• २९ पुष २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जेन– जेडको विरोध संस्कृतिः विश्वदेखि नेपालसम्मको लहर





ई.किरण घिमिरे

आजको पुस्ता सन् १९९७-२०१२ बीच जन्मिएका जसलाई हामी जेन Z(Gen Z) भनेर चिन्छौं। यिनीहरु हालका प्रविधि,सामाजिक सञ्जाल र विश्वव्यापी सचेतनामा हुर्किएको पुस्ता हो।उनीहरूको दृष्टिकोण, मूल्य र सामाजिक चेतना अघिल्ला पुस्ताभन्दा फरक छ।यही कारणले उनीहरूको विरोध वा प्रोटेस्ट संस्कृतिको स्वरूप पनि विशिष्ट देखिन्छ।जेन -Z (Gen Z) को बिरोध आक्रोशको अभिव्यक्ति मात्र नभई नयाँ राजनीतिक चेतना र सामाजिक उत्तरदायित्वको संकेत समेत हो।उनीहरूको सक्रियताले परम्परागत विरोध भन्दा फरक,गतिशील र विश्वव्यापी दृष्टिकोणसंग प्रस्तुत हुने गरेको छ। नेपालमा पनि यो लहर बढ्दै गएर २०८२ भाद्र २३ गते छताछुल्ल भएको छ जसले भविष्यमा नीतिगत र सामाजिक रूपान्तरणमा ठुलो प्रभाव पार्ने सम्भावना देखाउँछ।

विश्वमा जेन-Z (Gen Z) ले गरेका बिरोधहरु(Protest)

विश्वव्यापी स्तरमा जेन-Z (Gen Z)ले धेरै बिरोधमा अग्रणी भूमिका खेलेको छ।जलवायु परिवर्तन विरुद्धको भबिष्यको लागि शुक्रबार (Fridays for Future) आन्दोलनको नेतृत्व २०१८ मा १५ वर्षे ग्रेटा थुनबर्गले स्वीडेनबाट सुरु गरिन् र यो विश्वभर फैलियो।अस्ट्रेलिया,इंग्ल्याण्ड,इटाली,जर्मनी जस्ता देशमा लाखौं विद्यार्थीले सडकमा प्रदर्शन गरे।यस आन्दोलनले तत्कालीन नीति परिवर्तन नगरे पनि जनचेतना र व्यवहार परिवर्तनमा ठूलो प्रभाव पार्‍यो। FFF आन्दोलनपछि स्विट्जरल्याण्डमा गरिएको अध्ययनले करिब ३०% नागरिकहरुले ट्रान्सपोर्ट, किनमेलको शैली र रिसाइकलिङ्ग आदिका व्यवहार परिवर्तन गरेका थिए।महिला अधिकार र लैङ्गिक समानताका लागि युवा आन्दोलन पनि विश्वव्यापी देखिएको छ।मेक्सिकोमा २०२४ को अन्तर्राष्ट्रिय नारी दिवसमा लाखौँ महिलाले हिंसा र नारि हत्या (femicide) विरुद्ध सडक ओगटेका थिए।यसलाई त्यहाको सरकारले एक दिनको ठूलो भव्य प्रदर्शनको रूपमा तुरुन्तै ध्यानाकर्षण गर्‍यो।भारतमा पनि २०२४ को अगस्तमा कोलकाताको जघन्य घटनापछि रातको पुन छानबिन (Reclaim the Night) नारा सहित जेन-Z (Gen Z) जुलुसहरु निस्केको थियो र यो विश्वभरमा रहेका GEN-Zले बिभिन्न सामाजिक संजाल प्लेटफर्म प्रयोग गरेर यसको समर्थन गरेका थिए।यसपछि त्यहाका स्वास्थ्यकर्मीहरुको हडताल-प्रदर्शन समेत गरे जसले अनुसन्धान फेरि गर्न बाध्य बनायो र सीबीआई/केन्द्रिय अन्वेषण सुरु गरिएको थियो।हङकङमा २०१९ मा सुपुर्दगी कानुन संसोधन बिधेयक (Extradition Law Amendment Bill) विरुद्ध युवा कार्यकर्ताहरूको नेतृत्वमा सुरु भएको आन्दोलनले डिजिटल प्लेटफर्ममार्फत विश्वव्यापी समर्थन जुटायो र आठ महिनापछि सरकारले विधेयक फिर्ता लिन बाध्य भयो।इरानमा जेन-Z (Gen Z) उमेर समूहकी महसा अमिनीको हिरासतमा मृत्यु पछि सुरु भएको “महिला,जीवन,स्वतन्त्रता” आन्दोलनले सामाजिक सञ्जाल प्रयोग गरी विश्वव्यापी चर्चा भयो।म्यानमारमा २०२१ को सैनिक कू पछि सुरु भएको आन्दोलनमा पनि जेन-Z (Gen Z) ले डिजिटल प्लेटफर्मको उपयोग गरी लाखौं नागरिकलाई सहभागी गराए।जेन -Z (Gen Z) को आन्दोलन विश्वभरका लोकतान्त्रिक र सामाजिक मुद्दामा निर्णायक भूमिका खेलेको कुरा माथिबाट प्रस्ट हुन्छ।

