• २९ पुष २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रिय जेनजीलाई वाई पुस्ताको पत्र





विश्वराज आचार्य

प्रिय जेनेजी, उच्च सम्मानका साथ अभिवादन।

भ्रष्टाचार, कुशासन, स्वेच्छाचारी नेता र तिनका नाकामिले पुरै राज्य भ्रष्ट भएको अवस्थामा तपाईंहरूको आन्दोलन आवश्यक थियो। ऐतिहासिक रूपमा देशमै मात्र होइन, विश्वलाई नै नयाँ सन्देश दिँदै सफल पनि भयो। अब अगाडि बढ्नुपर्ने हो। तपाईंहरूले नै अगाडि बढाउने साहस गर्नुपर्छ। अगाडि बढ्नका लागि आवश्यक सुझाव ठानेर मैले केही कुरा लेखेको छु, कृपया पूरा पढेर राम्रो प्रतिक्रिया दिनु होला।

सबैभन्दा पहिले यो क्रान्तिमा सहादत प्राप्त सबै शहीदहरूलाई उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

तपाईंहरूको आफ्नै चाहना होइन, तपाईंहरू पनि अत्यन्तै दुखी हुनुहुन्छ। के भयो, किन भयो भन्ने विषयमा म प्रारम्भिक चर्चा तल गर्नेछु। भौतिक संरचना जसरी ध्वस्त पारियो त्यसप्रति खेद प्रकट गर्दै तपाईंहरूको पवित्र देश निर्माणको आन्दोलनमा यसरी घुसपैठ गरेर गरिएको विध्वंसप्रति दुख व्यक्त गर्दै, संलग्न अपराधीलाई कडा भन्दा कडा कारबाही गर्ने संकल्प गर्दछु।

तपाईंहरू नयाँ पुस्ताका, सबै शिक्षित हुनुहुन्छ। मैले यहाँ अहिले हामीले बुझ्नै पर्ने केही महत्वपूर्ण विषयमा केही प्रश्नहरू उठाउन खोजेको छु, जसले तपाईंहरूको आगामी दिनमा देशको योगदानमा हुने महत्वपूर्ण काममा सहयोग गर्नेछ।

तपाईंहरूले भ्रष्टाचार नियन्त्रण, नेता र तिनका सन्तानको जीवनस्तरमा सुधारको लागि धेरै पहिले देखि नै सामाजिक सञ्जालमा बहस गर्दै आउनुभएको थियो। मैले पनि तपाईंहरूको उमेरमा नै यही कुरा उठाएर लडिरहेको छु। जब सामाजिक सञ्जाल बन्द गरियो, त्यो बहसलाई तपाईंहरूले सडकमा पुर्‍याउने निर्णय गर्नुभयो। म लगायत लाखौँ नेपाली जनताले तपाईंहरूको यो कार्यलाई समर्थन गर्‍यौँ। तपाईंहरूले भ्रष्ट नेता कर्मचारीहरूलाई मुटुमै किला ठोके झैँ बिझ्ने गरी आन्दोलनलाई सडकसम्म पुर्‍याउनुभयो। पूरा देश उत्साहित भयो। हामी बच्चैदेखि आफ्नो व्यक्तिगत करियर छोडेर देशमा लोकतन्त्र स्थापना गर्न लडेका योद्धाहरू झन् कति आशावादी भयौँ कि तपाईं हरेक युवामा आफूलाई देख्न थाल्यौँ।

२३ गते सडकमा तपाईंहरूको उद्देश्य नेपालमा कसरी भ्रष्टाचार भइरहेको छ, राज्यसत्तामा सहभागीहरूले कसरी नेपाललाई लुटेका छन् भन्ने कुरा सारा नेपाललाई बुझाउने थियो। त्यसलाई सरकारले खिसिट्यौरी गर्‍यो, जसले युवालाई आक्रोशित गर्‍यो। माइतीघरबाट सुरु भएको आन्दोलन बढ्दै जाँदा प्रहरीको सामान्य अवरोध तोड्दै बानेश्वरसम्म पुग्यो, जसले युवामा विजयभाव पैदा गर्‍यो। युवा संसद भवन भित्र प्रवेश गरे, प्रखाल गेट तोडफोड गरे, जुन सामान्य नै थियो। तर केपी सरकारले, विशेषतः केपीले खाने Tacrolimus (ट्याक्रोलिमस) औषधिले उस्को मानसिकतामा पारेको असर (जसलाई हामीले राज्यप्रमुख नै बनाउन नहुने थियो) ले असन्तुलित मानसिकताबाट प्रहरीलाई दिएको कडा निर्देशनले नरसंहार मचायो।

२४ गते हत्यामा संलग्न केपीसहित सबैलाई कारबाही गर्ने थप माग लिएर तपाईंहरूसहित काठमाडौंका मानिसहरू घरमा तालाचाबी लगाएरै सडकमा निस्किनुभयो। कसैको अवरोध नभएको अवस्थामा आक्रोशित युवाहरूको चाहना भनेको भ्रष्ट नेता र भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने र हत्यामा संलग्नलाई भेटे भौतिक कारबाही गर्ने मात्र थियो।

