दाङ । दशै तिहार नजिकिएसँगै घोराहीमा पुस्तक प्रदर्शनी सुरु भएको छ । पठन संस्कृति निर्माणमा सक्रिय मेधावी कन्सर्नको पहलमा आयोजित पुस्तक प्रदर्शनीको वरिष्ट पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्माले विहिबार उद्घाटन गर्नभएको छ ।
मेधावी कन्सर्नको आफ्नै शो रुममा हुने उक्त प्रदर्शनीको उद्घाटन गर्दै शर्माले भन्नुभयो, ‘यसखाले प्रदर्शनीको नमुना देख्दा निकै खुसी लागेको छ । चेतनाको विकास हुँदै गइराखेको छ । यस्ता प्रदर्शनीले मानिसमा तर्कसंगत, चेतनासंगत मानव निर्माणमा भूमिका खेल्न सके निकै राम्रो हुने थियो ।’
पठन संस्कृति कमजोर भइराखेको आजको समाजमा पुस्तक प्रदर्शनीले अहम् भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मेधावी कन्सर्नका संचालक सूर्य बिसीले भन्नुभयो, ‘प्रदर्शनीले बजारमा आएका नयाँ देखि पुराना, नेपाली देखि अङ्ग्रेजी भाषाका पुस्तकहरु पाठकले छुटसहित प्राप्त गर्नेछन् । एकै थलोमा करिब एक हजार शिर्षकका पुस्तकहरु उपलब्ध गराएका छौँ ।’
असोज २ गते देखि सुरु भएको पुस्तक प्रदर्शनी असोज १० गतेसम्म संचालन हुने आयोजक बिसीले बताउनुभयो ।
उक्त उद्घाटन क्रार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, साहित्यकार धनसिंह गिरी, सुरेशकुमार पाण्डेय, विपिन आचार्य, राजेन्द्र अर्याल, एलिसा मगर लगायतको उपस्थिति थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
