• ४ आश्विन २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
फेलको संख्या लुकाउने लमहीका विद्यालयको शैक्षिक ‘मैजिक शो’




देउखुरी। लमही स्थित केही संस्थागत विद्यालयहरुले कक्षा १२ को नतिजामा आफ्नो प्रतिष्ठा जोगाउन र आम अभिभावकको नजरमा उत्कृष्ट देखिन अनुत्तिर्ण विद्यार्थीको संख्या लुकाएर गलत तथ्यांक दिएको आरोप लागेको छ।

राष्ट्रिय परीक्षा बोर्डले गत साउन १९ गते कक्षा १२ को नतिजा प्रकाशन गरेसँगै लमही नगरपालिका शिक्षा शाखाले पनि पालिका अन्तरगतका विद्यालयहरुको नतिजा सार्वजनिक गर्यो। त्यही नतिजालाई आधिकारिक मान्दै विद्यालयहरू प्रचार-प्रसारमा जुटे। शिक्षा शाखाले पुन: दोस्रो नतिजा सार्वजनिक गरेपछि विद्यालयहरुको कर्तुत उदंगिएको छ। शाखाले दुई-दुई पटक नतिजा प्रकाशन गर्नुमा पहिलो नतिजा गलत भएको ठहर गरेको हो ।

शिक्षा शाखाले साउन २० गते पालिका अन्तरगत विद्यालयहरुको विश्लेषण नतिजा सार्वजानिक गरेको थियो। उक्त नतिजा गलत ठहर भएसँगै शिक्षा शाखाले पुन: साउन २६ गते दोस्रो नतिजा सार्वजनिक गर्यो। दुबै नतिजा तुलना गर्दा विद्यालयहरुले आफुलाई उत्कृष्ट देखाउन गलत तथ्याङ्क टिपाएको खुलासा भएको हो। बोर्डले नतिजा प्रकाशन गरेसँगै लमही नगर शिक्षा शाखाले समग्र बिद्यालयको नतिजाका लागि तथ्याङ्क संकलनमा जुट्यो । विद्यालयका प्रिन्सिपलहरुले जानकारी दिए अनुसार साउन २० गते शाखाले नतिजा सार्वजनीक गरेको थियो।

उक्त नतिजा अनुरुप लमही नगरमा ज्योतिष्मती विद्यापीठ पहिलो स्थानमा छ। ३४ जना विद्यार्थी मध्य ३२ जना उत्तीर्ण हुँदै ९४.१२ प्रतिशत सहित पहिलो स्थानमा रहेको नतिजामा उल्लेख छ। तर २६ गते सार्वजनीक दोस्रो नतिजा अनुसार ज्योतिष्मती विद्यापीठ ७६.४७ प्रतिशतमा झरेको छ। ३४ जना विद्यार्थी मध्ये २६ जना मात्र उत्तीर्ण भएको दोस्रो नतिजामा उल्लेख छ। ज्योतिष्मतीले ६ जना अनुत्तिर्ण विद्यार्थीलाई पनि उत्तीर्ण सहित गलत तथ्याङ्क टिपाएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख भवानी गिरीले बताईन।

