राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि डाक्टर लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीले कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आवेदन दिएका ९ जना मध्येबाट प्राइमेरी इलेक्सनमार्फत थापालाई उम्मेदवार चयन गरेको कुरा आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
डा. थापा यसअघि नागरिक उन्मुक्ति पार्टीका सदस्य थिए। उनी वैशाखको अन्तिम साता नाउपाको समानुपातिक बन्दसूचीका उम्मेदवार थिए। २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ समानुपातिक सूचीमा परेको उनको नाम आयोगको प्राथमिकता क्रम अनुसार पाँचौं नम्बरमा रहेको थियो। रुपन्देही–३ मा उपचुनाव घोषणा भएपछि उनले नागरिक उन्मुक्तिबाट राजीनामा दिएर रास्वपातिर लागेका थिए।
रास्वपाका लुम्बिनी प्रदेशका नेताहरूका अनुसार डा. थापाले वैशाख दोस्रो साता राजीनामा दिएका थिए र अध्यक्ष रञ्जिता श्रेष्ठको स्वीकृतिपछि निर्वाचन आयोगले साउन २१ गते उनको नाम बन्द सूचीबाट हटाएको थियो।

उम्मेदवार डा. थापा एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्यूरोलोजीमा डिएम गरेका वरिष्ठ न्युरोलोजिस्ट हुन्। उनी काठमाडौंको महाराजगंजस्थित नेसनल न्युरो सेन्टरमा कार्यरत चिकित्सक हुन्।
सिद्धार्थनगर नगरपालिका–१० भैरहवाका सामान्य परिवारका डा. थापाका आमा गृहिणी र पिता कानुनका साक्षर व्यक्ति हुन्। ४८ वर्षीय उनले भैरहवाको लुम्बिनी शिशु सदन स्कुलबाट प्राथमिक शिक्षा पूरा गरेका थिए। एसएलसीमा प्रथम श्रेणी प्राप्त गरेपछि नेपाल साइन्स क्याम्पसबाट आईएस्सी र पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस पूरा गरेका हुन्।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी गरेपछि न्युरोलोजीमा डिएम अध्ययन पूरा गरेका उनी सन् २०१३ मा नेपालमै न्युरोलोजीमा डिएम पूरा गरेका थिए। त्यसपछि अमेरिकाको हावार्ड विश्वविद्यालयबाट ‘सेफ्टी क्वालिटी लिडरसीप एन्ड इर्न्फमेटिभ’ विषयमा सन् २०२४ मा ग्राजुएट भएका थिए।
डा. थापाले सन् २०१४ मा भैरहवामा न्युरो एलाइड मेडिकल सेन्टर स्थापना गरेका थिए र हाल पनि हरेक हप्ता क्लिनिकमै बिरामीहरूको उपचार गर्दै आएका छन्। उनका क्लिनिकमा सुदूरपश्चिमदेखि भारतको पटनासम्मका बिरामी आउने गर्छन्। सामाजिक अभियन्ता र चिकित्सक दुवैको भूमिकामा सक्रिय रहँदै उनी राजनीतिक क्षेत्रमा रास्वपाको उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
