• ३ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जेजनी आन्दोलनको सफलतालाई आत्मसात गर्न ढिला नगरौंः शर्मा




दाङ। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले जेन-जी आन्दोलनले स्थापित गरेको एजेण्डा र प्राप्त सफलतालाई आत्मसात गर्न ढिला गर्न नहुने बताएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै सरकारले गरेको दमनलाई नरसंहारको संज्ञा दिँदै त्यसको कडा शब्दमा भर्त्सना गरेका छन्।

शर्माले आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले नरसंहारको छानबिन गरी दोषीलाई कारबाही गर्न स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्नुपर्ने माग गरेका छन्।

उनले मुलुक अहिले सरकारविहीन अवस्थामा रहेको र मुलुकभर भय र त्रासको वातावरण सिर्जना भएको दाबी गर्दै सर्वप्रथम जनताको सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन्। त्यसपछि मुलुकलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिँदै उनले समाधानका लागि तत्काल लिनुपर्ने कदमहरूमध्ये भ्रष्टाचार अन्त्यका लागि स्वतन्त्र छानबिन आयोग गठन, दुई-तिहाइको सरकारले गरेका गल्तीका कारण उत्पन्न संकटप्रति जवाफदेही बनाउने, जेन-जी आन्दोलनका पवित्र उद्देश्यलाई मान्यता दिने र अन्तरिम सरकार गठन गर्ने विषय उठाएका छन्।

शर्माले राजनीतिक दलहरू अहिले नेतृत्वविहीन जस्ता बनेको र शीर्ष नेताहरूले नैतिक आधार गुमाएको बताएका छन्। यस्तो अवस्थामा संविधानको आधारमा मात्र समाधान सम्भव हुने उल्लेख गर्दै उनले संविधानबाहिर गएर सरकार गठन गर्न खोजिए थप अराजकता उत्पन्न हुने चेतावनी दिएका छन्।

विज्ञप्तिमा उनले राष्ट्रको संकट सम्पूर्ण नागरिकको सरोकार र जिम्मेवारीसँग जोडिएको भन्दै आन्दोलनले स्थापित नारा र एजेण्डालाई सफल पार्न वैधानिकतामा टेकेर अघि बढ्न सबैमा आह्वान गरेका छन्।

विज्ञप्तिको पूर्ण पाठः
जेनजी पुस्ताले उठाएको भ्रष्टाचार र राजनीतिक स्थायित्वसँग सम्बद्ध माग तथा जनताको जीवनचर्यामा प्रत्यक्ष प्रभाव पार्ने सामाजिक सञ्जाल बन्दजस्तो लोकतन्त्रको आत्मा मार्ने कार्यविरुद्ध भएको आन्दोलनमाथि सरकारले गरेको दमन र नरसंहारको म कडा शब्दमा भर्त्सना गर्दछु।

राजनीतिक सुधारका लागि भएको आन्दोलनमा सहादत प्राप्त गर्नु भएका सम्पूर्ण योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो संवेदना प्रकट गर्दछु। सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। साथै नरसंहारको छानबिन गरी दोषीलाई कठघरामा ल्याउन स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्नुपर्छ।

यतिवेला मुलुक सरकारविहीन अवस्थामा पुगेको छ। मुलुकभर भय र त्रासको वातावरण छाएको छ। आम जनता असुरक्षित र सशंकित देखिन्छन्। त्यसैले सर्वप्रथम जनताको सुरक्षा सुनिश्चित गर्नुपर्छ र त्यसपछि मुलुकलाई राजनीतिक निकास दिन आवश्यक छ।

यसै सन्दर्भमा समस्याको समाधानका लागि देहायबमोजिमका कदमहरू तत्काल चाल्न म सबै सम्बद्ध पक्षसँग आग्रह गर्दछु–

भ्रष्टाचारको जालो अन्त्य गर्न स्वतन्त्र र शक्तिशाली छानबिन आयोग गठन गरी कडा कारबाहीको दायरामा ल्याउन आवश्यक छ।

राष्ट्रमा उत्पन्न असामान्य परिस्थिति र संकटको मूल जिम्मेवार सत्तारूढ राजनीतिक दलका शीर्ष नेताहरू हुन्। विशेषगरी दुई-तिहाइको सरकार सुधार र सेवाभन्दा भ्रष्टाचारको वृद्धिमा र अहंकारी प्रवृत्तिमा केन्द्रित रहँदै जनताको आवाज कुल्चिनेतर्फ लागेकाले उनीहरू मुख्य जिम्मेवार छन्।

आजको अराजक परिस्थिति परिवारवाद र कुर्सी मोहले जन्माएको भ्रष्टाचारकै परिणाम हो।

जेनजीहरूले पवित्र उद्देश्यसहित उठाएका मुद्दामाथि गरिएको दमनका कारण उत्पन्न आक्रोशकै बीच गलत मनसायले गरिएको घुसपैठबाट मानवीय, भौतिक मात्र नभई मुलुक संचालनको केन्द्रविन्दुमा रहेको तथ्याङ्क श्रेस्ता र सम्पूर्ण अभिलेख नष्ट गरिँदा राष्ट्रलाई गम्भीर र अपूरणीय क्षति पुगेको छ।

राजनीतिक दलहरू अहिले नेतृत्वविहीन जस्ता भएका छन्। त्यसैले वर्तमान संकटको समाधान गर्न पहल गर्ने सामर्थ्य र नैतिक आधार शीर्ष नेताहरूले गुमाएका छन्।

यस्तो विषम परिस्थितिमा सरकार गठन गर्ने प्रयास भइरहँदा जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुने गरी अन्तरिम सरकार गठन गर्नु अपरिहार्य छ। परिस्थिति अनुसार सरकार गठन गर्दा सामान्य अवस्थामा जस्तो संविधानका सबै धाराको अक्षरशः पालना नहुन सक्छ, तर सबैलाई स्वीकार्य हुने सरकार गठन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेकेर गर्नु आवश्यक छ।

संवैधानिक बलविहीन सरकार बनाएमा संविधानका पक्षधरहरूबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यान दिनुपर्छ। संविधान बाहिर सरकार गठन भए राज्यका सबै निकायहरूको वैधानिकता प्रश्नमा पर्नेछ, जसले अकल्पनीय अवस्था सिर्जना गर्न सक्ने खतरा रहन्छ।

संविधानको रक्षा हुन नसके सबै वैधानिकताको अन्त्य भई थप अराजकता पैदा हुने र राष्ट्र तथा राष्ट्रियता झन् संकटमा पर्ने भएकाले वैधानिक बाटोमार्फत समाधान निकाल्न सबै लागिपर्नुपर्छ।

राष्ट्रको संकट सम्पूर्ण नागरिकको सरोकार र जिम्मेवारीसँग जोडिएको छ। तसर्थ आन्दोलनले स्थापित गरेका नारा र एजेन्डालाई सफल पार्न वैधानिकतालाई आत्मसात गर्न सबैमा हार्दिक अपिल गर्दछु।

जनार्दन शर्मा

Facebook Comments