• २४ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कर्णालीको बैठकलाई प्रचण्डको सम्बोधन: माओवादीप्रति जनलहर बढिरहेको छ




काठमाडौं, भदौं ११। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनविश्वास बढ्दो क्रममा रहेको बताउनुभएको छ।

कर्णाली प्रदेशको पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्ला निर्वाचनहरूमा कांग्रेस–एमाले मिल्दा पनि माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयले जनविश्वास बढिरहेको स्पष्ट भएको उल्लेख गर्नुभयो।

उहाँले स्थानीय तह, स्ववियु, पत्रकार महासंघ तथा हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकका रूपमा व्याख्या गर्दै भन्नुभयो, “हाम्रो पार्टी र संगठनप्रति जनताको आशा र भरोसा बढ्दो छ। कांग्रेस–एमाले एकातिर भए पनि धेरै ठाउँमा हामी विजयी भएका छौँ।”

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रतिको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको दाबी गर्नुभयो। उहाँले पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने प्रयास भइरहेको जनाउँदै गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गरी पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन स्थायी समितिले स्पष्ट संकल्प गरिसकेको जानकारी दिनुभयो।

शिक्षा विधेयकलगायत राष्ट्रिय मुद्दामा लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विशेषगरी शिक्षक समुदायमा माओवादी केन्द्रप्रति समर्थन बढेको बताउनुभयो। “कांग्रेस र एमालेको गलत सोचको विरोधमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्,” उहाँले भन्नुभयो।

उहाँले वाईसीएल, विद्यार्थी संगठनलगायत जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्ने प्रयास सफल हुँदै गएको दाबी गर्दै संगठन विस्तारलाई अझ तीव्र बनाउनु पर्नेमा जोड दिनुभयो। “अब घर–घरमा पुग्ने, टोल–टोलमा संगठन निर्माण गर्ने कार्यलाई गति दिनुपर्छ,” उहाँले निर्देशन दिनुभयो।

अन्त्यमा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई पार्टी एकता र संगठन विस्तारमा अग्रसर भई राष्ट्रिय राजनीति परिवर्तनमा भूमिका खेल्न आग्रह गर्दै बैठकको सफलताको शुभकामना दिनुभयो।

Facebook Comments