• १० माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जेनजी विद्रोहको स्पष्ट सन्देशः नेतृत्वमा नयाँ पुस्ता, अवसरमा नो नेपोटिज्म




सम्पादकीय
नेपाल अहिले राजनीतिक रूपान्तरणको संवेदनशील मोडमा छ। दशकौँदेखि नेतृत्वमा रहेकाहरूको निरन्तरता र उनीहरूकै शैलीले देशलाई स्थायित्व दिन सकिरहेको छैन। यस्तो अवस्थामा अकल्पनीय रूपमा उदाएको जेन–जेड विद्रोहले मुलुकभरि नयाँ चेतना र बहसको वातावरण सिर्जना गरिदिएको छ।

यो विद्रोह आकस्मिक थिएन, बरु लामो समयदेखि जम्मा हुँदै आएको असन्तुष्टि र निराशाको विस्फोट थियो। युवाहरूले सडकमा देखाएको उर्जा, साहस र बलिदानले पुराना राजनीतिक दलहरूलाई गहिरो सन्देश दिएको छ—अब नेतृत्व नयाँ पुस्तालाई दिनैपर्छ र अवसरमा भाइ–भतिजावाद (Nepotism) को अन्त्य गर्नैपर्छ।

नेपालमा भ्रष्टाचार र नेपोटिज्म दैनिकी झैँ भइसकेको छ। दलभित्र उम्मेदवारी वितरण, सरकारले गर्ने नियुक्ति, विश्वविद्यालयमा पदोन्नति, शिक्षा र स्वास्थ्य क्षेत्रका सेवा–सुविधा—सबैमा आफन्तलाई प्राथमिकता दिने प्रवृत्ति हावी छ। यसले योग्य र सक्षम व्यक्तिलाई अवसरबाट वञ्चित बनाएको छ, समाजमा असमानता गहिरो बनाएको छ र युवाको भविष्य कुण्ठित बनाएको छ।

जेन–जेड विद्रोहले यही असमानतालाई निशाना बनायो। ठूला–ठूला नेतादेखि व्यापारी र भ्रष्ट पदाधिकारीसम्मको घर तोडफोड हुनु केवल आक्रोशको विस्फोट मात्र होइन, दशकौँदेखि सहनु परेको निराशाको परिणाम पनि थियो। जनताको आँखा अगाडि देखिएको भाई–भतिजावादविरुद्धको यो विद्रोहलाई सामान्य विरोधको रूपमा बुझ्न सकिँदैन।

पुराना नेताहरूले लोकतन्त्र ल्याउने, गणतन्त्र स्थापनासम्मको योगदान दिएका छन्। तर नेतृत्व हस्तान्तरणमा भने उनीहरू चुकिरहेका छन्। दशकौँदेखि एउटै अनुहार नेतृत्वमा घुमिरहँदा दलभित्र जीवन्तता हराएको छ, जनतामा उत्साह घटेको छ र युवामा वैकल्पिक आन्दोलन गर्ने सोच बलियो भएको छ।

नयाँ पुस्ता प्रविधि–मैत्री छ, विश्वको अनुभवबाट सिकेको छ र भ्रष्टाचारविरुद्ध कठोर धारणा राख्छ। उनीहरूको ऊर्जा र सोचलाई दलभित्रै अवसर दिन सकियो भने देशको शासन प्रणालीलाई नयाँ दिशा दिन सकिन्छ। तर, यदि दलहरूले नेतृत्व हस्तान्तरण नगरे भने, जेन–जेड विद्रोहजस्तै अर्को आन्दोलन अपरिहार्य बन्छ।

जेन–जेड विद्रोहको अर्को महत्वपूर्ण सन्देश अवसरमा पारदर्शिता र समान प्रतिस्पर्धा हो। जागिर, छात्रवृत्ति, पदोन्नति वा कुनै पनि सुविधा आफन्त वा पहुँचका आधारमा होइन, क्षमता र योग्यता आधारमा वितरण हुनुपर्छ।

यदि दलहरूले आफ्ना निर्णय प्रक्रियामा पारदर्शिता ल्याउन सकेनन् भने नागरिकको विश्वास झन् घट्नेछ। नो नेपोटिज्म भन्ने नारा केवल भाषणमा होइन, व्यवहारमै लागू गर्नुपर्छ। त्यसका लागि आन्तरिक लोकतन्त्र सबल पार्नुपर्छ, उम्मेदवार छनोटमा खुला प्रक्रिया अपनाउनुपर्छ र सेवा–सुविधा वितरणमा कडाइका साथ नियम लागू गर्नुपर्छ।

जेन–जेड विद्रोह क्षणिक घटना मात्रै होइन, यो भविष्यको चेतावनी हो। यसले पुराना दलहरूलाई संकेत दिएको छ—यदि सुधार भएन भने युवाले आफ्नै वैकल्पिक शक्ति निर्माण गर्छन्। यो केवल आन्दोलनको उर्जा होइन, प्रणालीगत सुधारको माग पनि हो।

तर यसैमा अवसर पनि छ। दलहरूले युवालाई नेतृत्वमा अघि सारेर, अवसरमा पारदर्शिता सुनिश्चित गरेर र नेपोटिज्म अन्त्य गरेर जनताको भरोसा फिर्ता ल्याउन सक्छन्। पुराना नेताले आफैलाई मार्गदर्शक भूमिकामा सीमित गर्दै नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गरे भने यो मुलुकको लोकतान्त्रिक यात्रा थप सबल हुन्छ।

नेपालको लोकतन्त्रलाई दीर्घकालीन स्थायित्व दिन ‘नेतृत्व नयाँ पुस्तामा’ र ‘अवसरमा नो नेपोटिज्म’ अब अपरिहार्य नारा बनेको छ। जेन–जेड विद्रोहले यो सन्देश जनताको मनमा मात्र होइन, दलहरूको कानमा पनि पुर्याएको छ। अबको प्रश्न के हो भने—दलहरूले यस सन्देशलाई स्वीकार्छन् वा फेरि अर्को आन्दोलनको निम्तो गर्छन्?

Facebook Comments