ज्योतिष्मती मात्र नभएर रोजी बड्स बालबाटिकाले पनि गलत तथ्याङ्क टिपाएको खुलेको छ । शिक्षा शाखाले सार्बजनिक गरेको पहिलो रिजल्टमा २५८ विद्यार्थी मध्य १७८ (६८.९९%) उत्तीर्ण भएसँगै रोजि पालिका अन्तरगत तेस्रो स्थानमा थियो । तर वास्तविक रिजल्ट अनुसार रोजी बड्सको ११३ जना उत्तीर्ण हुँदै ४३.८ प्रतिशतमा खस्किएको छ । रोजी बड्सले ६५ जना अनुत्तिर्ण विद्यार्थीहरुलाई पास भएको गलत तथ्याङ्क दिएको शाखा प्रमुख गिरीले बताईन। गोरखा माविको रिजल्टमा पनि केही त्रुटि भेटिएको छ। पहिलो रिजल्ट अनुसार गोरखा माविको ३ सय ११ विद्यार्थी मध्य २ सय ४५ जना पास हुँदै ७८.७८ प्रतिशत सहित पालिकामा दोस्रो स्थानमा थियो। तर वास्तविक रिजल्ट अनुसार गोरखाको ३ सय १४ विद्यार्थी मध्य २ सय ४४ विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजा अनुसार गोरखा मावि लमही ७७.७१ प्रतिशत सहित पालिकामा पहिलो स्थानमा छ। विद्यालयहरुले वास्तविक नतिजामा उल्लेखित फेल विद्यार्थीको संख्या हटाएर वा न्यून देखाएर पास प्रतिशत कृत्रिम रूपमा बढाएको तथ्य उजागर भएको हो । लमही नगर अन्तरगतका सामुदायिक तथा संस्थागत गरी १२ वटा विद्यालय कक्षा १२ को परिक्षामा समावेश भएका थिए। यद्यपि यी ३ विद्यालय बाहेकका अन्य विद्यालयहरुको नतिजामा त्रुटि नभेटिएको शिक्षा शाखा प्रमुख गिरीले बताईन। नगरपालिकाले पहिलो नतिजा सार्वजनिक गरेसँगै विद्यालयहरुले आफ्ना नतिजा सामाजिक सञ्जाल, विद्यालयको सूचना पाटी र प्रचार सामाग्रीमार्फत अभिभावक तथा सर्वसाधारणमा सार्वजनिक गरेका थिए। शिक्षा क्षेत्रमा पारदर्शिता र उत्तरदायित्वको सवालमा गम्भीर प्रश्न उठाउने यो घटना सार्वजनिक भएपछि केही संस्थागत विद्यालयहरुको कर्तुत उदाङ्गिएको छ। अभिभावकहरूले विद्यालयको यस्तो प्रवृत्ति नतिजा सुधार भन्दा पनि झुटको संस्कार बढाउने खालको भएको टिप्पणी गरेका छन्। अहिले विद्यालयहरुलाई विद्यालयकै इज्जत जोगाउन हम्मे हम्मे परेको छ।

यता, लमही नगरपालिका शिक्षा शाखा प्रमुख भवानी गिरीले गलत तथ्याङ्क टिपाएका कारण पहिलो रिजल्ट गलत साबित भएको स्वीकारिन् । पहिलो रिजल्ट सार्बजनिक गर्दा प्रिन्सिपल हरुले बताए अनुसार मौखिकका आधारमा तथ्याङ्क चढाएर रिजल्ट सार्बजनिक गर्दा गलत हुनगएको स्विकार गरिन। उनले, प्रिन्सिपलहरुले भने बमोजिम विश्वासका आधारमा नतिजा सार्बजनिक गरेको बताउँदै पछि शंका उत्पन्न भएपछि लेजर पठाउन अनुरोध गर्दापनि लेजर पठाउन विद्यालयले अटेर गरेको बताईन । शाखा प्रमुख गिरीले विद्यालयले लेजर उपलब्ध नगराएपछि शिक्षा बिकाश तथा समन्वय इकाई दाङबाट तथ्याङ्क लिई पुन: दोस्रो रिजल्ट सार्बजनिक गरेको बताईन।ज्योतिष्मती र रोजी बड्सले पहिले गलत नतिजा दिएका कारण दोस्रोपटक लेजर पठाउन आनकानी गरेको खुलेको छ। यी दुबै विद्यालयले लेजर नपठाएपछि शिक्षा विकास तथा समन्वय इकाई, दाङबाट तथ्याङ्क माग गरिएको शिक्षा शाखा प्रमुख गिरीले जानकारी दिईन। एद्यपी लमही नगरपालिका शिक्षा शाखा सहि तथ्याङ्क सहित रिजल्ट प्रकाशनमा भने चुकेकै हो। पहिलो रिजल्टमा शाखा प्रमुख गिरीको हस्ताक्षरित सर्वाजनिक नतिजाले जिम्बेवार बिहिन साबित गरेको छ।

यता, ज्योतिष्मती विद्यापीठका प्रिन्सिपल नारायण भुषालले शिक्षा शाखाले सार्वजनिक गरेको पहिलो रिजल्टमा पुरक विद्यार्थी सहितको तथ्याङ्क भएको बताए। तर सार्बजनिक दुबै नतिजामा विद्यार्थी सँख्या ३४-३४ नै उल्लेख छ। प्रिन्सिपल भुषालले शिक्षा शाखाबाट गलत भएको बताउँदै पहिलेका दिनहरुमा पनि यस्ता समस्या बिद्यालयले भोग्नुपरेको आरोप लगाए। तिनै भुषाल संस्थागत विद्यालयहरुको नेतृत्व तहमा छन्। उनी प्याब्सन लमही नगरका अध्यक्ष समेत हुन्।

Facebook Comments