूपमा फैलिएर गएको छ।
यो प्रवृत्ति यस्तो खालको छ, जसले न त नयाँ विचार जन्माउन दिन्छ, न त बनेको व्यवस्था टिकाउन सक्छ। पछिल्ला सरकारहरूलाई मात्रै हेर्नुहोस् — सत्तामा पुग्नुअघि परिवर्तनका नारा उच्चरिन्छन्, जनताको आकांक्षालाई आकाशजति चढाइन्छ, तर सत्तामा पुग्नेबित्तिकै आन्दोलनका सपना बिर्सिन्छन। सुधारका कार्यक्रमहरू थन्किन्छन् र फेरि कुर्सी जोगाउने खेलको आरम्भ हुन्छ।
परिवर्तनको श्रेय हडप्ने तर परिवर्तनको बोझ नउठाउने नेतृत्व नै आजको राजनीतिक चरित्रको पहिचान बनेको छ। उदाहरणका लागि संविधान निर्माणमा सबै दलको भूमिका रह्यो तर संविधान कार्यान्वयनको समयमा यसलाई कमजोर बनाउने खेल सबैभन्दा बढी दलहरूकै गतिविधिबाट देखिन्छ।
संघीयता ल्याइयो तर प्रशासनिक संरचनामा अझै पुरानै केन्द्रीय मानसिकता हाबी छ। गणतन्त्र आयो तर सत्ताको व्यवहारमा राजसी अहंकार अझै मरेको छैन। समावेशीताको नारा लगाइयो तर लाभ लिनेहरू पहिले सरह नै शक्तिशाली थुप्रै समूहहरू छन्।
यही प्रवृत्तिले नेपालको राजनीति “उत्तरदायित्वविहीन परिवर्तन” को कारखानाजस्तो बनेको छ। परिवर्तन प्राप्त गरिसकेपछि त्यसलाई सुरक्षित राख्ने जिम्मेवारीबाट राजनीतिक नेतृत्व भागिरहेको छ।
२०६२/६३ को जनआन्दोलनका बलिदानीहरूले कल्पना गरेको नेपालको भविष्य आज किन यति सिम्तिदो छ? किन हामी परिवर्तन विपरीत दिशामा धकेलिँदैछौँ? यसको उत्तर सरल छ — सत्ता जोगाउने खेल परिवर्तन निर्माणभन्दा ठूलो बनिसक्यो। त्यसैले नै संसद् निरन्तर अवरुद्ध हुन्छ, निर्णयहरू समितिमा थन्किन्छन्, सुशासन नारा मात्रै बन्छ, र अन्ततः समग्र देश नै स्थिरता खोज्ने अमर यात्रामा थकित देखिन्छ।
राजनीतिक दलहरूको आन्तरिक गतिशीलतामा हेर्दा पनि उही मानसिकता भेटिन्छ। वैकल्पिक नेतृत्व उदाउन खोजे उसैलाई बदनाम गरिन्छ, कटौती गरिन्छ वा शीर्ष नेतृत्वकै छायामा थुन्न खोजिन्छ। विचार र मूल्यभन्दा ठूलो पद र व्यक्तिको पूजाआजाले नै दलभित्रको गतिशीलतालाई रोगाटो बनाएको छ।
तर समस्या केवल दलहरूमा मात्र छैन — जनताको मानसिकता स्वयं परिवर्तनविरोधी बनेको छ। चुनाव आउँदा नीति होइन, नारा ठूलो बनाइन्छ। व्यक्तिगत पहिचान प्राथमिकतामा राखिन्छ। जात, धर्म, नाता र व्यक्तिगत लाभ नै मतदानको आधार बनाइन्छ । यस्तो समाजमा निरन्तर उही नेतृत्व पुनःपुनः चुन्नु अपरिहार्य परिणामजस्तै बनेको छ र त्यसले फेरि पुरानै असफलता दोहोर्याउने निश्चित छ।
आर्थिक पक्षबाट हेर्दा समस्या अझ स्पष्ट देखिन्छ। नेपालका युवाहरू परिवर्तनको सबैभन्दा ठूलो शक्ति हुन्, तर उनीहरूलाई यहाँ आफ्नो भविष्य सुरक्षित देखिँदैन। बेरोजगारी, अवसरको अभाव, उद्यमशीलतालाई सम्मान नगर्ने वातावरण, र ‘source-force’ बिना केही नहुने प्रशासनिक संरचना — यी सबैले युवालाई देश छोडेर विदेशिन बाध्य बनाएको छ।
वर्षेनि लाखौँ युवा विदेश जाने क्रम बढ्दै जानु भनेको देशको विकासमा सबभन्दा आवश्यक मानव संसाधन रैथाने नेतृत्व क्षमता बगेर जानु हो। जसले गर्दा देशभित्र आन्दोलनको ऊर्जा, परिवर्तनको जुझारुपन र वैकल्पिक सपना दुवै हराउँदै जान्छ।
विदेशबाट पठाइने रेमिट्यान्सले देशलाई चलाइराखेको छ, तर त्यो देशभित्रको संरचनात्मक कमजोरीलाई झनै ढाकछोप गर्ने पर्दाजस्तो मात्र बनेको छ।
