ई. किरण घिमिरे
नेपालमा दशैँ पर्ब धार्मिक पर्व मात्र नरही रास्ट्रिय पर्वको रुपमा समेत मान्न थालिएको छ।यो पर्वले घर फर्कने उत्सुकता, परिवारसँगको आत्मीय पुनर्मिलन, सामाजिक एकता र साझा भावनात्मक मूल्यहरूलाई एकैसाथ उजागर गर्दछ।प्रत्येक वर्ष आश्विन महिनामा मनाइने यस पर्वले लाखौँ नेपालीलाई आफ्ना प्रियजनसँग भेट्न, घर फर्कन र समाजसँग पुनःसम्पर्क गर्न अवसर समेत प्राप्त हुन्छ।तर यति ठूलो जनआवागमनसँगै सडक जाम, टिकट अभाव, दुर्घटना, विमानस्थलमा चाप, शहर बाहिर निस्कने नाकाहरुमा ट्राफिक जाम र दुर्गम गाउँसम्म पुग्ने यातायात कमीले गर्दा देखिने चुनौतीहरूले पर्वको उल्लासमा बाधा पुर्याउने गरेको छ।
यिनै समस्या समाधान गर्ने प्रमुख जिम्मेवारी इन्जिनियर(ट्रान्सपोर्ट इन्जिनियर)हरूको काँधमा रहेको हुन्छ।सडक, पुल, सुरुङ, टर्मिनल, सार्वजनिक यातायात प्रणालीदेखि ट्राफिक व्यवस्थापनसम्म इन्जिनियरको योजना, डिजाइन, नीति तथा प्रविधि बिना दशैँ जस्ता विशाल सामाजिक घटनामा देखिने अव्यवस्था नियन्त्रण गर्न सकिँदैन।त्यसैले दशैँ पर्वलाई साँच्चिकै सहज र सुखद बनाउन यातायात व्यवस्थापनमा इन्जिनियर (ट्रान्सपोर्ट इन्जिनियर)हरूको भूमिका असाधारण रूपमा महत्त्वपूर्ण हुन्छ।
दशैँ पर्वको धार्मिक र सांस्कृतिक पृष्ठभूमि
दशैँ पर्बको सांस्कृतिक पृष्ठभूमि धार्मिकग्रन्थहरूमा भएका कथाहरु र सामाजिक प्रथाहरूको जटिल अन्तर्सम्बन्धबाट निर्माण भएको छ।पौराणिक कथाहरूमा आधारित यस पर्वको मूल आधार रामायण र चण्डी ग्रन्थ जस्ता धार्मिक ग्रन्थहरूमा पाइन्छ।रामले दशमीको दिन रावणलाई पराजित गरेको घटनासँगै दुर्गा भवानीले महिषासुरलाई पराजित गरेको प्रसङ्गहरु दशैँ पर्वसंग जोडिएको छ।यी कथा अनुसार असुर शक्तिमाथि देवत्वको विजयको प्रतीकात्मक अर्थ बोकेका छन्।यसले मानव जीवनमा धर्म र न्यायको स्थापनाको महत्वलाई प्रतिबिम्बित गर्दछ।तथापि, दशैँको सांस्कृतिक महत्व धार्मिक कुराहरुमा मात्र सीमित नरही व्यापक सामाजिक संरचनासम्म फैलिएको छ।यस पर्वले परिवारसँग मिलन, गाउँ फर्कने चलन, सामुदायिक मेलमिलाप र परम्परागत मूल्यहरूको पुनःअभिव्यक्तिको अवसर प्रदान गर्दछ।विशेषगरी”गाउँ फर्कने” र “घर-परिवारका सदस्य भेट्ने” संस्कृतिले दशैँलाई धार्मिक पर्व मात्र नभई यात्रा र यातायातसँग समेत गहिरो रूपमा जोड्ने काम गरेको छ।यही सांस्कृतिक प्रवृत्तिले दशैँको समयमा यातायात क्षेत्रलाई असीमित चाप दिने पर्दछ,जसले गर्दा नेपालको सडक यातायात प्रणालीमा ठूलो चुनौती उत्पन्न हुन्छ।यसप्रकार, बडा दशैँ नेपाली समाजमा धर्म, संस्कृति र सामाजिक जीवनको समन्वयको रूपमा रहेको छ।यसले एकातिर धार्मिक आस्थालाई कायम राख्दै अर्कोतिर सामाजिक सद्भाव र पारिवारिक सम्बन्धहरूलाई मजबूत बनाउने काम गर्दछ।
