तुलसीपुर । सोमबार रातिदेखि लगातार परेको वर्षाका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरूपमा ठप्प भएको हो ।
दाङ–सल्यान सिमानामा रहेको पहिरो प्रभावित क्षेत्र बिहानैदेखि बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन् । कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराईका अनुसार सडक खुलाउने प्रयास तीव्र पारिएको छ ।

“पानी झनझन परिरहेको छ, सडक सफा गर्न कठिनाइ भइरहेको छ,’’ प्रमुख भट्टराईले भन्नुभयो, ‘‘पहिरोको जोखिम अझै कायमै रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।’’
यस सडकखण्ड हुँदै सल्यान, रुकुम, रोल्पालगायत जिल्लाहरू आवतजावत गरिँदै आएको छ । सडक खुल्ने समयबारे निश्चित जानकारी नआएको प्रहरीले जनाएको छ ।
विगत तीन वर्षदेखि राप्ती राजमार्गको दाङ–सल्यान सडकखण्ड सडक चौडा बनाउने काम भइरहेको छ । सडक स्तरोन्नतिको क्रममा नयाँ कटिङ गरेकाले यहाँ वर्षायाममा सडकमा माथिबाट पहिरो खस्दा यात्रुहरुले सास्ती ब्यहोर्दै आएका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
