शिवु खनाल/श्रवण कुमार यादव
देउखुरी। भारतका उत्तर प्रदेश व्यापार मण्डल प्रदेश अध्यक्ष बनवारी लाल कंछलले नेपाल–भारत दुई छिमेकी मुलुकको सम्बन्ध सदियौदेखि घनिष्ट रही आएको बताउनुभयो । उहाँले एक अर्काका अत्यन्त निकट दुई मुलुकको सम्बन्ध स्थापित गराउन सीमा व्यापार आधार स्तम्भको रुपमा रहेको बताउनुभयो ।
देउखुरी उद्योग बाणिज्य संघ लमहीको निमन्त्रणमा नेपाल भ्रमणमा आउनु भएका अध्यक्ष कंछलले भारतको कतिपय बजार नेपाल निर्भर र नेपालका मालसामान आयातले दुई मुलुकको सम्बन्ध मजबुत पार्न भूमिका खेलेको बताउनुभयो ।
नेपाल–भारतबीचको खुल्ला सीमाका कारण दुई देशबीचमा व्यापार–व्यवसाय फष्टाएको छ, उहाँले भन्नुभो,–। ‘अन्य मुलुकभन्दा यी दुई छिमेकी मूलकको सीमा व्यापारले विशिष्ठ स्थान ओगटेको छ । नेपाल–भारतबीच राजनीतिक, सरकारीस्तरको सम्बन्धभन्दा मजबुत छ ।’ ‘दुई देशका व्यापारी बीचको सम्बन्ध नेपालका व्यापारी भारतीय र भारतका नेपाली व्यापारीसँग परिचित छन् । पारिवारिक नाता, वैवाहिक सम्बन्ध जस्ता कुराले पनि यहाँ सीमा व्यापारमा टेवा पु¥याएको छ ।’
नेपाल भ्रमणको क्रममा आउनु भएका भारतका उत्तर प्रदेश व्यापार मण्डल प्रदेश अध्यक्ष बनवारी लाल कंछललाई देउखुरी उद्योग बाणिज्य संघ लमहीले एक कार्यक्रमको आयोजना गरि संघका अध्यक्ष कमल जंग सिंह ठकुरी लगायत सिंगो पदाधिकारीले भब्य स्वागत एवम सम्मान गरेको छ । कार्यक्रममा अध्यक्ष कंछलले भ्रमणले नेपाल–भारत व्यापार सम्बन्धमा नयाँ आयाम थपेको बताउनुहुदैँ, दुई देशको सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो ।
नेपाल भ्रमणको क्रममा द्विपक्षीय हितका विषय र व्यापारको विषयमा व्यापक छलफल गरिएको हो। अध्यक्ष कंछलले सामाजिक, धार्मिक र सांस्कृतिक असल सम्बन्ध बिना नेपाल–भारतको आर्थिक विकास, समृद्वि, राजनीतिक स्थायित्व, राष्ट्रिय सुरक्षा, दिगो शान्ति सुव्यवस्था, रोजगारी, शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षा सम्भव छैन भन्ने कुरा त विगतको ईतिहास र सम्बन्धले नै प्रष्ट गरिसकेको बताउनुभयो । कार्यक्रममा बोल्दै पूर्व सांसद समेत रहनु भएका बनवारीलाल कंछलले व्यापारी समाज संसारकै महान् समाज रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,–। ‘संसार सेवा, देश सेवा र समाज सेवामा व्यापारी सधैं अग्रणी रहन्छ । विद्यालय, अस्पताल, धर्मशाला निर्माणदेखि लिएर विपद्—जस्तै गरिब कन्याको विवाह, अनाथ बालबालिकाको शिक्षा, बाढी, सुख्खा, भूकम्प वा सुनामीजस्ता आपदामा पनि व्यापारी समाज अगाडि बढेर सेवा गर्छ ।’ ‘महानगर, गाउँ, सहर, बजारहरूमा लाखौं मानिसलाई रोजगारी दिने काम व्यापारी समाजले नै गर्छ । नगरपालिका, प्रदेश र देशका राजस्व भण्डार व्यापारीकै योगदानले भरिन्छन् ।’ उहाँले लमहीको व्यवसायिक सक्रियता र संगठनात्मक बलको पनि प्रशंसा समेत गर्नुभयो । उहाँले भन्नुभयो,–। ‘लमही नगरपालिका अत्यन्तै सचेत र सक्रिय छ । यहाँको व्यापार संघ बलियो र संघर्षशील छ। अध्यक्ष कमलजंग सिंह र महामन्त्री हरि थापा अत्यन्त कर्मठ र व्यापारी हितका लागि समर्पित हुनुहुन्छ ।’
कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले कुनै बेला ‘नसुत्ने शहर’को रूपमा चिनिने कोइलाबास नाका ओझेलमा परेको बताउनुभयो । उहाँले पश्चिम राप्तीको प्रमुख प्रवेशद्वार मानिने कोइलाबास नाका अहिले भने ‘मृत शहर’ जस्तै बनेको प्रति दुख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,–। ‘कोइलाबास नाका अहिले सुनसान छ । साँच्चै भन्दा खण्डहरूजस्तै लाग्छ यो नाका अहिले । रुकुम, सल्याङ, प्युठान, दाङ, देउखुरीलगायतका ठाउँबाट नुनदेखि सुनसम्म खरिद बिक्री गर्न व्यापारी र उपभोक्ताहरू यस नाकामा जान्थे । तर, अहिले यही कोइलाबास नाकाका जनता सामान किनमेल गर्न भारत जानुपर्ने बाध्यता छ । टाउको दुख्दा सिटामोल दिनसमेत भारतमै पुग्नुपर्ने बाध्यता छ ।’
