आज मेरो जन्मदिन। जीवनका हरेक दु:खद आँसु र कैयौँ वेदनाभित्र मुस्कुराउँदै हिँडेको पनि वर्षौँ बितिसक्यो। हरेक दु:खका गाथाभित्र आफ्नै जीवनका खुशी, इच्छा र चाहनाहरू पनि कतै टाढा छोडिएका छन्। यो बीचको संघर्षमा मेरो विवेकले राम्रो ख्याल पुर्याउन नसक्दा कैयौँको साथ छुटाएको होला, कैयौँको तारा बनेको पनि हुँला।
केही छैन – जिन्दगी पनि त एउटा खुला पुस्तक जस्तै हो, जसलाई पढ्नेले मात्र बुझोस्, तर भोग्नेले मात्र महसुस गर्न सकोस्। कहिलेकाहीँ बेदनाका चाङभित्र मेरो आफ्नै मौन प्रश्नहरूले मलाई घेराबन्दी गर्छन्, जीवनको गतिलो जवाफ भेटाउन नसक्दा र विचारहरूले निरीह आँसु देखेर म आफैंलाई माफ गरेको कैयौँ ज्वलन्त उदाहरणहरू म आफैंभित्र छन्।
म मेरो आत्मालाई साक्षी राखेर, मेरै दुखको कसम खाएर भन्न सक्छु। आजको मिति सम्म आइपुग्दा परिवर्तनको स्वभाव बोकेर बाँच्न सिकेको छैन म। बरु कैयौँ सपना देखाउनेहरूले गन्तव्यको खुशी देखाउँदै संघर्षको दौडमा म आफैं अरूलाई बाटो दिएर पछाडि सरेको छु।
र पनि, कहिल्यै गुनासो लिएर बाँच्न जानेको छैन म, बरु धेरैका गुनासोलाई मनमा कैदी बनाएर मौनताभित्र समाधान खोज्दै आफैंलाई धेरै पटक गाली गरेर बाँचेको छु। आजको यो मितिमा आइपुग्दा म मेरो जन्मदिने आमालाई गहिरो सम्झिन्छु। उहाँका धेरै विचारहरूसँग सामेल हुन सकिनँ, र त्यसैले आज निरीह जिन्दगी बाँचेको महसुस हुन्छ। मलाई थाहा थिएन, आमा- जिन्दगीको सुख भौतिक सम्पत्तिभित्र रहेछ।
त्यस्ता कैयौँ आमाका दिशानिर्देश स्वीकार गर्न नसक्दा जिन्दगीले नै फेल घोषणा गरिदिएको जस्तो जिन्दगी बाँचेको छु। जिन्दगीको नाफा-नोक्सानको हिसाब म आफैं गर्न नजानेको कारणआफ्नै भित्र दुर्घटनामा परेका थुप्रै खुशिहरूको सजाय भोग्दै मौन जिन्दगी बाँचेको छु।
त्यसैले, दोस्रो व्यक्तिको विचारले मलाई खेद नजनाओस् भन्ने उद्देश्यले शालीन जीवनको परिभाषाभित्र आफैंलाई राखेर हिँडेको छु। सबैको सधैं राम्रो पनि कहाँ हुन्छ र? भावनाको तरंगित विश्वासमा हिँड्ने मानिसहरूले धेरै दुख पाउँदा रहेछन्।
यो चालिसौँ बसन्त पार गर्दा जीवनमा छोडिएका खुशीहरू र नफुलेका वसन्तहरू प्रती पनि मलाई कुनै गुनासो छैन। खै किन हो – निराशाको चरम फेदमा पुगेर होला, छोडेर गएको जिन्दगीका कोरा गन्तव्यहरू सम्झँदा पनि अब मन दुख्दैन।
धेरैले भन्छन् – “महत्वाकांक्षी हुनुपर्छ।” तर बाहिरी आवरणलाई जति सुकै मेकअप गरेर हिँडे पनि भित्रको आत्माले स्विकार्न नसकेपछि के काम? महत्वमा इच्छा राखेर के गर्नु? आत्मिक सफलतामा खडेरी लागिरहँदा सुखको सास पनि देखिन सकेको छैन। यसरी भन्दै गर्दा विचारहरू जन्मिन सक्छन्, तर विचारहरूले दोष दिंदैनन् – यो कुरा मलाई ढुक्क थाहा छ।
मेरो बुझाइमा सफलता भनेको हिराको भोजन होइन, दु:ख भनेको आँसुको आहाल पनि होइन। सुन्यताको परिधिभित्रबाट हरेक सेकेन्डमा फेरिने स्वासको गति बुझ्न सक्नु नै जीवनको सफलता हो।
आशा छ! यो यात्रामा तपाईंको मन मेरो कारणले कहिल्यै जान-अन्जानमा नदुखोस्।
✍️दिपसागर पौडेल
कुश्मा नगपालिका-७, पर्बत

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
