• २५ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बर्खे बिदामा विज्ञान प्रयोगशाला सञ्चालन गर्दै जन ज्योति मा.वि.




श्रवण कुमार यादव
देउखुरी। यतिबेला दाङ जिल्लाको राजपुर गाउँपालिकामा शैक्षिक क्यालेण्डर अनुसार बर्खे बिदा रहेको छ। सबै सामुदायीक विद्यालयहरू विदा छन् । अधिकांस बालबालिकाहरू घरभित्र मोबाइलको स्क्रिनमा हराइरहेका छन् होला। तर राजपुर-२, मटेरियाको जन ज्योति माध्यमिक विद्यालयतिर पुग्दा त्यो मौनता चिरेर नयाँ चहलपहल देखियो। विद्यालयको गेट खुलेको थियो, विज्ञान प्रयोगशालाभित्र हाँसो, जिज्ञासा र सृजनशीलताले भरिएको थियो। बर्खे बिदालाई अध्ययन र प्रविधिमा प्रयोगात्मक ज्ञान हासिल गर्ने अवसरका रूपमा लिँदै थिए जन ज्योति माविका विद्यार्थी।

विद्यालयको विज्ञान प्रयोगशालामा काठको टेबुलमा थर्माकोल, तार, रङ, र गत्ता फैलिएको थियो। कतै डोजर बनिरहेको थियो, कतै रकेट, कतै किड्नीको संरचना त कतै मोडल स्कूल। यो बर्खे बिदा उनीहरूका लागि पढ्न छुट्टी होइन, सिक्न पाउने ‘छुट’ बनेको थियो। सादा लुगा लगाएका किशोर अनुहारहरूमा वैज्ञानिक सोचको चमक देखिन्थ्यो र त्यो दृश्यले मलाई सोच्न बाध्य पार्‍यो, “सिकाइ भनेको यही त हो, जहाँ किताबभन्दा बाहिरको दुनियाँले शिक्षकको काम गर्छ।”

कक्षा १० मा अध्ययनरत राहुल चौधरी हातमा कैंची लिएर कागजको गत्ता काट्दै थिए। उनले मुस्काउँदै भने, “पहिला बर्खे बिदा भनेपछि साथीभाइसँग घुमफिर र मोबाइलमै सीमित हुन्थ्यौं। तर यसपालि हामी विज्ञान प्रयोगशालामा छौं। साथीसँग मिलेर काम गर्दा मजा पनि आउँछ र सिकाइ पनि सजिलो हुन्छ।” राहुलको टेबलमा ‘ विद्यालयको मोडल बनिरहेको थियो। उनीहरू चाउ-चाउकोे गात्ताले ठुलो स्कूलको मोडेल तयार परिरहेका थिए।

त्यस्तै कक्षा १० मा अध्ययनरत सुदिप विक। उनले मुस्काउँदै भने, यो रमाइलो त छँदैछ, साथै धेरै कुरा सिक्न पाइरहेका छौं।” सुदिपको टेबलमा ‘रकेट प्रक्षेपण प्रणाली’ को मोडल बनिरहेको थियो। उनीहरू पानीको दबाब प्रयोग गरेर सानो रकेट प्रक्षेपण गराउने तयारीमा थिए। “हामीले नेपाल लेखेको ब्यानर टाँसिएको रकेट तयार पारेका छौं। यसले हाम्रो सपना देखाउँछ, एकदिन हामीले पनि विज्ञानको दुनियाँमा केही योगदान दिन सक्नेछौं,” सुदिप गर्वका साथ भन्छन्।

त्यस्तै गरी कक्षा १० मा अध्ययनरत ओम प्रकाश यादव विज्ञान प्रयोगशालाको कुनामा गह्रौं ध्यानका साथ आफ्नै बनाएको डोजर मोडलसँग केही सुधार गर्दै थिए। प्लास्टिकका बोतल, कार्डबोर्ड, मोटर, रङ्गीन टेप र तारहरूको प्रयोगबाट उनले तयार पारेको डोजर एकदमै आकर्षक देखिन्थ्यो।

उनी मुस्काउँदै भन्छन्, “डोजर हेर्दा ठूला योजना सम्झन्छु, सडक बनाउने, पुल बनाउने, गाउँको विकास गर्ने। अहिले मैले बनाएको डोजर चल्दैन, तर म विश्वास गर्छु, एकदिन म यस्तो मेसिन बनाउनेछु जसले साँच्चिकै काम गर्छ।”

ओम प्रकाशको भनाइमा, उनको यो सिर्जना सामान्य विज्ञान परियोजनाभन्दा बढी “गाउँको सपना” हो। “गाउँमा सडक बिग्रन्छ, पुल भत्किन्छ, विकासका कुरा धेरै सुनिन्छ। मैले चाहेको त के हो भने, हामी आफैंले केही गर्न सक्ने बनौं।”

