• २२ कार्तिक २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वरिष्ठ पत्रकार शर्माको आत्मकथा विमोचन




दाङ। वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको आत्मकथा ‘जीवन प्रवाह’ विमोचन गरिएको छ। स्काइ फाउन्डेसनका अध्यक्ष एवं विपश्यना साधक दोर्जी छिरिङ शेर्पा लगायत विभिन्न व्यक्तिहरूले सामूहिक रूपमा कृति विमोचन गर्नुभएको हो।

कार्यक्रममा प्रमुख अतिथि शेर्पाले विपश्यनाले मानिसलाई जीवनको यथार्थबोध गराउने उल्लेख गर्दै बिपश्यना धर्म नभई सबै धर्मावलम्बीले शान्तिका लागि गर्ने ध्यान भएको बताउनुभयो। उहाँले एक सय वर्षको नजिक पुग्नुभएका नारायण गुरुको सकृयता सबैका लागि प्रेरणादायी रहेको बताउनुभयो।

विशिष्ट अतिथि पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले जेनजी आन्दोलनको सफलता र यसको महत्त्वबारे धारणा राख्दै भन्नुभयो, “हामी विचार र भावनामा जेनजी हौं। अहिलेको जेनजी आन्दोलनले छोटो समयमा विश्वमै सफल भएको आन्दोलनको रुपमा रेकर्ड स्थापित गरेको छ। गोली हान्ने आदेश दिने शासकहरुलाई आम हत्याको मुद्दा चलाउनुपर्छ। परिवर्तनलाई संस्थागत गर्ने र राजनीतिमा पुस्तान्तरण गर्ने बेला आएको छ। भ्रष्टाचारको स्रोत निर्वाचन प्रणाली भएकाले सुधार आवश्यक छ। लठ्ठी नबोकेका आन्दोलनकारीमाथि गोली चलाएपछि ध्वंसात्मक अवस्था सिर्जना भएको हो। देशभित्रै बस्न पाउने चाहना राख्ने जेनजी सच्चा राष्ट्रवादी हुन्। भ्रष्टाचारमुक्त नेपाल अबको लक्ष्य हो। परिवर्तनको मर्मअनुसार जेनजी घोषणापत्र जारी गर्नुपर्छ। नेतापीडित समाजलाई जनताको समाजमा रूपान्तरण गर्नुपर्छ। निर्वाचन विशाल जनअदालत हो, अब फैसला जनताले गर्नेछन्।”

समाजसेवी एकराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा, राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटा, नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, पत्रकार नारायण पौडेल, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी लगायतले ९५ वर्षे नारायण गुरुको नयाँ कृतिले स्रष्टाहरूलाई प्रेरित गर्ने र सामाजिक न्यायको इतिहास उजागर गर्ने बताएका छन्।

कार्यक्रम नयाँ युगबोधका सम्पादक लक्ष्मी आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कृति प्रकाशक विएन पुस्तक संसारका निर्देशक सूर्य बिसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कृति सम्पादक डा. टीकाराम उदासीले पुस्तक लेखन र यसको महत्वबारे जानकारी दिनुभयो।

Facebook Comments