दाङ: घोराहीमा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
गुरुकुल एकेडेमी घोराहीको आयोजनामा सोमबार सुरु भएको अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले खेलकुद केवल जित–हारको प्रतिस्पर्धा नभई, अनुशासन, स्वास्थ्य र एकताको उत्कृष्ट माध्यम भएको बताउनुभयो।

उहाँले खेलकुदले विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्तीका साथै आपसी सद्भाव र टोली भावना विकास गर्ने उल्लेख गर्दै विद्यालयस्तरमै यस्ता प्रतियोगिताको आयोजना हुनु सकारात्मक पहल भएको जानकारी दिनुभयो। “आजका विद्यार्थीहरू भोलिका राष्ट्रका मेरुदण्ड हुन्। खेलले उनीहरूलाई नेतृत्व क्षमता, समय व्यवस्थापन र सहिष्णुताको पाठ सिकाउँछ,” मेयर चौधरीले भन्नुभयो।
उद्घाटन कार्यक्रममा गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षतामा शान्तिसुधा बोर्डिङ स्कुलका प्रधानाध्यापक विनयकुमार मिश्र, पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत र बास्केटबल संघ दाङका अध्यक्ष बिपिन केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रमको स्वागत मन्तव्य गुरुकुल एकेडेमी घोराहीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलले दिनुभएको थियो भने सहजीकरण शिक्षक विवेक देवकोटाले गर्नुभयो।

प्रतियोगिताको पहिलो दिनका खेलहरूमा गोरखा ‘बी’ समूहले गुरुकुल ‘बी’ समूहलाई ५८–२५ अंकले, गोरखा ‘ए’ समूहले जनज्योति ‘सी’ समूहलाई ८८–१८ अंकले पराजित गरेको छ। त्यस्तै, गुरुकुल ‘ए’ समूहले शान्तिसुधालाई ८१–१२ अंकले, शान्तिसुधाले पद्यमोदयलाई २०–१७ अंकले, र गुरुकुल ‘बी’ समूहले दिपशिखालाई ३०–१९ अंकले पराजित गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