सामाजिक दृष्टिले पनि परिवर्तन आत्मसात् गर्न नसक्ने गम्भीर चुनौती छ। हाम्रो समाजले परिवर्तनलाई उपभोग गर्ने वस्तु ठान्छ, तर व्यवहारमा उतार्ने अभ्यास गर्दैन। उदाहरणका लागि, भ्रष्टाचारलाई सबैले गाली गर्छन् तर अवसर पाए स्वयं त्यही गल्ती दोहोर्याउन पछि पर्दैनन्।
लैङ्गिक समानताको कुरा गर्छौँ तर घरभित्र परम्परागत विभेद कायम राखिन्छ। समानताको नारा बोलिन्छ, तर सामाजिक पदानुक्रम हटाउन कसैको रुचि छैन। समाज परिवर्तनका यस्ता विरोधाभासहरूले नै राजनीतिक परिवर्तनलाई पनि सतही बनाइदिएका छन्।
संस्थागत पक्षमा त अझै निराशाजनक अवस्था छ। नेपालमा कानुन बनाउने क्षमता उत्कृष्ट छ, तर कानुन लागू गर्ने क्षमता अत्यन्त दयनीय। अनेकन आयोग, संरचना र नियमावलीहरू बन्ने तर तिनीहरू कागजमै सीमित हुने। दण्डहीनताको संस्कृतिले न अपराध रोक्छ, न भ्रष्टाचार घट्छ, न प्रशासन स्वच्छ बन्छ।
यसरी व्यवस्थाको मेरुदण्ड नै कमजोर हुँदा परिवर्तन कागजमै सुन्दर देखिए पनि व्यवहारमा खङ्ग्रामो मात्र बन्न पुग्छ।
अब प्रश्न उठ्छ — समाधान के हो?
सबैभन्दा पहिले हामीले परिवर्तनलाई नारा होइन, प्रक्रियागत अभ्यास बनाउनुपर्छ। नेतृत्वमा वैचारिक स्पष्टता, नैतिकता र जवाफदेहिता अनिवार्य हुनुपर्छ। वैकल्पिक नेतृत्व उदाउन दमन होइन, प्रोत्साहन हुनुपर्छ।
युवाहरूलाई राष्ट्र निर्माणको केन्द्रमा राख्नुपर्छ । रोजगार, उद्यमशीलता, अनुसन्धान र नवप्रवर्तनलाई सुदृढ गर्नुपर्छ। समाजले आलोचनालाई शत्रुताको रूपमा होइन, सुधारको आधारको रूपमा स्वीकार गर्नुपर्छ। कानुन सबैमा समान रूपमा लागू हुने अवस्था नबनाई परिवर्तन सुरक्षित रहँदैन।
सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले परिवर्तनलाई मन–मस्तिष्कमा बसाल्नुपर्छ। बाहिरको संरचना जति परिवर्तन भए पनि भित्री सोच परिमार्जित नभए परिवर्तन टिक्दैन।
हिजोका उपलब्धिहरू— गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र, मानवअधिकार सुनिश्चितता — यी सबै भोलिको पुस्ताले गर्व गर्नसक्ने उपलब्धि बन्नुपर्छ, गुमाउनुपर्ने सम्झना होइन। यसका लागि राजनीति केवल सत्ता कब्जाको साधन बन्न छोडेर भविष्य निर्माणको संयन्त्र बन्नुपर्छ।
अन्ततः प्रश्न यहीँमा आएर ठोकिन्छ— हामी इतिहास बनाउने राष्ट्र हौँ कि इतिहास बिर्सिने राष्ट्र? हामी परिवर्तनका नायकका सन्तान हौँ कि परिवर्तनका अवरोधकका उत्तराधिकारी? हाम्रो पुस्ता अवसरको मालिक बन्ने हो कि पुनरावृत्त असफलताको वारिस ?
उत्तर हाम्रो सामु स्पष्ट छ— भारत, चीन वा कुनै अर्को शक्तिले होइन, हाम्रो चेतनाले नै नेपालको दिशा निर्धारण गर्छ। आन्दोलन र परिवर्तनको क्षमता पुनर्जीवित गर्नु नै आजको मुख्य आवश्यकता हो। यदि हामी यस असमर्थ प्रवृत्तिलाई चुनौती दिन सफल भयौँ भने मात्र नेपालले आफ्नो राजनीतिक परिपक्वता पुनर्जागरण गर्न सक्छ।
नभए, देश फेरि उही अस्थिरताको दलदलमा डुबिरहनेछ, जहाँ परिवर्तनका चिहानहरू मात्रै थपिँदै जानेछन्।
अब समय आइसकेको छ— आन्दोलनलाई पुनः वैचारिक बलियोपन, परिवर्तनलाई वास्तविक संस्थागत स्वरूप, र नेतृत्वलाई जनउत्तरदायित्वको साहस प्रदान गराउने। नेपालले फेरि एकपटक उत्प्रेरणा, आशा र पुनर्जन्मको बाटो रोज्नुपर्छ। अनि मात्र हामी परिवर्तनलाई जितिएको इतिहास होइन, बाँचिरहेको वर्तमानको रूपमा आत्मसात् गर्न सक्नेछौँ।
(लेखक जेनजी मुभमेन्ट अलाइन्सका अगुवा हुन्)

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