‘कोइलाबासका जनताले अहिले धेरै दुःख पाएका बताउनुहुदैँ, नेपाली भूमिमा भएर पनि बजारका लागि भारत जानुको विकल्प छैन उनीहरूका लागि । त्यहाँका जनता कोइलाबासबाट करिब २४ किलोमिटरको दूरीमा रहेको भारतको तुल्सीपुरमा बजार जान बाध्य छन् । उनीहरूलाई गढवा, लमही, दाङकै तुल्सीपुर आउनभन्दा भारतको तुल्सीपुरमा बजार जान सजिलो हुने र छिटो र छरितो पनि हुने बताउँछन् ।’
अध्यक्ष बनवारीलाई बाणिज्य संघको ज्ञापनपत्र
देउखुरी उद्योग बाणिज्य संघ लमहीले भारतका उत्तर प्रदेश व्यापार मण्डल प्रदेश अध्यक्ष बनवारी लाल कंछललाई ज्ञापनपत्र बुझाएको छ । भारतको लखउनका विभिन्न अस्पतालमा नेपालबाट उपचारको लागि जाने नेपाली विरामीहरुलाई विशेष सुविधा सहितको भारत सरकारले उपचारमा दिने २५ प्रतिशत छुटको व्यवस्था गर्न आग्रह गर्दै देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले ज्ञापनपत्र बुझाउनु भएको छ ।
साथै भारतसंग सीमा नाका जोडिएको दाङको सीमावर्ती क्षेत्र राप्तीको प्रवेशद्धारा कोइलाबास नाका नेपाल–भारत भारतीय भन्सार कार्यालयमा चल्दै आएको चौबिस हजार नौसय उनानसय रुपैयालाई बढाएर पच्चिस लाख बराबरको भन्सार हुने व्यवस्था र कोइलाबास नाकालाई दिगो रुपमा संचालन गर्न देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरी र महासचिव हरि बहादुर थापाको हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाइएको हो ।
साझा प्रयास, साझा भविष्य
नेपाल र भारत दुई देश मात्र होइनन्, यी दुई आत्माहरू, दुई इतिहासहरू, दुई संस्कृतिहरू एकअर्कामा पग्लिएका छन् । आतंकवाद, गरिबी, बेरोजगारी र विकासको अभावजस्ता साझा समस्याहरूको समाधान पनि साझेदारीमै निहित छ । खुला सीमाको व्यवस्थापन, पूर्वाधार विकास, शिक्षामा लगानी, स्वास्थ्यको सुदृढीकरण र आर्थिक परनिर्भरताबाट मुक्त हुन दुवै देशले सहकार्य गर्नुपर्छ । आन्तरिक राजनीतिक स्थायित्व, समावेशी नीतिहरू र पारस्परिक विश्वासको आधारमा नेपाल–भारतले मात्र नभई सम्पूर्ण दक्षिण एसियालाई शान्ति र समृद्धिको दिशातर्फ दोहो¥याउन सक्छन् । २१औं शताब्दी सम्भावनाको शताब्दी हो र नेपाल–भारत सम्बन्ध त्यस सम्भावनाको केन्द्रमा उभिएको छ।
खुला सीमा: मित्रताको पुल वा जोखिमको ढोका ?
नेपाल र भारतबीचको खुला सीमा संसारमै दुर्लभ उदाहरण हो—जहाँ २ स्वतन्त्र राष्ट्रका नागरिकहरू विना भिसा स्वतन्त्ररूपमा यात्रा गर्न सक्छन् । यो सीमा केवल भौगोलिक सीमा रेखा होइन, यो ऐतिहासिक सम्बन्ध, पारिवारिक नातागोता, सामाजिक अन्तरसम्बन्ध र आर्थिक सहकार्यको जीवन्त प्रतीक हो । तर, पछिल्ला वर्षहरूमा यो सीमा दुवै देशका लागि सुरक्षा चुनौती बन्न थालेको छ । मानव तस्करी, सुनचाँदीको तस्करी, लागूऔषधको अवैध कारोबार, गैरकानूनी हतियार ओसारपसार र आतंकवादी आवतजावतजस्ता क्रियाकलापमा खुला सीमाको दुरुपयोग भइरहेको छ ।
उदाहरणका लागि भारतको विभिन्न सुरक्षा निकायहरूले कयौँपटक नेपाल हुँदै भारत प्रवेश गरेका आतंककारी संगठनका सदस्यहरूलाई नियन्त्रणमा लिएको रिपोर्टहरू सार्वजनिक गरिएका छन् । त्यसैले, खुला सीमा बन्द गर्नुको सट्टा यसको व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । सीमावर्ती क्षेत्रका नागरिकहरूलाई सुरक्षा चेतना, संयुक्त सुरक्षा गस्ती, प्रविधिको प्रयोग (जस्तै, सीसीटीभी, डिजिटल स्क्यानिङ) र स्थानीय निकायहरूको समन्वयमा आधारभूत संरचनाको विकास जरुरी छ ।
देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीको अध्यक्षता एवम् भारतका उत्तर प्रदेश व्यापार मण्डल प्रदेश अध्यक्ष बनवारी लाल कंछलको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघ लमहीका वरिष्ठ उपाध्यक्ष केशव राज पोख्रेलले नेपाल भ्रमणको क्रममा आउनु भएका भारतका उत्तर प्रदेश व्यापार मण्डल प्रदेश अध्यक्ष बनवारी लाल कंछल लगायत कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण बाणिज्य संघका महासचिव हरि बहादुर थापाले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