उनले यो मोडल बनाउनको लागि ५ दिन लागेको बताए। यूट्युब भिडियोहरू हेरेर र शिक्षकको सल्लाहमा मोडल निर्माणको प्रक्रियालाई उनले आफैंले सिकेका हुन्। “शिक्षकहरूले धेरै प्रोत्साहन दिनुहुन्छ। जसले गर्दा हामी जस्तो गाउँको विद्यार्थीलाई पनि आफूभित्रको क्षमता देखाउने मौका मिलेको छ,” ओम प्रकाशले भन्छन्।

उनको डोजर मोडलमा अगाडि ब्लेड, पछाडि घुम्ने पाङ्ग्रा, र थोरै विद्युत् मोटर समेत जडान गरिएको छ, जसले गर्दा भौतिक संरचना निर्माणको झल्को दिन्छ। उनको यो प्रयासले अन्य विद्यार्थीलाई पनि प्रविधिमा हात हाल्न हौसला दिएको प्रधानाध्यापक केशवराम यादव बताउँछन्।

कक्षा ९ की प्रेतमा बुढा र कक्षा १० की करुणा चौधरी जनज्योति माविको विज्ञान प्रयोगशालामा मिलेर “किड्नी फङ्सन मोडल” तयार गरिरहेका छन्। शरीरभित्रको मूत्र प्रणाली कसरी काम गर्छ भन्ने कुरालाई प्रस्ट देखाउने उद्देश्यले उनीहरूले थर्माकोल, पाइप, रङ, सिरिन्ज जस्ता सामग्री प्रयोग गरेका छन्। उनीहरू भन्छन्, “किताबमा पढ्नुभन्दा यस्तो मोडल बनाउँदा बुझ्न सजिलो हुन्छ।” उनीहरूको यो प्रयासले शरीर विज्ञानप्रतिको चासो र समझ बढाएको छ।

जनज्योति माविका कक्षा ९ मा अध्ययनरत राम कुमार यादवले बर्खे बिदाको सदुपयोग गर्दै अनौठो प्रयोग गरेका छन् । उनले “पैसा छाप्ने मेसिन” को मोडल तयार पारेका छन्। थर्माकोल, मोटर, रबर र कागजको प्रयोगमार्फत बनाइएको यो मोडल मनोरञ्जनात्मक भए पनि विज्ञान र प्रविधिको आधारमा तयार गरिएको छ।

राम भन्छन्, “यो मेसिनले साँच्चै पैसा त छाप्दैन, तर प्रविधिको काम गर्ने तरिका सिक्न चाहन्थें। यत्तिकै रमाइलो गर्दै सिकाइ पनि भयो।” उनको यो रचनात्मक सोचले प्रयोगशालामा हेर्ने जो–कोहीलाई मुस्कान दिने मात्र होइन, प्रविधिमा रुचि बढाउने कामसमेत गरेको छ।

तर यो दृश्य एक्कासि बनेको थिएन। यस पछाडि थियो मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र विलीभ कार्यक्रमको सहयोग, जसले जनज्योति माविमा बर्खे विदालाई सृजनात्मक सिकाइ महोत्सवमा रूपान्तरण गर्ने अवसर दिएको हो।

विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गर्दै सुरु गरिएको STEAM परियोजना अन्तर्गत, हाल १० वटा फरक–फरक सिर्जनात्मक प्रोजेक्टहरू निर्माण भइरहेको छ।कसैले डोजर बनाउँदैछ, कसैले रकेट, कसैले मानव शरीरको अंगहरूको काम प्रस्तुत गर्ने प्रयासमा छन्।

यस सम्पूर्ण प्रक्रियामा विद्यार्थीहरू मात्र होइन, शिक्षकहरूको सक्रिय निर्देशन र साथले सिकाइलाई अझै सरल र रमाइलो बनाएको छ। विद्यालयका प्रधानाध्यापक केशवराम यादवका अनुसार, “यी सबै परियोजनाहरू सम्पन्न भएपछि विद्यालयमै एक प्रदर्शनी आयोजना गरिनेछ, जहाँ विद्यार्थीहरूको कल्पना, प्रविधिसँगको सम्बन्ध र सिर्जनशीलता प्रत्यक्ष देख्न पाइनेछ।”

बर्खे बिदालाई खाली समय मानेर खेलमै रमाउने परिपाटीलाई तोड्दै, दाङको जिल्लाको राजपुर गाउँपालिका-२, मटेरिया स्थित जन ज्योति माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूले यसपालि बिदालाई नयाँ ढंगले उपयोग गरेका छन्। विद्यालय बन्द रहे पनि विज्ञान प्रयोगशाला भित्र विद्यार्थीको उपस्थिति, सिर्जनशीलता विद्यालयको प्रधानाध्यापक र शिक्षकहरुको सहकार्यले बर्खे बिदालाई एक सन्देशमूलक अवसरमा रूपान्तरण गरेको छ।

Facebook Comments