दशैँ पर्वमा यातायात चुनौती
नेपाली समाजमा दशैँको समयमा यातायात प्रणालीले असाधारण चुनौतीको सामना गर्नुपर्छ।रोजगार, शिक्षा र व्यवसायिक अवसरका कारण धेरै नेपाली ग्रामीण क्षेत्रबाट शहरी केन्द्रहरूमा बसोबास गर्ने भएकाले, वर्षेनी आउने यो पर्वमा घर फर्कने सांस्कृतिक परम्पराले यातायात संरचना र व्यवस्थापनमा अत्यधिक दबाब सिर्जना गर्दछ।सडक सुरक्षामा सबैभन्दा चिन्ताजनक पक्ष भनेको बढ्दो दुर्घटना दर हो।यसको प्रमुख कारणहरूमा ओभरलोडिङ, रातिको समयमा लामो दूरीमा गाडी चलाउने प्रचलन, थकानग्रस्त चालक तथा जीर्ण वा असुरक्षित सडक अवस्थाहरू समेत पर्छन्।त्यस्तै यातायात व्यवस्थापनको दृष्टिकोणले हेर्दा नागढुंगा, सागा,फर्पिंग लगायत रणनीतिक चेक प्वाइन्ट (check point) हरूमा देखिने घण्टौंसम्मको ट्राफिक जामले यात्रुहरूको समय, ऊर्जा र उत्पादकत्वको ठूलो हानी गरिरहेको अनुभब हुन्छ।यी सबै कारणहरूले गर्दा दशैँ “खुसीको पर्व” मात्र नभई एक प्रकारको “यातायात संकटको अवस्था” समेत हो।यसले नेपालको यातायात संरचनाको सीमित क्षमता, सञ्चालनमा कमी देखिने दक्षता र सांस्कृतिक परम्परा तथा आधुनिक यातायात आवश्यकता बीचको असमन्वयलाई पनि स्पस्ट रूपमा उजागर गर्दछ।
इन्जिनियरिङ (ट्रान्सपोर्ट) दृष्टिकोण
दशैँमा देखिने यातायात चुनौती सडक निर्माण वा भौतिक संरचनामा मात्र सीमित हुँदैन।यातायात ब्यबस्थापनमा सम्पूर्ण यातायात प्रणालीको वैज्ञानिक व्यवस्थापन, नियन्त्रण र अनुकूलन क्षमतासँग प्रत्यक्ष सम्बन्धित हुन्छ।यातायातइन्जिनियरहरूले प्रणालीलाई क्षमता(Capacity),प्रवाह(Flow),सुरक्षा(Safety), पहुँच(Accessibility) र टिकाउपन (Sustainability) जस्ता बहुआयामिक आधारमा अध्ययन र विश्लेषण गर्नु पर्छ।
क्षमता विश्लेषण (Capacity Analysis): सडकले धान्न सक्ने भन्दा बढी सवारी साधनको प्रवाह हुँदा प्रणालीमा ब्रेकडाउन (System Breakdown) उत्पन्न हुन्छ।यसको प्रत्यक्ष असर ट्राफिक फ्लोमा पर्छ जसले चोकहरूको व्यवस्थापन, लेन कन्फिगरेसन, बस स्टप स्थाननिर्धारण र पार्किङ व्यवस्थापनलाई प्रभाव पार्छ।
सुरक्षा इन्जिनियरिङ (Safety Engineering): साइनबोर्डको उपयुक्त स्थान निर्धारण, ओभरलोड नियन्त्रण प्रणाली आदिले दशैँमा विशेष महत्व पाउँछन्। किनभने ओभरलोड बस, थकानयुक्त चालक र असुरक्षित सडक अवस्थाको संयोजनले दुर्घटनाको सम्भावना उल्लेखनीय रूपमा बढाउँछ।
माग प्रतिक्रिया (Demand Response): चाडपर्व जस्ता असामान्य भीडका अवस्थालाई सामना गर्न पूर्वतयारी र अनुकूलन क्षमता आवश्यक हुन्छ।यसका लागि सडक क्षमताको यथार्थ मूल्यांकन महत्त्वपूर्ण हुन्छ ।यसले दुई लेनको सडकको सामान्य क्षमतासँग दशैँमा देखिने अत्यधिक यात्रु चापबीचको ठूलो अन्तरलाई प्रष्ट पार्छ।
