दाङ। परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले जेनजी आन्दोलनको विश्वव्यापी सफलता र यसको महत्वबारे टिप्पणी गर्नुभएको छ।
वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको आत्मकथा जीवन प्रवाहको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भन्नुभयो, “जेनजी क्रान्तिले छोटो अवधिमा विश्वमै सफल हुने रेकर्ड बनाएको छ। उम्रले जुनसुकै समूहका हौंला, तर हामी अग्रगमन चाहने सबै विचार र भावनामा जेनजी हौं। गोली हान्ने आदेश दिने शासकहरुलाई आम हत्याको मुद्दा चलाउनुपर्छ। परिवर्तनलाई संस्थागत गर्ने र राजनीतिमा पुस्तान्तरण गर्ने बेला आएको छ।”
उहाँले निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको र भ्रष्टाचारमुक्त नेपाल लक्ष्य राखिएको बताउनुभयो। साथै, आन्दोलनका क्रममा लठ्ठी समेत नबोकेका आन्दोलनकारीमाथि गोली चलाएपछि ध्वंसात्मक अवस्था सिर्जना भएको उल्लेख गर्दै देशभित्रै बस्न पाउने चाहना राख्ने जेनजी नै सच्चा राष्ट्रवादी भएको स्पष्ट पार्नुभयो।
श्रेष्ठका अनुसार परिवर्तनको मर्मअनुसार जेनजी घोषणापत्र जारी गर्नुपर्छ र नेतापीडित समाजलाई जनताको समाजमा रूपान्तरण गर्नुपर्छ। उहाँले निर्वाचनलाई विशाल जनअदालतको रुपमा उल्लेख गर्दै अब फैसला जनताले गर्ने बताउनुभयो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
