दाङ । दाङको घोराही उपमहानगरपालिका–३, बरगदवा, भानपुरमा ४ अर्बको लगानीमा निर्माण भएको संजीवनी शिक्षण अस्पताल यही असोज ६ गते औपचारिक रूपमा शुभ साइत तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।अस्पतालका सीईओ दीपक रोकाले घटस्थापनाको शुभ अवसर पारेर हुने उक्त उद्घाटन कार्यक्रममा सबैलाई उपस्थित भई साथ र सहयोग प्रदान गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार संजीवनी अस्पताललाई आधुनिक प्रविधियुक्त, गुणस्तरीय स्वास्थ्य सेवा र शैक्षिक अनुसन्धान केन्द्रका रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
चार अर्ब रुपैयाँको ठूलो लगानीमा निर्माण गरिएको सो अस्पतालमा प्रारम्भिक चरणमै अत्याधुनिक उपकरणसहित विभिन्न ५०० शैयाको सुविधा उपलब्ध गराइने बताइएको छ । अस्पतालले विशेष गरी दाङसहित सम्पूर्ण मध्यम तथा पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य लिएको छ ।
सीईओ रोकाले शुभारम्भपश्चात् अस्पतालले सामान्य उपचारदेखि उच्चस्तरीय शल्यक्रिया, मातृत्व तथा बाल स्वास्थ्य, आकस्मिक सेवा, एनआईसीयू, पिआइसियु लगायत भेन्टिलेटर सहितका आइसीयू, एमआरआई, सीटी स्क्यान लगायतका सेवा प्रारम्भ गर्ने जानकारी दिनुभयो । साथै, शिक्षण अस्पतालका रूपमा यसलाई विकसित गर्दै आगामी दिनमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्देश्य पनि रहेको उहाँले बताउनुभयो ।
अस्पतालका अनुसार यस संस्थाले स्वास्थ्य सेवा मात्र नभई स्थानीय तहमा रोजगारी सिर्जना गर्ने, स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्ने र क्षेत्रीय स्तरमा स्वास्थ्य शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउनेछ । स्थानीयवासी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूले असोज ६ गते हुने उक्त ऐतिहासिक शुभसाइत कार्यक्रममा सहभागिता जनाई संजीवनी अस्पताललाई थप मजबुत बनाउनुपर्ने अपेक्षा राखिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