इन्फ्रास्ट्रक्चर मेन्टेनेन्स (Infrastructure Maintenance): पर्व अघिको समयमा आवश्यक मर्मत र सुधार नगर्दा साना समस्या नै ठूलो अवरोधमा परिणत हुने गर्छ।खाल्डाखुल्डी, असमान सडक सतह वा अधूरा निर्माण कार्यहरूले यात्रुहरूको सहजतामा प्रत्यक्ष असर पार्छन्।नेपालको सन्दर्भमा विशेषगरी सडक विभाग मातहतका सडकहरूमा निरन्तर रूपमा सडक हेरालुहरू खटाइएका हुन्छन्।तिनीहरुले स-साना खाल्डा पुर्ने, स-साना पहिरो हटाउने र यात्रुहरूलाई तत्कालीन सहजता दिलाउने काम गरिरहेका हुन्छन्। यसका अतिरिक्त सडक सतहको असमानता सुधार गर्नका लागि ओभरलेइङ (overlaying) र सर्फेस द्रेसिंग (surface dressing) जस्ता प्राविधिक उपायहरू पनि प्रयोग भइरहेको देख्न सकिन्छ।
यी नियमित कार्यहरूले सडक प्रयोगकर्ताको अनुभवलाई सहज बनाउनुका साथै समग्र यातायात प्रणालीको सुरक्षात्मक गुणस्तरलाई पनि मजबुत बनाउँछन्।यी सबै पक्षहरूको विश्लेषण, वैज्ञानिक व्यवस्थापन र दीर्घकालीन योजना नै दशैँ जस्ता उच्च चाप हुने अवधिमा देखिने यातायात संकटलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्बोधन गर्ने प्रमुख उपाय हो।
समाधानमा इन्जिनियर(ट्रान्सपोर्ट)को भूमिका:
नेपालमा रहेका लगभग धेरै जसोले दशैँलाइ राष्ट्रिय पर्वको रुपमा मनाउन थालिसकेको अवस्था छ ।यो समयमा नेपाल भित्र हजारौ मानिसहरु आफ्नो घर-परिवार भेट्न लामो दूरीको यात्रामा निस्कन्छन्।यति धेरै यात्रु एकैपटक सडकमा निस्कँदा स्वाभाविक रुपमा यातायात संकट उत्पन्न हुन्छ।यही बेला इन्जिनियर (ट्रान्सपोर्ट)हरूको भूमिकाले यात्रुहरूको सुरक्षित र सहज यात्रा सुनिश्चित गर्छ भन्ने कुरा प्रस्ट अनुभव गर्न सकिन्छ ।
इन्जिनियरहरूले सडकको क्षमता विश्लेषण गरी चाडपर्व(दशैँ) मा कति ट्राफिक दबाब बढ्न सक्छ भन्ने यथार्थ अनुमान गर्छन् र त्यसको आधारमा अतिरिक्त बस सञ्चालन, डिजिटल टिकटिङ तथा रिजर्भ प्रणालीलाई सुव्यवस्थित गरेर यात्रुलाई सहज र व्यवस्थित बनाउँछन्।त्यस्तै,स्मार्ट ट्राफिक व्यवस्थापन अन्तर्गत सेन्सरयुक्त सिग्नल र लेन व्यवस्थापनले सडक प्रयोगलाई अनुशासित बनाउँछ भने चालकलाई दिइने विशेष तालिम, ओभरलोड नियन्त्रण तथा रात्री बसमा दुई चालकको अनिवार्य व्यवस्था यात्रुलाई सुरक्षित र निश्चिन्त यात्रामा रूपान्तरण गर्छ।यससँगै चाडपर्वअघि नै इन्जिनियरहरूले राजमार्ग तथा प्रमुख सडक खण्डमा मर्मत-सम्भार गरि रहेका हुन्छन्।असमान सतह मिलाउने, आवश्यक रेखाङ्कन गर्ने, ट्राफिक साइनेज राख्ने जस्ता कार्यले रात-दिनको यात्रामा अझ सुरक्षित वातावरण सिर्जना गर्छ ।