• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भारत–अमेरिका सम्बन्धमा यस्तो छ– चिनियाँ सञ्चारमाध्यमको टिप्पणी




भारत र अमेरिकाबीच पछिल्ला दिनमा बढ्दो व्यापारिक तथा कूटनीतिक तनावले अन्तर्राष्ट्रिय जगतमा ठूलो चासोको विषय बनेको छ। यस विषयमा चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले प्रकाशित गरेको विस्तृत टिप्पणीमा अमेरिका–भारत सम्बन्ध चिसिएको र भारतले अब अमेरिकाको एकपक्षीय हेगेमोनिक (आधिपत्यवादी) रवैया महसुस गर्न थालेको उल्लेख गरिएको छ।

ग्लोबल टाइम्सको प्रारम्भिक टिप्पणी यसप्रकार छ:
“एक समय तातो र फस्टाउँदै गरेको अमेरिका–भारत सम्बन्ध अहिले तीव्र गतिमा ओरालो लाग्दैछ। सोमबार, रूसी तेल खरिदका विषयमा अनेकौं चेतावनीहरूपछि वासिङ्टनले पुनः भारतमाथि भन्सार शुल्क बढाउने घोषणा गर्‍यो। त्यसकै प्रतिकारमा भारतले स्पष्ट भन्यो—‘भारतलाई लक्षित गर्नु अन्यायपूर्ण र असंगत हो,’ र ‘राष्ट्रिय हित तथा आर्थिक सुरक्षाका लागि आवश्यक सबै उपायहरू अवलम्बन गरिनेछ।’”

अमेरिकाको दबाब, भारतको प्रतिरोध
ग्लोबल टाइम्स लेख्छ—भारत र अमेरिका बीचको यो चिसोपन केवल व्यापारिक विवाद होइन, यो घटनाले एकपक्षीय आधिपत्यको दम्भ र रणनीतिक स्वतन्त्रता खोज्ने राष्ट्रबीचको सीधा टकराव देखाएको छ।

फेब्रुअरीमा मात्र प्रधानमन्त्री मोदी अमेरिकामा ‘महान मित्र’ को रूपमा स्वागत पाइरहेका थिए। केही महिनामै त्यो सम्बन्धमा चिसोपन देखिनु अमेरिकाको स्वार्थकेन्द्रित कूटनीतिका कारण भएको ग्लोबल टाइम्सको ठहर छ।

जुलाईको अन्त्यसम्म अमेरिकाले भारतका सामानमा २५ प्रतिशत भन्सार कर लगायो, र रूसी तेल खरिदको निहुँमा थप आयात कर घोषणा गर्‍यो। अगस्ट ३ मा ह्वाइट हाउसका एक वरिष्ठ अधिकारी स्टेफन मिलरले भने, “भारतले रूसी तेल खरिद गरी रूस–युक्रेन युद्धलाई आर्थिक सहयोग पुर्‍याइरहेको छ, जुन स्वीकार्य छैन।”

चीनको टिप्पणी अनुसार:

“अमेरिकाले आफ्नो स्वार्थअनुसार मित्रता बाँड्छ, तर जब कुनै राष्ट्रले आफ्नै मार्ग अपनाउँछ, उसलाई तुरुन्त दबाब र दण्डको शिकार बनाइन्छ। भारतले दशकौंसम्म ‘रणनीतिक स्वतन्त्रता’को सिद्धान्त अँगालेको थियो। तर अहिले अमेरिकाले भारतलाई आफ्ना गुटहरूको भाग बन्न जबरजस्ती गर्दैछ।”

भारतको दोहोरो चासो
भारत ब्रिक्स, शाङ्घाई सहयोग संगठन (SCO) जस्ता संरचनाहरूमा सहभागी हुँदै बहुध्रुवीय विश्वको पक्षमा उभिँदै आएको छ। तर उता अमेरिका, जापान र अष्ट्रेलियासँग मिलेर ‘इन्डो–प्यासिफिक’ रणनीतिमा संलग्न हुँदै शून्य–राशि (zero-sum) सुरक्षा रणनीति पनि अपनाइरहेको छ। ग्लोबल टाइम्स भन्छ—“भारतको यो सन्तुलन नीति अब अमेरिकी आधिपत्यको कठोर परीक्षणमा परेको छ।”

व्यापारिक सहमति रोकिएको कारण
अमेरिकाले चाहेजस्तो भारतीय बजारमा कृषि उत्पादन खोल्न भारत इच्छुक छैन। आफ्ना किसानहरूको सुरक्षाका लागि भारतले अमेरिकी चासो नमान्दा, अब अमेरिकी प्रशासन भारतमाथि दबाब सिर्जना गर्न उर्जासम्बन्धी सम्बन्धलाई औजार बनाइरहेको ग्लोबल टाइम्सको आरोप छ।

‘दुई मुहार’ भएको अमेरिका
भारतको परराष्ट्र मन्त्रालयले अमेरिका र युरोपमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको कुरा उद्धृत गर्दै ग्लोबल टाइम्स भन्छ—“अमेरिकाले पहिले भारतलाई रूसी तेल किन भन्नुभयो, अहिले त्यही किनमेललाई आधार बनाएर भारतलाई दण्डित गर्दैछ। अर्कातिर, अमेरिका र युरोप आफैं अझ धेरै रूसी उर्जा खरीद गरिरहेका छन्।”

भारतका लागि चेतावनी

ग्लोबल टाइम्स लेख्छ—“भारतले बुझ्नुपर्छ, अमेरिकी मित्रता सर्तसहितको हुन्छ। जबसम्म भारत अमेरिकाको रणनीतिक निर्देशनमा चल्छ, ऊ मित्र हुन्छ। जब ऊ आफ्नै बाटो लाग्छ, त्यही अमेरिका ऊमाथि दबाब दिन र सार्वजनिक रूपमै आलोचना गर्न पछि पर्दैन।”

निष्कर्षमा

“भारतजस्ता उदीयमान राष्ट्रहरूका लागि यथार्थ के हो भने—साँचो सुरक्षा, स्थायित्व र विकासको आधार एकपक्षीय मित्रतामा होइन, बहुध्रुवीय, परस्पर सम्मानयुक्त विश्व व्यवस्थामा निहित छ,” ग्लोबल टाइम्स लेख्छ।

“शायद भारतले अब बुझ्न थालिसकेको छ—ऊ टेबलमा पाहुना थिएन, मेनुमा राखिएको परिकार थियो।”

Facebook Comments