
सर्जन गौतम
पुँजीवाद अनुसार उद्योगधन्दा खोलिनु, जिडिपी बढ्नु र मुख्यत: दलाल पुँजीवादका वस्तु तथा सेवा बेच्नका लागि बनाइएका सडकसहितका पूर्वाधारलाई नै विकास भनिन्छ।
विकाससम्बन्धी पुँजीवादी दृष्टिकोण र मार्क्सवादी दृष्टिकोणबीच यहीँ अन्तर छ। हामीले विकासको वर्गीय सारतत्त्व हेर्छौँ। के त्यो विकासले देशका पिछडिएका, उत्पीडित, सीमान्तकृत वा सर्वहारा वर्गलाई फाइदा पुर्याएको छ? यदि छैन भने त्यो विकास जनपक्षीय नभई जनविरोधी हो भन्ने प्रष्ट हुन्छ।
त्यसैले विकास कुनै निरपेक्ष कुरा होइन, सापेक्ष कुरा हो। उदाहरणका लागि दाङमा विकास भएका सिमेन्ट उद्योगलाई हेरौँ। सिमेन्ट उद्योगले यहाँको कच्चा पदार्थको उपयोग गरेको छ र वातावरणीय प्रदूषण गरेको छ। बंगलाचुलीका पहाडहरूको अत्यधिक दोहन भएको छ, केही वर्षमा बंगलाचुली मानव बस्तीका लागि अयोग्य बन्ने खतरा उत्पन्न भएको छ।
उद्योगहरू मानव बस्तीको बीचमा रहेका कारण मानिसहरू फोक्सो लगायत विभिन्न दीर्घ रोगको जोखिममा छन्। तीन पार्टीका नेता र उपभोक्ता अधिकार संरक्षणकर्मीहरू उद्योगको प्रभावमा रहेकाले प्रदूषण नियन्त्रणका मापदण्ड पालना गराउन सकिँदैन। सडकहरू उद्योगका विभिन्न भारी गाडीहरूले भत्काएका छन् र दुर्घटनाको जोखिम बढेको छ।
त्यहाँ रोजगारी पाउने स्थानीयको संख्या नगण्य छ। उद्योगले विद्युत शुल्क तिर्दैन, राजस्व छल्छ र प्याकिङ सिमेन्टभन्दा क्लिन्कर बढी सप्लाइ गर्छ। स्थानीयलाई रेडिमेड सिमेन्टमा कुनै सहुलियत छैन। कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत योगदान पनि नगण्य छ।
यस्तो विकास मार्क्सवादी दृष्टिकोणले हेर्दा विकास होइन, बरु स्थानीय स्रोत साधनको दोहन मात्र हो। यसको वातावरणीय, सामाजिक र आर्थिक मूल्य समाजले ठूलो मूल्य चुकाइरहेको छ। दाङको सन्दर्भमा सिमेन्ट उद्योग एउटा उदाहरण मात्र हो। नेपालमा हाल सञ्चालन भइरहेका धेरैजसो विकास आयोजनाहरूको अवस्था पनि यस्तै छ। त्यसैले विकासलाई हेर्ने सही दृष्टिकोण आवश्यक हुन्छ।
पञ्चायतकालको “विकासको मूल फुटाउने” नारादेखि हालका राजनीतिक पार्टीहरूले विकासको नाममा बनाएका भ्युटावर, ठूला सरकारी भवनजस्ता अनुत्पादक काम वा निजी क्षेत्रमा भएको विकास, राष्ट्रिय पुँजीवाद होइन, दलाल पुँजीवादको विकास हो। यस्तो विकास दीर्घकालीन रूपमा हानिकारक ठहरिन सक्छ।
त्यसैले मार्क्सवादीहरूले विकासलाई हेर्ने फरक दृष्टिकोण अपनाउनु पर्छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