त्यसैले, दशैँमा आफ्नो प्रियजनलाई भेट्न उत्साहित भएर घर फर्किन्छन्, त्यो सुरक्षित र सहज यात्राको पछाडि इन्जिनियरहरूको अदृश्य तर महत्वपूर्ण योगदान रहन्छ।उनीहरूको योजना, प्रविधिको प्रयोग र अथक मेहनतकै कारण सुरक्षापूर्वक गन्तव्यसम्म पुग्न सकिन्छ भन्ने अनुभूति यात्रुहरूले गर्न सक्छन् ।हालैको उदाहरण लिनुपर्दा नारायणघाट-मुग्लिन सडक खण्डको तुइन खोलामा आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा इन्जिनियरहरू दिनरात खटिएर सडक सुचारु गर्न सफल भए।त्यतिबेला वैकल्पिक बाटोको व्यवस्थापनदेखि लगातार पहिरो हटाउने कार्यमा इन्जिनियरहरूले देखाएको प्रतिबद्धता नै हजारौँ यात्रुको सुरक्षित आवागमन सम्भव गराउने मुख्य आधार थियो।तर विडम्बना के छ भने, यस्ता कठिन घडीमा अग्रपंक्तिमा खटिएका इन्जिनियरहरूको योगदान सार्वजनिक रूपमा उल्लेखित हुँदैन, बरु जस अरूले लिने गरेका हुन्छन्। समाचारमा तमासा हेरेर बस्नेहरू मात्र अगाडि देखिए पनि वास्तवमा यात्रुलाई सहज बनाउने, सडकलाई सुरक्षित राख्ने र चाडपर्वमा घर फर्कने वातावरण सुनिश्चित गर्ने काम इन्जिनियरहरूको अदृश्य प्रयासकै परिणाम हो।यसैले, इन्जिनियरहरूले आफ्नो काम मात्र होइन, त्यसको प्रभावबारे सचेत रूपमा आवाज उठाउँदै सामाजिक मान्यता स्थापित गर्न पनि आवश्यक देखिन्छ
दशैँ पर्व समग्र नेपालीहरुको लागि खुशी, उमंग र परिवारको मिलनको पर्व हो। यही पर्वमा देखिने भीड र यातायात चुनौतीले कहिलेकाहीँ पर्वको वास्तविक आनन्द कम बनाइदिन्छ ।त्यसैले दशैँलाई सहज, सुरक्षित र सुखद बनाउन ट्रान्सपोर्ट इन्जिनियरहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।उनीहरूको योजना, पूर्वानुमान, संरचना डिजाइन र आधुनिक प्रविधिको प्रयोगबिना चाडपर्वमा हुने भीड व्यवस्थापन असम्भव छ।
अझ नेपालका इन्जिनियरहरुले दशैँलाई धार्मिक तथा सास्कृतिक पर्वको रूपमा मात्र नहेरी यातायात व्यवस्थापन, पूर्वाधार सुधार र सामाजिक जीवनसँग प्रत्यक्ष सम्बन्धित अवसरको रूपमा पनि बुझ्न आवश्यक छ।जुन देशमा यातायात प्रणाली वैज्ञानिक, सुरक्षित र व्यवस्थित हुँदैन ,तबसम्म दशैँ जस्तो महान पर्वमा घर फर्कने यात्रुहरूको “घर पुग्ने सपना” कठिन र जोखिमपूर्ण नै रहिरहन्छ। जब कुनै ब्यक्ती आफ्ना प्रियजनसँग सहज र सुरक्षित रूपमा भेटघाट गर्न पाउँछ, त्यो धार्मिक चमत्कार होइन। त्यो इन्जिनियरहरूको अदृश्य परिश्रम, योजनाबद्ध व्यवस्थापन र विज्ञानको प्रत्यक्ष परिणाम हो, जसले दशैँ जस्तो पर्वको वास्तविक खुशी, परिवारको मिलन र उत्सवको आनन्द सम्भव बनाउँछ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
