• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
आगामी निर्वाचन परिणाम: एक विश्लेषण





लेखराज रेग्मी
आगामी निर्वाचनको परिणाम पनि जनहितका मापदण्डमा प्रतिकृयावादी यथास्थितिको पक्षमै झुक्ने सम्भावना प्रष्ट देखिन्छ। सुधार वा पश्चगमनका झिनो बहस भइरहने भए पनि संरचनागत रूपान्तरण हुने संकेत भने क्षीण छन्।

विगतमा राप्रपा र रास्वपाको मतलाई क्रान्तिकारी धाराको पतनको रूपमा मूल्याङ्कन गरिएको थियो। यसपटक पनि राप्रपाको मत स्थिर रहने, कतिपय कारणले ह्रास हुने अनुमान गर्न सकिन्छ। रास्वपाले जेन्जी पुस्तालाई भड्काउने तर त्यसको क्षति नउमेरिने गैरजिम्मेवार भूमिकाका कारण मतमा ठूलो लाभ लिन नसक्ने देखिन्छ।

एमालेको सुधारवादी छविमा पछिल्ला घटनाले धक्का पु¥याएको छ भने नेकाले आफ्नो प्रजातान्त्रिक पहिचान जोगाउन सकेको छैन। माओवादी केन्द्र पनि अपवाद छैन—ऐतिहासिक अवसर पक्रन नसक्ने, बदनाम शक्तिसँग सहकार्य गर्ने, संसदभित्र–बाहिर आन्दोलनमा सन्तुलन कायम गर्न नसक्ने र संगठनभित्रको निराशालाई सम्बोधन नगर्ने जस्ता कारणले यसको अवस्था असहज छ।

जेन्जी आन्दोलन आफैंमा राजनीतिक आन्दोलन नभए पनि यसले जनतामा राजनीतिक भ्रम सिर्जना गरेको छ। यसपटक बालेन, हर्क वा अन्य छद्म राजनीतिक गतिविधिले “जेन्जी ट्याग” प्रयोग गरी मत आकर्षित गर्ने सम्भावना उच्च छ। तर संसदीय शक्तिहरू कमजोर छन् र गैरसंसदीय आन्दोलन स्वस्फूर्तवाद र अराजकतावादमा सीमित भएको छ।

क्रान्तिकारी कम्युनिष्ट दाबी गर्ने शक्तिहरू पनि विकल्पको रूपमा देखिन नसक्ने अवस्थामा छन्। चुनावी प्रतिष्पर्धामा अब्बल देखिने तयारी वा तत्परता कतै देखिँदैन। यो उदासीनता प्राकृतिक मात्र नभई प्रतिउत्पादक हुने निश्चित छ।

माओवादी केन्द्रले भ्रम चिर्न, जनपक्षधरता प्रमाणित गर्न, संसदबाहिरका शक्तिसँग सहकार्य गर्दै सशक्त आन्दोलन उठाउन नसक्ने हो भने गम्भीर परिणाम देखिन सक्छ। यही स्थिति राजमो, मजदुर–किसान दल र अन्य साना समूहमा पनि लागू हुन्छ।

अन्ततः, अहिलेको गम्भीरतालाई नबुझ्ने हो भने विभाजित मनोविज्ञान र विश्वासको संकटले सबैलाई आत्मघाती दिशामा धकेल्नेछ। जनहितका एजेण्डामा साझा सहमति निर्माण नगरेसम्म सबै अधिमूल्यन र आत्मरति अन्ततः क्षतिको कारण मात्र बन्नेछन्।

Facebook Comments