• १० माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिक्षा, समानता र समृद्धि निर्माणमा सबैले हातेमालो गरौँ : प्याब्सन दाङ




दाङ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले शिक्षा, समानता र समृद्धि निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गरेको छ। संविधान दिवस २०८२ को अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्याब्सन दाङले यस्तो आग्रह गरेको हो।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरिएको छ।

सन्देशमा संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा चित्रण गर्दै यसले नेपालको लोकतान्त्रिक यात्रालाई संस्थागत गरेको स्मरण गरिएको छ। संयुक्त सन्देशमा भनिएको छ, “संविधानले हामी सबैलाई समान अधिकार, अवसर र सामाजिक न्यायको ग्यारेन्टी दिएको छ। अब यसको प्रभावकारी कार्यान्वयन हाम्रो साझा जिम्मेवारी हो।”

शिक्षा क्षेत्रमा अझ गुणस्तर वृद्धि गर्दै समान पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीलाई राष्ट्रिय एकता र सामाजिक सद्भावका अभियन्ता बनाउन शिक्षालयहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ। “हाम्रो मुलुकको समृद्ध भविष्य शिक्षामा निहित छ। संविधानले दिएको अधिकारलाई व्यवहारमा उतार्दै शिक्षा, शान्ति र विकासतर्फ एकजुट भई अघि बढ्नुपर्ने आवश्यकता आज अझ बढेको छ,” सन्देशमा उल्लेख छ।

संविधान दिवसलाई मुलुकका सम्पूर्ण नागरिकले राष्ट्रिय एकता, सहकार्य र सकारात्मक सोचका साथ मनाउनुपर्नेमा जोड दिइएको छ। साथै, आगामी दिनमा संविधानले मार्गदर्शन गर्ने मूल्यमान्यताहरूलाई आत्मसात् गर्दै सिङ्गो नेपाललाई शैक्षिक, सामाजिक र आर्थिक दृष्टिले समृद्ध बनाउन सबैलाई हातेमालो गर्न आह्वान गरिएको छ।

Facebook Comments