• २९ पुष २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जेन–जेड क्रान्ति





नवल जीएम
हामीले वरिपरि हेर्दा गरिबी छ, शिक्षा र स्वास्थ्यमा असमानता छ, अन्याय–अत्याचार छ, भाई–भतिजावाद, घुसखोरी र भ्रष्टाचार छ। यी कुरा सत्य पनि हुन् र क्रान्तिको प्रेरक तत्त्व पनि यही हुन्। यस्तै कुराले गर्दा क्रान्ति वा विद्रोहको सुरुवात हुन्छ।

म आफैलाई सम्झन्छु—पञ्चायत व्यवस्थाविरुद्ध ०४६ सालको आन्दोलनमा सहभागी भएँ, मदन भण्डारीको मृत्यु प्रकरणपछि ठूलो आन्दोलनमा सहभागी भएँ, ०६२/६३ को आन्दोलनमा उत्साहपूर्वक जुटेँ। केही परिवर्तन भए पनि धेरै विषय उस्तै रहे। संविधानिक संरचनामा केही परिवर्तन भए पनि गरिबी, शिक्षामा असमानता, स्वास्थ्य उपचारको अभाव, भ्रष्टाचार, भाई–भतिजावाद (Nepotism) उस्तै देखिन्छ। त्यसैले होला, Alphonse Karr ले भनेका छन्—“The more things change, the more they remain the same।” अर्थात्, जतिधेरै क्रान्ति भए पनि विषयवस्तुहरू प्रायः उस्तै रहन्छन्। नेपालमा मात्र होइन, विश्वका धेरै क्रान्तिपछि पनि धेरै कुरा उस्तै देखिन्छ।

युवामा शक्ति धेरै हुन्छ। उनीहरू क्रान्तिमा होमिन्छन्, अगुवाइ गर्छन्, बलिदान दिन्छन्। तर क्रान्ति भइसकेपछि सन्तुष्टि पाइँदैन। दिल, दिमाग र बलिदान दिएर गरिएका आन्दोलन प्रायः असफलजस्तो किन लाग्छ?

जेन–जेड आन्दोलन अत्यन्त तीव्र गतिमा भयो। धेरै भाइ–बहिनीले बलिदान दिए। तर, यो पूर्ण सफल होला भन्ने मलाई लाग्दैन। यसले कम्तीमा केही भ्रष्टाचार घटाओस्, भाई–भतिजावाद कम गराओस्, त्यही नै यसको सफलता मान्नुपर्छ।

जेन–जेड आन्दोलनमा ठूला–ठूला नेता, व्यापारी, भ्रष्टाचारीका घर तोडफोड गरियो, त्यो जायज लाग्छ। तर, दिल, दिमाग र तातो रगत लिएर आन्दोलनमा होमिएका केहीले गलत आचरण देखाएको—रक्सी बोकेको, महँगा लेडिब्याग चोरी गरेको, खानेपिने वस्तु उठाएर घर लगेका दृश्यले मन खिन्न हुन्छ।

एउटै मान्छेले आज सामाजिक सञ्जालमा जेन–जेडको समर्थनमा स्टाटस लेख्छ, भोलिपल्ट फेरि माहोल हेरेर विरोध गर्छ। आन्दोलनपछि ग्याङबीचको लडाइँ, उपलब्धि लिने दौडबाजी देख्दा मान्छेको दोहोरो चरित्र र स्वार्थीपन प्रस्ट हुन्छ। समय र परिस्थितिले आफ्ना बोली, विचार र कार्य फरक–फरक बनाउँछन्। आन्दोलनमा सबै साथी एउटैजस्तो लागे पनि वास्तवमा फरक–फरक रहन्छन्। सायद यो प्रकृतिको विविधताको नियमकै कारण हो। यसैले आन्दोलन वा क्रान्तिपछि निराशा बढ्छ र फेरि नयाँ क्रान्तिको माग हुन्छ।

जेन–जेडका धेरै मुद्दा होलान्। तर मेरो विशेष चासो विश्वविद्यालय शिक्षामा छ। हाम्रो देशमा गरिबी छ, रोजगारीको अभाव छ, धेरै युवा विदेश जान बाध्य छन्। करिब २८ प्रतिशत GDP रेमिट्यान्सले धानेको छ। यसको एक प्रमुख कारण विश्वविद्यालय प्रणाली पनि हो।

नेपालका विश्वविद्यालय सैद्धान्तिक ज्ञान मात्र दिने तर सीपमूलक तथा अनुसन्धानमूलक शिक्षा नदिने भएकाले पढेपछि पनि श्रमिक भएर विदेश जानुपर्ने बाध्यता छ। विश्वविद्यालय पढे पनि उद्यम गर्न नसक्ने हुँदा रोजगारी सिर्जना हुँदैन। यसले गर्दा पढेलेखेकाहरू पनि बेरोजगार हुन्छन्।

यति मात्र होइन, विश्वविद्यालयमा बजेट परिचालनदेखि परीक्षा, शिक्षक नियुक्ति र पदोन्नतिसम्ममा भ्रष्टाचार छ। नियुक्ति–पदोन्नतिमा भाई–भतिजावाद (Nepotism) मौलाएको छ। यसकै कारण सैद्धान्तिक ज्ञानको स्तरसमेत खस्किँदै गएको छ। अझ अनुसन्धान र आविष्कारको केन्द्र बन्नुपर्ने विश्वविद्यालय राजनीतिक हस्तक्षेप र विद्यार्थी राजनीतिमा सीमित बनेको छ। भी.सी., डिनदेखि प्राध्यापकसम्मका पदमा भागबण्डा हुन्छन्, जसले शिक्षा प्रणालीको गुणस्तर निकै खस्काएको छ।

के जेन–जेडले विश्वविद्यालयमा पाठ्यक्रम सुधार, भ्रष्टाचारको अन्त्य, भाई–भतिजावादको अन्त्य तथा राजनीतिक हस्तक्षेप बन्द गरेर गुणस्तरीय, सीपयुक्त, अनुसन्धान र आविष्कारमा दक्ष जनशक्ति उत्पादन गर्न सक्ला? यदि यसो भयो भने, युवा पुस्ताले हामीले गरेका क्रान्तिपछि गर्न नसकेको महान् काम गरेको हुनेछ। त्यस अवस्थामा बधाई दिनै पर्छ।

यस्तै होस् भन्ने अग्रिम शुभकामना!

सेप्टेम्बर १३, २०२५

Facebook Comments