देशका सबै मुख्यालयहरूमा आगलगी भयो, जुन तपाईंहरूको चाहना थिएन। यस घटनाले तपाईंहरूलाई नै दुखी बनाएको छ। यसको वास्तविकता पत्ता लगाउने, संलग्न अपराधीलाई कारबाही गर्ने, यसमा अन्तरनिहित राजनीतिक स्वार्थ बुझ्ने कुरालाई ठिक ठाँउमा केन्द्रित गर्न सके मात्र आगामी दिनमा चालिने कदम राष्ट्रहितमा हुनेछन्।

अघिल्लो दिन युवा संसद भवनमा विजयभावले प्रवेश गर्दा मात्र गोली चलाउने सुरक्षा निकायले भोलिपल्ट के भूमिका खेल्यो? बिहानैदेखि भएको जनप्रदर्शनलाई नियोजित रूपमा कसरी कहाँ पुर्‍याइयो? अबका दिनमा देशलाई कस्तो बनाउने चाहनाबाट को कसरी लागिरहेको छ? यी कुरा बुझेर मात्र तपाईंहरूले राजनीतिक कदम चाल्नुपर्छ।

व्यवस्था सुधारको तपाईंहरूको आन्दोलनलाई व्यवस्था उल्ट्याउने षड्यन्त्रकारीले दुरुपयोग गर्दैछन्। तपाईंहरू सचेतपूर्वक आफ्ना कदम चाल्नु होला।

देशका मुख्यालय सुरक्षामा खटिएको सेनाले नै सबै संरचना जलाउँदा सामान्य अवरोधसम्म किन गरेन? आफ्नै प्रधानाधिपतिको निवासमा आगजनीकर्तालाई गेट खोलेर स्वागत गरिएको भिडियो सामाजिक सञ्जालमा छ। तपाईंहरूबाट असुरक्षा छ भनेर देखाएर राष्ट्रपति लगायत सबै नेतालाई सैनिक ब्यारेकमा राखिएको छ। तपाईंहरूलाई सेनासँग वार्ता गराइँदै छ। यो व्यवस्था माथिको प्रहार हो।

केपी ओलीलगायत हत्याकाण्डमा संलग्नलाई न्यायिक हिरासतमा राख्ने र राष्ट्रपति द्वारा गठित वार्ता समितिसँग वार्ता गर्ने, नेपालको संविधान २०७२ लाई थप आवश्यक बिषयमा संशोधन गर्ने सहमति गरेर संविधानभित्रैबाट वर्तमान असहजताको निकास खोज्नुपर्छ।

मैले देखेको खतरा, अहिलेको आवश्यकता भनेकै नयाँ जनादेश, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हो। तपाईंहरूले यो सहमति सेनासँग गर्दा, सेनाले राष्ट्रपतिलाई संसद विघटन गर्न बाध्य बनाउनेछ। अनि त्यही राष्ट्रपतिलाई चुनावबाट मात्र प्रमुख बनाइने भएकाले तपाईंहरूलाई कामचलाउ राष्ट्रपतिको हैसियतमा बस्न दबाब दिइनेछ।

अर्कोतर्फ तपाईंहरू संलग्न सहमतिको विपक्षमा अन्य जिन्जी समूहलाई नियोजित रूपमा उचालिनेछ। अहिले पनि आलंकारिक राजा वा संवैधानिक राजा माग गर्ने समूह देखिन थालेका छन्। तपाईंहरूको जेनेजी पुस्तामा फूट ल्याउने र फेरि अर्को समूहलाई तपाईंहरूले गरेको सहमतिको विपक्षमा सडकमा ल्याइनेछ। त्यसपछि परिस्थिति असहज भएको भन्दै प्रत्यक्ष सैनिक शासन लागू गरिने खतरा छ।

यो खतरा टार्न तपाईं जेनेजीहरूको सचेत पहलबाट मात्र सम्भव छ।

देशमा भ्रष्टाचारसँग लड्ने सरकार पनि थियो, लडेका नेता पनि छन्। तपाईंहरूलाई यस विकृति विरुद्ध लड्न बारम्बार आह्वान गर्ने नेतापनि छन्। तर सबैलाई तपाईंहरुकै डर देखाएर नजरबन्दमा राख्ने, तपाईंहरूको व्यवस्था सुदृढ गर्ने पवित्र मनसायको आन्दोलनलाई व्यवस्थामाथि प्रहार गरेर टुङ्याउने षड्यन्त्र भइरहेको छ। त्यसप्रति सजग रहनु होला।

यदि त्यसो भयो भने हामीले भोगेको व्यवस्था तपाईंहरूले पनि केही समय सहनुपर्ने हुन्छ। अनि तपाईंहरूको पुस्ताले हाम्रो पुस्तासँग मिलेर फेरि अर्को क्रान्ति गर्नुपर्ने हुन्छ। राजनीतिलाई देश लुट्ने बनाएका नेतालाई परास्त गर्नुपर्छ, देशलाई सुदृढ व्यवस्थासहित अगाडि लैजानुपर्छ। त्यसैले राष्ट्रपतिलाई राष्ट्रको नाममा सम्बोधन गरेर वार्ता टोली घोषणा गर्न लगाउने, त्यसै समितिसँग बार्ता गरेर समस्या समाधान गर्ने कुरामा नै तपाईंहरू लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु।

तपाईंहरूले उठाएका विषयहरूलाई सार्थक बनाउँदै देशलाई समृद्धिको बाटोमा लैजान अब अझ धेरै मेहनत र संघर्ष आवश्यक छ।

Facebook Comments