
शिव थापा
भदौको महिना होस् बर्खे झरी वा सुक्खा खडेरी, बाह्र भदौ आउँदा हाम्रो गाउँमा एक विशेष पर्वजस्तै रमाइलो हुन्थ्यो। त्यो दिन डाँडाका झाक्री दाइ बलसिं कामीको ढ्यांग्रो बज्यो भने हामीलाई पुग्थ्यो।
हेमन्तपुर मात्र होइन, हाडिमे, दोघरे, डाँडागाउँ, धनखन्ने, मनिकापुर, मैरवा, बिजौरी र सक्राम अक्कासीसम्मका गाउँले झाक्री दाइको घरमा मेलाजस्तै भेला हुन्थे। हिलोले लथालिङ्ग आँगन, झुप्रेको घर, बीचमा ढ्यांग्रो बजाउँदै जोस्सी–जोस्सी गर्ने झाक्री दाइ। त्यो दृश्य हाम्रो बाल्यकालकै रमाइलो दृश्य थियो।
झाक्री दाइ बलसिं कामी हेमन्तपुरका ‘एक्ला डाक्टर’ पनि थिए। खद्दरको नयाँ सुरुवाल–कमिज, टाउकोमा गिद्ध–मजुर–भुत्लाको श्रीपेच, शरीरमा बाँधेका घुँघ्राहरु, मुखभरि पोतेको रङ। हिजोअस्ति घरैमा देखिने साधारण बलसिं दाइ त्यो दिन चिन्नै नसकिने झाक्री बन्थे।
उनका शब्दहरू धेरैलाई बुझिँदैनथे – “नौ बैनी गुनामेनी, हेर पर्मेसोरी, लागू भागु भस्म” जस्ता रहस्यमय वाक्यहरू मात्रै। आफ्ना कर्म सकिएपछि गाउँलेको पालो आउँथ्यो। गाउँ–गाउँबाट ल्याएको चामल, सिदा भेटी राखिन्थ्यो। खासगरी दीर्घ रोगी वा जीवनमा काम फत्ते नहुने मान्छे, विशेषगरी महिला, ‘मयल’ हेराउन आउँथे।

झाक्री दाइले सामान्य जोखना हेरेपछि प्रायः एकै किसिमको डाइग्नोसिस निकाल्थे – “फलानो दिशा, फलानो रुपरङ, बोक्सीले बिगारेको।” कहिलेकाहीं “मसान भूतले सताएको” वा “देउता रिसाएको” पनि हुन्थ्यो। तर बोक्सी मुख्य दोषी ठहरिन्थ्यो। प्रायः घरकै नजिक बस्ने विधवा, कान्छी ल्याएपछि परित्यक्त, गरिब, सासू–बुहारी, जेठानी–देउरानी, नन्द वा आमाजुहरू नै बोक्सीको रूपमा चिनिन्थे।
डाइग्नोसिससँगै उपचार पनि हुन्थ्यो। साधारण झारफुक त्यही बेला। तर कहिलेकाहीं बलि दिनुपर्ने हुन्थ्यो – भाले, हाँस, परेवा, बोका वा कन्या बाख्रासम्म। यसरी उपचार गरेपछि बिरामी निको भएको अनुभूति हुन्थ्यो।
बाह्र भदौमा कहिलेकाहीं उनका गुरु वा चेला पनि आइपुग्थे। झाक्रीको संसारमा बलसिं दाइभन्दा ‘बगालेको झाक्री’ अझै नामी मानिन्थ्यो। बलसिं दाइको उपचारले काम नगरेपछि बगालेको झाक्री बोलाइन्थ्यो, त्यसले पनि काम नगरे अन्ततः ‘काल कुरेर बसिन्थ्यो’।
हाम्रो लागि बाह्र भदौ पर्व थियो। घरमा मीठा–चोखा परिकार बनाइन्थे। युवाहरू सल्यान–रोल्पा सिमानाको चबिघाटको मेलातिर जान्थे। ससाना पसल, मादल–नाचगान, छोट्टी बस्ने दोहोरीले त्यो मेला झनै रमाइलो बनाउँथ्यो।
आज त्यो दिन सम्झँदा अनौठो लाग्छ। आँखा वरिपरि झाक्री दाइ बलसिं कामीको अनुहार नाच्छ। मेरो बाल्यकालका सम्झनाहरू जीवन्त हुन्छन्।
झाक्री दाइलाई श्रद्धाञ्जली। सबैमा बाह्र भदौको शुभकामना।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
