घोराही। अपांगता भएका आदिवासी जनजाति समुदायलाई कानुनले समेत नचिनेको भन्दै सरोकारवालाले आफ्ना समस्या सम्बोधनका प्रयास नभएको गुनासो गरेका छन्।
नेपाल आदिवासी जनजाति अपांग संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबार घोराहीमा भएको प्रदेशस्तरीय आदिवासी जनजाति अपांगता भएका व्यक्तिहरूका स्व–सहायता समूहका लागि वकालतसम्बन्धी तालिमको उद्घाटन सत्रमा बोल्दै सरोकारवालाले अपांगता भएका आदिवासी जनजाति समुदायका समस्या सम्बोधन गर्न कुनै नीति वा कार्यक्रम नबनेकोमा चिन्ता व्यक्त गरेका हुन्।

कार्यक्रममा आदिवासी जनजाति अपांगतासम्बन्धी श्वेतपत्रबारे जानकारी दिँदै नेपाल आदिवासी जनजाति अपांग संघका केन्द्रीय अध्यक्ष खड्ग सारु मगरले अधिकारका लागि बनेका संस्थागत संरचनाले समेत अपांगता भएका आदिवासी जनजातिलाई नचिनेको बताए। उनले भने,
“अपांग महासंघभित्र आदिवासी जनजातिको पहिचान छैन, यता नेपाल आदिवासी जनजाति महासंघभित्र अपांगताको पहिचान छैन। अपांगता र आदिवासी जनजातिको पहिचान नै नभएपछि न नीति बन्छ, न कार्यक्रम। नीति, कार्यक्रम नै नभएपछि हाम्रा समस्या कसरी सम्बोधन हुन्छ ?”
सो अवसरमा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले अपांगता भएका आदिवासी जनजातिका समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर रहेको भन्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन्।
नेपाल आदिवासी जनजाति अपांग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शान्तकुमार थारुको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष जे.एन. सागर, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरी, नेपाल मगर संघ दाङका अध्यक्ष मुक्त बुढालगायतले शुभकामना व्यक्त गरेका थिए।
प्रदेश सदस्य यमकुमारी चौधरीको स्वागत मन्तव्यपछि सुरु भएको कार्यक्रमको सहजीकरण शिव घर्तीले गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
