• २९ पुष २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीलाई वातावरणमैत्री नगर घोषणाको तयारीमा छौंः प्रमुख चौधरी




घोराही । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उपमहानगरपालिकालाई वातावरणमैत्री नगर घोषणा गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

दाङ सोसाइटीले घोराहीमा आयोजना गरेको ‘दिगो सहरी पारिस्थितिकी विकासमा स्थानीय जनप्रतिनिधिहरुको भूमिका’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो ।

प्रमुख चौधरीले वातावरणमैत्री नगर घोषणाका लागि सूचक निर्धारण गरी सोहीअनुसार काम भइरहेको पनि बताउनुभयो । उहाँले घोराहीले प्राकृतिक र कृत्रिम तालमार्फत पानी संरक्षणलाई जोड दिएको उल्लेख गर्दै, पानीलाई मानिसको जीवनसँग जोड्ने प्रयास भइरहेको बताउनुभयो । उपमहानगरले वातावरणमैत्री विकासमा ध्यान दिएको बताउँदै उहाँले जनताको सुविधाका लागि बनाइएका भौतिक संरचनाले जनतालाई सास्ती दिन नहुने धारणा राख्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले वातावरणमैत्री दिगो विकासका लागि आफ्नो उपमहानगरपालिकाले जोड दिइरहेको बताउनुभयो । उहाँले यसका लागि सबैसँग समन्वय गरेर काम भइरहेको बताउनुभयो । नगर प्रमुख खड्काले आधारभूत विकासका संरचना निर्माण गर्दा सबै सरोकारवालाबीच समन्वय र सहकार्य उत्तिकै आवश्यक रहेको उल्लेख गर्नुभयो ।

गोष्ठीमा आधारपत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र विभागका प्राध्यापक डा. दयाराम भुसालले प्रकृतिविना हुने विकास अस्थायी हुने बताउनुभयो । उहाँले जैविक विविधता सहरी दिगोपनको आधार भएको उल्लेख गर्दै नीति निर्माणको सुरुवातमै जैविक विविधतालाई समेट्नुपर्ने धारणा राख्नुभयो । उहाँले तोरी खेतीले मौरीलाई जीवन दिने र मौरीको परागसेचनले अन्य खाद्य बाली उत्पादन बढाउने उल्लेख गर्दै, एउटा मात्र क्षेत्र कमजोर हुँदा पनि दिगो विकासको पारिस्थितिकीय प्रणाली कमजोर हुने बताउनुभयो । अब सडक वा पार्क निर्माण गर्दा मौरी, भमरा जस्ता किराको जीवनचक्रलाई समेत ध्यान दिनुपर्ने सुझाव उहाँले दिनुभयो ।

दाङ सोसाइटीका अध्यक्ष अधिवक्ता निकेशकुमार लम्सालले आधारभूत वातावरणीय कानुन र स्थानीय जनप्रतिनिधिको भूमिकाबारे विभिन्न कानुन, फैसला र अभ्यासबारे जानकारी दिनुभयो ।

लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख तिलक न्यौपानेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा घोराही र तुलसीपुरका अधिकांश वडा अध्यक्षहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण दाङ सोसाइटीका सचिव जनार्दन आचार्यले गर्नुभएको थियो ।

Facebook Comments