सल्यान — वर्षापछि आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका-३ स्थित चोरखोला नजिकै पहिरो गएपछि राजमार्गमा आवतजावत ठप्प भएको हो।
राजमार्ग अवरुद्ध हुँदा १ घन्टा बढी समयदेखि सवारी साधन र यात्रु सडकमै अलपत्र परेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बिहीबार बेलुकी करिब छ बजे परेको पानीले चोरखोला नजिकै पहिरो गएपछि राप्ती राजमार्ग अवरुद्ध भएको हो। उनले बताएअनुसार, पहिरो हटाउन सम्बन्धित निकायसँग डोजर माग गरिएको छ।
प्रहरी निरीक्षक बस्नेतले वर्षाका कारण वैकल्पिक मार्गबाट गाडी आवतजावतमा समस्या भएपछि यात्रुहरू प्रभावित भएको जानकारी दिए। उनका अनुसार पहिरो ठूलो नभए पनि ढुंगा खसिरहेकोले उच्च सतर्कता अपनाउन सवारी चालक र यात्रुहरूलाई आग्रह गरिएको छ। वर्षा हुनेबित्तिकै चोरखोलामा जाने पहिरोले यात्रुहरूलाई सास्ती दिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
