राजपुर। दाङ जिल्लाको देउखुरी उपत्यकाभित्र रहेको राजपुर गाउँपालिकाको दक्षिणी सिमानामा फैलिएको एक सीमावर्ती गाउँ स्याउलेको कथा हो। जहाँ जीवन प्रकृतिसँग जुध्दै अगाडि बढिरहेको छ।
जङ्गलको बिचमा डांडा छ। डांडामाथि एउटा गाउँ बसेको छ। त्यहिं गाउँमा दुई भाइ छोरा, एउटा दिदी, बाआमा हजुरबुबा, हजुरआमा भएको एउटा घर रहेको छ।
बाआमा अहिले कमाईको लागि छिमेकी मुलुक भारत जानुभएको छ। घरमा अहिले हजुरबाआमा, कान्छा भाई छोरा, दिदी मात्र बस्नुहुन्छ। हजुरबुबा घट्ट चलाउने काममा व्यस्त, दिदी गोठालो जाने, हजुरआमा सानातिना घरायसी काममा व्यस्त हुनुहुन्छ र कान्छा भाई छोरा स्कुल जान्छन्। अहिले उनी कक्षा ८ मा पढ्छन्। विदाको दिन घरको काममा सहयोग गर्छन्। कहिलेकाहीँ घरायसी कामका कारण स्कुल जान भ्याउँदैनन । भाईको पढाइ लेखाइ ठिकै ठिक छ तर नियमित रूपमा स्कुल जान नसकेकाले पढाइ अलि कमजोर भएको छ।
दिदी एस्.ई.ई. पास गरेर घरायसी र अन्य केही कारणबस माथिल्लो तहको कक्षामा नाम लेखाउन सकेकी छैनन्। माइला भाई छोरा सहरमा बसेर माथिल्लो तहको शिक्षा हासिल गर्दै गरेको छन्। यसरी सानो परिवार भए त पनि कोही कता कोही कता भएको हुनाले घरमा अहिले जम्मा ३जना मात्र बसेका छन्। कान्छा भाई छोरा स्कुलतिर होस्टेलमै बसेर पढ्छन्। कहिले काँही विदा भएको बेला मात्र घर आउँछन् । किनकि घरबाट स्कुल पुग्न कम्तीमा २ घन्टा पैदल यात्रा गर्नुपर्छ। बाटो पनि उकालो ओरालो गर्दै जानुपर्छ। त्यहिं भएर होस्टेलमा सरहरू संगै बसेका छन्। यसबाट उनलाई पढाइ लेखाइमा अलि सहयोग पनि मिलेको छ।
अर्को कुरा यो ठाउँमा बिजुली, यातायात,सन्चार, खानेपानीको समस्या छ। बिजुलीको लागि सोलारको प्रयोग भएको छ। फोन गर्नको लागि अलि माथि डाँडामा जानुपर्छ त्यो पनि नेपाली सिमबाट हैन इन्डियन जियो सिमबाट कहि कतै नमस्ते सिमले मात्र काम गर्छ। खानेपानीको स्रोत भनेको खोला रहेको छ त्यहिंबाट पानीको आपूर्ति गरिन्छ। यातायातको नाममा गोरेटो बाटो रहेको छ त्यो पनि उकालो ओरालो गर्दै, ठाउँ ठाउँमा खोला पनि तर्नुपर्छ।
पानी परेर खोलामा भल आएको बेलामा बाटो हिँड्न अप्ठ्यारो हुन्छ जसले गर्दा बच्चाहरूलाई स्कुल जान समस्या हुन्छ। यो गाउँ नाकामा परेको हुनाले बजारको लागि इन्डिया नै पुग्नुपर्छ । सोमबार बजार लाग्छ। त्यहाँ पुग्न इन्डियन क्याम्पसम्म पैदल हिँडेर जानुपर्छ त्यहाँबाट आटो लाग्छ तर पानी पर्यो भने ३ घन्टा पैदल हिँडेर बल्ल बजार पुगिन्छ कोही कोही बाइकबाट आउने जाने गरेका छन्।
आम्दानीको स्रोत भनेको बाख्रा पालन, गाई पालन, गोरुपालन, कुखुरा पालन, बनकसको डोरी बनाई बेच्ने काम रहेको छ। कोही कोही इन्डियाको केरला, मेघालय,सिमला जस्ता विभिन्न ठाउँहरूमा गएर कमाउने गरेका छन्। खाना पकाउनको लागि दाउरा, घरहरू काठबाट तथा माटोको लिपपोत गरी छानाहरु छाउन बनकस, खरको प्रयोग गरेको पाइन्छ। कोही कोही सानातिना पसल सञ्चालन गरेका छन्। बच्चाहरू छुट्टी भएपछी गोठालो जाने, घाँस दाउरा काट्ने गर्दछन्। बस्ती पनि पातलो छन्। नेपाली, सार्की, चौधरी, मगर, पुन, झाक्री, गुरुङ,बिक, घर्ती जस्ता विभिन्न जातजातिका मानिसहरु बसोबास गर्छन्। भाषा भने प्राय: नेपाली भाषाको प्रयोग भएको पाइन्छ। हिन्दू,इसाई धर्म मान्ने गर्दछन्। यसरी नै नाका बासीहरुको जनजीवन चलिरहेको छ।
✍️ राम तिर्थ तेली
(उहाँ शिव शक्ति मावि भौवा नाकाको शिक्षक हुनुहुन्छ)

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