नेपालमा जेन-Z (Gen Z)को बिरोध
सरकारले २०८२ भाद्र माहिनामा फेसबुक, ट्विटर, युट्युब लगायतका २६ वटा सामाजिक संजाल मिडिया प्लेटफर्मलाई प्रतिबन्ध लगायो।यसले युवामा असन्तोषको लहर फैलायो।यसअघि नै “नेपो किड्स” को विषयमा सामाजिक मिडियामा आलोचना भइरहेको थियो।यस प्रतिबन्धले युवालाई थप उत्तेजित बनायो र आन्दोलनको रूप लियो।नेपालमा पनि जेन-Z (Gen Z) को सक्रियता स्पष्ट देखियो। २३ भाद्र २०८२ मा देशका प्रमुख शहरका साथै काठमाडौंका सडक र प्रमुख चोकहरू,नयाँ बानेश्वर,माइतिघर मण्डला र संसद भवन वरिपरि हजारौं युवा उत्रिए। उनीहरूको प्लेकार्डमा “सामाजिक सञ्जाल होइन, भ्रष्टाचार बन्द गर”(Shut down corruption, not social media),”सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाऊ“ (Unban social media) जस्ता नारा लेखिएका थिए।सरकारले सामाजिक सञ्जाल प्लेटफर्ममा लगाएको प्रतिबन्ध, भ्रष्टाचार, रोजगारीको अभाव र राजनीतिक वंशवादविरुद्धको असन्तुष्टि युवा पुस्तामा स्पष्ट रूपमा प्रकट भयो। प्रदर्शनकारीहरू अडिग रहे तर प्रहरी ले अश्रु -ग्यास, रबरको गोली र पानीको फोहरा प्रयोग गरेर नियन्त्रण गर्न खोजे। दिन नसकिँदै मृत्यु संख्या १९ पुग्यो र हाल त्यो संख्या ३० भन्दा बढी पुग्ने अनुमान गर्न सकिन्छ।सयौं घाइते भए र अस्पतालहरूमा बेडको अभाव भयो। केही क्षेत्रमा तत्कालीन रूपमा कर्फ्यु लगाइयो।

यो आन्दोलन सामाजिक सञ्जालको स्वतन्त्रता र प्रतिबन्धको विरोध मात्र थिएन।यसले देशमा व्यापक असमानता, भ्रष्टाचार र राजनीति परिवारको विशेषाधिकारप्रति युवाहरूको असहिष्णुता पनि उजागर गर्‍यो। कलाकार, लेखक र संगीतकर्मीहरूले पनि आफ्नो समर्थन जनाउँदै सामाजिक सञ्जालमार्फत आन्दोलनलाई प्रोत्साहन दिए। डिजिटल स्पेस र अन्तर्राष्ट्रिय मिडियामा पनि नेपाली युवाहरूको विद्रोह फैलियो। सरकारले आन्दोलन नियन्त्रण गर्न खोजे पनि विश्व समुदाय र मानवअधिकार संगठनहरूको दबाब बढ्यो। एमनेस्टी इन्टरनेशनाल लगायतका संस्थाले हिंसात्मक दमनको छानबिन र जवाफदेहीताका लागि तत्काल कदम चाल्न सरकारलाई आह्वान गरे।दबाबका कारण सरकारले सामाजिक मिडिया प्लेटफर्ममाथिको प्रतिबन्ध फिर्ता गर्ने संकेत दियो तर युवाहरू अझै दीर्घकालीन नीति सुधार, पारदर्शिता, समान अवसर र भ्रष्टाचारविरुद्ध ठोस कदमको अपेक्षामा छन्।

यो आन्दोलनले नेपालका युवाहरू केवल आफ्नो व्यक्तिगत जीवनमा मात्र नभई राजनीतिक निर्णय, नीति र सरकारी जवाबदेहीमा चासो राख्ने संकेत दिएको छ। तर आन्दोलन सहज थिएन; हिंसा र मृत्युदरले सरकारमाथि अन्तर्राष्ट्रिय ध्यान आकृष्ट गरायो। केही मन्त्रीले राजिनामा दिए भने प्रधानमन्त्री पनि राजिनामा दिन बाध्य भए। तर युवा पुस्ता केवल तत्कालीन परिवर्तनमा सन्तुष्ट छैन, दीर्घकालीन नीति सुधार र संस्थागत परिवर्तनको माग अझै जारी छ।

नेपालमा जेन-Z (Gen Z) को आन्दोलनबाट स्पष्ट हुन्छ कि युवा शक्ति अब सडकमा मात्र छैनन् ।उनीहरूको आवाज डिजिटल संसारमा पनि फैलिएको छ।उनीहरूले लोकतन्त्र,समानता र पारदर्शिताका लागि आफ्नो उपस्थिती र सक्रियता सुनिश्चित गरिरहेका छन्।जेन-Z (Gen Z) को सक्रियता विरोधको लागी मात्र होइन। यो लोकतन्त्र, समानता र पारदर्शिताको नयाँ युगको सुरुवात पनी हो।उनीहरूको आवाजले नेपालको सामाजिक,राजनीतिक र सांस्कृतिक परिदृश्यमा दीर्घकालीन परिवर्तन ल्याउने संभावना रहन्छ।अब युवा पुस्ताले आफ्नो अधिकार, स्वतन्त्रता र भविष्य सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्नु पर्ने हुन्छ ।

Facebook Comments