जेनजी आन्दोलनका अगुवाहरुले आफूहरुले संविधान नभई संसद विघठन गर्न चाहेको बताएका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो धारणा सार्वजनिक गरेका हुन् । अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षमा सुशीला कार्कीलाई अघि सारेको जेनजी अगुवाहरुको मूल समूहले यस्तो धारणा सार्वजनिक गरेको हो । आन्दोलनका अगुवा सुदन गुरुङ, जेनजी काठमाडौंका संयोजक पुरुषोत्तम यादव सहित झण्डै एक दर्जन अगुवाहरुले पत्रकार सम्मेलनमा धारणा राखेका हुन् ।
उनीहरुले स्पष्ट भनेका छन्– हामीले संसद विघठन गर्न चाहेका छौं, संविधानको खारेजी होइन । त्यसैले हामी अहिले संवैधानिक रिक्ततामा छैनौं । हामीले गणतान्त्रिक संविधानको समर्र्थन गरिसकेका छौं । हामी संविधान संशोधन गर्न चाहन्छौं तर खारेज होइन । त्यसैले सम्पूर्ण युवाहरुलाई आफ्नो राजनीतिक लाइनमा स्पष्ट हुन आह्वान गर्दछौं ।
अहिले देशमा राष्ट्रपति अभिभावकको रुपमा रहेकाले राष्ट्रपतिकै निर्देशन र अगुवाईमा आगामी सरकारले संविधान संशोधन गर्दै अघि बढ्ने पनि उनीहरुले स्पष्ट गरेका छन् । जेनजी पुस्ताको चासो सरकार नभएर सुधार भएकाले आफूहरु यसैमा अगाडि बढ्ने पनि उनीहरुले स्पष्ट गरेका छन् ।
अहिलेका लागि अन्तरिक सरकारको नेतृत्व सुशीला कार्कीले गर्नु उपयुक्त हुने उल्लेख गर्दै जेनजी नेताहरुले आफूहरुले एउटा टीम बनाएर सरकारलाई सहयोग गर्ने तर सरकारमा भने नजाने बताए ।
सरकार विघठन भइसकेकाले अब नयाँ सरकार बनाउनु प्राथमिक दायित्व भएको स्पष्ट गर्दै उनीहरुले वर्तमान संसदबाट पनि आफूहरुले निकास नदेखेकाले यसलाई विघठन गर्ने धारणा अघि सारेको बताए । देशमा सहनै नसक्ने अवस्था आएकाले आफूहरु विद्रोहमा ओलिएको उल्लेख गर्दै उनीहरुले अब नयाँ बन्ने सरकारमा पुराना दलका कुनै पनि प्रतिनिधिहरु नरहने स्पष्ट गरे ।
आफूहरुले आजको अवस्था आउला भनेर आन्दोलन गर्दा नसोचेको उल्लेख गर्दै उनीहरुले यो पनि भनेका छन् कि सुरुमा भ्रष्टाचार र नेपोडिज्मका विरुद्ध थालेको आन्दोलनमा सरकारले सयौंको छातिमा गोली हानेकाले नै यो अवस्था आएको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

