२२ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ ।
बर्दिया घर ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेका हुन् ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको हो ।
जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जनाएका हुन् । ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले भारतीय पक्षसँग खोज तथा उद्दारबारे समन्वय भइरहेको बताएका छन् ।
बुधबार दिउँसो आएको बाढीमा परेर एक सय बढी बेपत्ता छन्, ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ । यो चारधाम यात्रा मार्ग पनि हो । यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ । त्यसक्षेत्रमा सुदूपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् ।
उद्धार अझै जारी
बाढी प्रभावित स्थानमा अझै उद्दार कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट करिब १९० जनालाई उद्धार गरिएको छ।
राज्यका अधिकारीहरूले यो एकै स्थानमा अत्यधिक वर्षा हुँदा क्लाउडबर्स्ट भएर बाढी आएको बताएका छन् । लेदो माटो र पानीसहित बाढी आउँदा धेरै क्षति भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
मुख्यमन्त्री धामीले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेर केही पीडित परिवारसँग भेट गरेका थिए ।
पश्चिमी हिमालय क्षेत्रमा रहेको उत्तराखण्ड आकस्मिक बाढी र पहिरोको दृष्टिले अति संवेदनशील मानिने बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
