
नारायणकाजी श्रेष्ठ
प्रिय जेनजी (Gen Z) साथीहरू,
तपाईंहरूले नेपाल मात्र होइन, विश्वकै इतिहासमा अविस्मरणीय रुपमा अंकित हुने गरी संघर्षको आव्हान गर्नुभयो र त्यसमा एक हदसम्म सफलता पनि प्राप्त गर्नुभयो। मैले “एक हदसम्म” भनेको कारण, अब हुने वार्ता, त्यसको सफलता र आगामी समग्र घटनाक्रमले मात्र वास्तविक सफलताको उद्घोष गर्नेछ। तपाईंहरूको साहसिक पहल र अहिलेसम्म हाँसिल गर्नुभएको सकारात्मक उपलब्धिका लागि हार्दिक बधाई प्रकट गर्दछु।
मैले प्रारम्भदेखि नै तपाईंहरूले उठाउँदै आउनुभएको प्रमुख मुद्दाहरूलाई सार्वजनिक रुपमा समर्थन गरेको थिएँ। किनभने राष्ट्रिय सार्वभौमिकताको रक्षा, सहभागितामूलक लोकतन्त्रको सुनिश्चितता, विधिको शासन, आर्थिक भ्रष्टाचार र अनियमितताको अन्त्य, नातावाद–कृपावादविरुद्ध सुशासन, राजनीतिक स्वच्छता तथा सामाजिक न्यायसहितको समृद्धिको पक्षमा निरन्तर आवाज उठाउँदै आएको छु। तपाईंहरूले पनि यही मुद्दालाई मुख्य एजेन्डा बनाएर आन्दोलन गर्नुभएको हुँदा त्यसलाई स्वागत–समर्थन गर्नु मेरो लागि स्वाभाविक थियो।
तर, जेन जेड साथीहरू, तपाईंहरूको संघर्षलाई समर्थन गर्दा नै मैले आन्दोलनमा अवाञ्छित तत्वहरूको घुसपैठ र गलत मोड दिने प्रयासबाट सचेत रहन अनुरोध गरेको थिएँ। अन्ततः त्यही भयो। प्रधानमन्त्रीको राजीनामापछि राज्यका प्रमुख अंगहरूलाई प्रतिनिधित्व गर्ने सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, संसद लगायत सार्वजनिक सम्पत्ति, निजी घर तथा व्यवसायिक स्थान जलाउने, तोडफोड गर्ने, राष्ट्र बैंकमा आक्रमण र लुटपाट गर्ने जस्ता विध्वंसकारी गतिविधि हुनु अत्यन्त दुःखद मात्र होइन, देशलाई दीर्घकालीन क्षति पुर्याउने घटनाक्रम भयो। यसमा राज्यको भूमिका पनि प्रभावकारी देखिएन, र तपाईंहरूको आन्दोलनको नियन्त्रण पनि कायम रहन सकेन।
शक्तिशाली आन्दोलनमा नसोचिएका घटनाहरू हुनु स्वाभाविक हुन्छ। राज्यको बर्बर दमनका कारण दुई दर्जन निहत्था युवाको ज्यान गएको घटनाले थप आक्रोश सिर्जना गरेको पनि हो। तर त्यसपछि भएको विनाशकारी कार्यलाई कुनै हालतमा आन्दोलनकै हिस्सा भन्न सकिँदैन। एकातिर, त्यो आन्दोलनको नेतृत्व र नियन्त्रणमा थिएन भन्ने तपाईंहरूले आफैं स्वीकार गर्नुभएको छ। अर्कोतिर, त्यो घटनामा अराजक तत्व मात्र नभई विभिन्न शक्तिहरूको योजनाबद्ध स्वार्थपूर्ण भूमिका देखिन्छ। यस्ता शक्तिहरूले भविष्यमा पनि आन्दोलनलाई गलत दिशातर्फ धकेल्ने प्रयास गर्नेछन्। त्यसबाट सचेत रहन जरुरी छ।
यस पृष्ठभूमिमा, वर्तमान आन्दोलनको नेतृत्व र वार्तामा संलग्न जेन जेड साथीहरूलाई निम्न बुँदामा स्पष्ट भई अघि बढ्न हार्दिक अपील गर्दछु :
१. हाम्रो पुर्खाले विदेशी साम्राज्यवाद र उपनिवेशवादको कालखण्डमा पनि नेपाललाई कहिल्यै उपनिवेश हुन दिएनन्। राजनीतिक अस्थिरता र अराजकताले विदेशी हस्तक्षेप बढाउने खतरा हुन्छ। त्यसैले राष्ट्रिय सार्वभौमिकता र हितमा आँच आउन नदिई सकारात्मक परिवर्तनको बाटो अघि बढाऔं।
२. नेपाली जनताले बलिदानी संघर्षबाट प्राप्त गरेको लोकतन्त्रलाई अझ परिमार्जन र उन्नत गर्दै अघि बढ्नुपर्छ। तर जनसत्ता र लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन।
३. राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक छ। मन्त्रिपरिषद् संसदबाहिरका विज्ञ व्यक्तिहरूबाट गठन गरिनुपर्छ, र निर्वाचन समानुपातिक प्रणालीअनुरूप हुनुपर्छ। संविधान संशोधनसहित राज्यका अन्य अंगहरूको पुनःसंरचना अपरिहार्य छ।
४. सुशासन लोकतन्त्रको अनिवार्य पक्ष हो। भ्रष्टाचार, भागबन्डा, नातावाद र कृपावाद अन्त्य गर्दै विधिको शासनको प्रत्याभूति गर्नुपर्छ। यो जेन जेड आन्दोलनको केन्द्रीय मुद्दा हो।
५. सामाजिक न्यायसहितको समृद्धि आजको प्रमुख राष्ट्रिय कार्यभार हो। नेपालमै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता हुने गरी विकासको मौलिक मोडल निर्माण गर्नुपर्छ।
प्रिय साथीहरू, तपाईंहरूले सुशासन र राजनीतिक स्थिरतालाई मुख्य बनाउँदै समृद्धिको बाटो रोज्नुभएको छ, जुन प्रशंसनीय छ। तर राष्ट्रिय सार्वभौमिकता र लोकतन्त्रको रक्षा पनि समान महत्त्वका कार्यसूची हुन्। यी सबैलाई समग्रतामा अघि बढाउन सकियो भने जेन जेड आन्दोलन इतिहासमा अग्रगामी फड्कोका रूपमा सुनौलो अक्षरले अंकित हुनेछ।
अबको यात्रा अन्तरिम सरकार गठनबाट सुरु हुने भएकाले त्यो तपाईंहरूको प्रस्ताव र सहमतिमा बन्न सकोस् भन्ने शुभेच्छासहित समग्र सफलताको हार्दिक शुभकामना।
(लेखक नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ)

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
