श्रवण कुमार यादव
राजपुर। शिक्षक केवल पठन-पाठन गराउने व्यक्ति होइनन्, शिक्षक त विद्यार्थीको जीवन बदल्ने प्रेरणाश्रोत हुन्। शिक्षकको व्यक्तित्व, व्यवहार, बोलाइ, चिन्तन र आचरण नै विद्यार्थीका लागि मार्गदर्शन हो। उनीहरू ज्ञान बाँड्ने मात्र होइनन्, जीवन निर्माण गर्ने कालीगढ हुन्।
शिक्षकको प्रेरणा भनेको मौन शक्ति हो, जुन शब्दभन्दा गहिरो, पाठ्यपुस्तकभन्दा विशाल र अंकभन्दा मूल्यवान हुन्छ। कुनै छात्र-छात्राको जीवनमा एउटा सानो हौसला, एउटा सहारा वा एउटा राम्ररी बोलेको सल्लाहले परिवर्तन ल्याउन सक्छ। यही प्रेरणाले कोही डाक्टर बन्छ, कोही इन्जिनियर, कोही साहित्यकार, कोही समाजसेवी।
शिक्षकहरूका आँखामा यदि विद्यार्थीको उज्ज्वल भविष्यको सपना नहोस् भने शिक्षण केवल एउटा पेशा मात्र बनिन्छ। तर जब शिक्षकले हरेक विद्यार्थीभित्र एउटा सम्भावना देख्छन्, तब त्यो शिक्षक प्रेरणाका प्रतीक बन्छन्। उनीहरू शिक्षणलाई व्यवसाय होइन, साधना ठान्छन्।
कति शिक्षकहरू वर्षौंसम्म दुर्गम गाउँमा सेवा गर्छन्, कम तलब, सीमित स्रोत, थोरै सुविधा र बढी चुनौतीबीच पनि उनीहरू निरन्तर विद्यार्थीसँग हाँस्दै, सिकाउँदै, सुनाउँदै अगाडि बढ्छन्। ती शिक्षकहरू प्रेरणादायी होइनन् त?
विद्यार्थीको आत्मविश्वास जगाउने, उसको कमजोरी बुझेर उकास्ने, उसलाई सिकाउने मात्र होइन, सोच्न सिकाउने यही हो शिक्षकको साँचो प्रेरणा। जस्तो: एक जनाले लेख्न जान्दैन, अर्कोलाई बोल्न गाह्रो छ, तेस्रो डराइरहन्छ यी सबै अवस्थालाई शिक्षकले महसुस गरी उसमा आत्मबल भर्न सक्नुपर्छ।
आजको विद्यार्थी भोलिको नेतृत्व हो। शिक्षकले दिएको प्रेरणाले विद्यार्थीलाई दृढ, सक्षम र निडर बनाउँछ। शिक्षणशैली, व्यवहारिकता, इमानदारी, समयको मूल्य बुझाउने, संघर्ष गर्न सिकाउने, आत्मनिर्भर बनाउने शिक्षणमा नै प्रेरणा बस्छ।
तर आज कतिपय शिक्षकहरू पढाउने दायित्व पूरा गरेर घर फर्किन्छन्, विद्यार्थीको मनोविज्ञान बुझ्ने प्रयत्न गर्दैनन्। प्रेरणाविहीन शिक्षण सधैं सुक्खा ज्ञान मात्रै रहन्छ। त्यसैले शिक्षकले आफ्नो व्यवहार, दृष्टिकोण, बोली, आचरण र मूल्यमा सजग हुनु आवश्यक छ।
जब शिक्षकले विद्यार्थीलाई भन्न सक्छन्- “तिमी सक्छौ!”, “तिमीमा सम्भावना छ!”, “तिमीले प्रयास गर्यौ भने सफलता टाढा छैन!”- त्यो नै वास्तविक प्रेरणाको आरम्भ हो।
हामीले इतिहासमा हेर्दा, धेरै सफल व्यक्तित्वहरूको जीवनमा कुनै न कुनै शिक्षकको प्रेरणाले निर्णायक मोड दिएको पाइन्छ। चाहे महात्मा गान्धी हुन् या विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइन, सबैले आफ्नो जीवनमा कुनै शिक्षकको सकारात्मक प्रभाव स्वीकार गरेका छन्।
यसर्थ, शिक्षक भनेको केवल जानकारी दिने पात्र होइन, प्रेरणा दिने पथप्रदर्शक हो। शिक्षकमा विद्यार्थीलाई मात्र होइन, सम्पूर्ण समाजलाई शिक्षित, सचेत र सक्षम बनाउन सक्ने क्षमता रहन्छ।
यदि प्रत्येक शिक्षकले आफ्नो जिम्मेवारीलाई साधनाको रूपमा लिएर प्रेरणादायी बन्ने प्रयास गरे, भने देशको भविष्य उज्यालो बन्ने कुरामा शंका छैन।
शिक्षकको प्रेरणाले विद्यार्थी बनाउँछ, विद्यार्थीले समाज बनाउँछ, अनि समाजले देश बनाउँछ। त्यसैले शिक्षकको प्रेरणा नै राष्ट्र निर्माणको मेरुदण्ड हो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
