दाङ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गते दाङको घोराहीस्थित बहुउद्देश्यीय सभाहलमा ठूलो क्षति भएको छ। सभाहलको संरचना, फर्निचर तथा भौतिक सामग्रीमा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
क्षति पुगेको सभाहलको सरसफाइ र पुनर्निर्माण कार्य संघकै पहलमा सुरु गरिएको छ। संघका अध्यक्ष वसन्त जोशीको नेतृत्वमा सचिव विकास वली, सह–कोषाध्यक्ष माधब खनालसहित टोलीले आज बिहानैदेखि सफाइ अभियान सञ्चालन गरेको हो।
अध्यक्ष जोशीले घटनाप्रति दुःख प्रकट गर्दै भन्नुभयो, “संघले सञ्चालन गर्दै आएको बहुउद्देश्यीय सभाहल जनताको सुविधा र व्यवसायिक गतिविधिका लागि बनेको हो। यसमा आक्रमण हुनु सम्पूर्ण व्यापारिक समुदाय र सामाजिक संरचनामाथि नै प्रहार हो। संघले आफ्नै स्रोत र स्थानीयको सहकार्यमा सभाहललाई चाँडै पुनःस्थापना गर्नेछ।”
त्यस्तै, सचिव विकास वलीले सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै भन्नुभयो, “यस्ता संरचनामा क्षति पुर्याउनु कुनै पनि हिसाबले उचित छैन। संघले क्षतिग्रस्त सभाहललाई यथाशीघ्र मर्मत गरी पुनः प्रयोगमा ल्याउनेछ। यसका लागि समुदाय, व्यवसायी र सरोकारवालाको सहकार्य अपरिहार्य छ।
सह–कोषाध्यक्ष खनालले प्रारम्भिक अनुमानअनुसार करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको बताउँदै विस्तृत विवरण संकलन भइरहेको जानकारी दिनुभयो।
संघले क्षतिग्रस्त सभाहल छिट्टै पुनर्निर्माण गरी व्यवसायिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि सर्वसाधारणको प्रयोगमा ल्याइने जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
