• १० माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चीनमा पहिलोपटक बालबालिका हेरचाह अनुदान सुरु, तीन वर्षसम्म परिवारलाई नियमित अनुदान




चीन । बेइजिङ। चीनले देशको इतिहासमै पहिलोपटक ठूलो मात्रामा सर्वसमावेशी तथा प्रत्यक्ष नगद सार्वजनिक कल्याण कार्यक्रमअन्तर्गत बाल हेरचाह अनुदान सुरु गरेको छ। यो कार्यक्रम चीन जनवादी गणतन्त्र स्थापनापछिको पहिलो ठूलो र प्रत्यक्ष नगद अनुदान वितरण हो, राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।

कार्यक्रमअनुसार तीन वर्षभन्दा कम उमेरका प्रत्येक बालबालिकाका लागि परिवारलाई वार्षिक ३,६०० युआन (झण्डै ५०३ अमेरिकी डलर) प्रदान गरिनेछ। अनुदानलाई व्यक्तिगत आय करबाट छुट दिइनेछ र यो न्यून जीवनयापन भत्ता पाउने वा अति विपन्नको सूचीमा पर्ने व्यक्तिहरूको आयको रूपमा गणना गरिने छैन, शिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

चालु वर्षका लागि अनुमानित ९० अर्ब युआनको प्रारम्भिक बजेटसहित ‘बाल हेरचाह अनुदान कोष’ नामक एक हस्तान्तरण भुक्तानी कार्यक्रम केन्द्र सरकार अन्तर्गत स्थापना गरिनेछ। राष्ट्रिय मापदण्डअनुसार वितरण गरिनुपर्ने रकमको करिब ९० प्रतिशत लागत केन्द्र सरकारले बेहोर्नेछ, बुधबारको सम्मेलनमा अर्थ मन्त्रालयको सामाजिक सुरक्षा विभागका अधिकारी गो याङले जानकारी दिए।

राष्ट्रिय र स्थानीय बाल हेरचाह अनुदान सूचना प्रणाली पूरा भइसकेको र अहिले पूर्ण परीक्षणको चरणमा रहेको छ। स्थानीय तहका कर्मचारीहरूलाई तालिम दिइँदैछ। योजना अनुसार साउनको अन्त्यतिरदेखि अनुदानका लागि आवेदन खुल्ला गरिनेछ।

यो अनुदान सबै बालबालिकालाई समान रूपमा लागू हुनेछ, चाहे उनीहरू शहर वा गाउँका हुन्, कुनै पनि जातीय समूह वा क्षेत्रका हुन्, पहिलो, दोस्रो वा तेस्रो सन्तानका रूपमा जन्मिएका हुन्। कार्यक्रमले तीन सन्तान नीतिअनुरूपका परिवारहरूलाई समग्र रूपमा सहयोग पुर्‍याउनेछ, र सबै योग्य बालबालिकाले समान व्यवहार पाउने सुनिश्चित गर्नेछ, सीसीटीभी समाचारले पत्रकार सम्मेलनलाई उद्धृत गर्दै जनाएको छ।

कार्यक्रमले ‘क्षमता अनुसार’ भन्ने सिद्धान्तमा आधारित भएर नीतिगत ढाँचा बनाएको छ। चीन अहिले पनि समाजवादको प्रारम्भिक चरणमा रहेको विकासशील राष्ट्र भएकाले नीति निर्माणमा जनसांख्यिक प्रवृत्ति र सामाजिक–आर्थिक स्तरलाई ध्यानमा राखिएको राष्ट्रिय स्वास्थ्य आयोगकी अधिकारी गो यानहोङले बताइन्।

अनुदानको दायरा र मापदण्ड वित्तीय रूपमा दिगो र व्यवहारिक हुने गरी निर्धारण गरिएको उनले बताइन्। “हामी जे गर्न सक्छौं, त्यसको सीमाभित्र रहेर काम गर्नु दीर्घकालीन स्थायित्व र प्रगतिका लागि आवश्यक छ,” उनले भनिन्।

अनुदानको आवेदन प्रक्रिया सरल र दक्ष बनाइएको छ ताकि सर्वसाधारणलाई सहज होस्।

राष्ट्रिय अनलाइन आवेदन प्रणालीमार्फत दर्ता भएका र स्थानान्तरण जनसंख्याका लागि पनि ‘एकद्वार’ सेवाबाट अनलाइन आवेदन दिन सकिनेछ। यद्यपि मुख्य च्यानल अनलाइन भए पनि अफलाइन सेवाहरू पनि उपलब्ध हुनेछन्।

त्यसैगरी, सुत्केरी, बाल स्याहार तथा शिक्षाका खर्च घटाउने अन्य उपायहरू पनि लागू गरिएका छन्। तीन वर्षभन्दा कम उमेरका बालबालिकाको स्याहार खर्चलाई व्यक्तिगत आय करअन्तर्गत विशेष छुटको रूपमा समावेश गरिनेछ, र छुट रकमलाई प्रतिमहिना प्रति बच्चा २,००० युआनसम्म बढाइनेछ।

समय सम्बन्धी सहयोगका लागि पनि सुत्केरी विदा प्रणाली सुधार गरिएको छ। अधिकांश प्रान्तहरूले सुत्केरी विदा १५८ दिन वा सोभन्दा बढी पुर्‍याएका छन्। साथै, श्रीमान्का लागि करिब १५ दिन पितृत्व विदा र आमाबाबुलाई ५ देखि २० दिनसम्मको अभिभावकीय विदा व्यवस्था गरिएको छ।
स्रोतः ग्लोबल टाइम्स

Facebook Comments