घोराही । गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि अभिमुखीकरणका साथै योग र ध्यान शिविर सञ्चालन गरेको छ ।

सो विद्यालयले विज्ञानतर्फ भर्ना भएका विद्यार्थीका लागि दुई दिने योग तथा ध्यान शिविर सम्पन्न गरिसकेको छ भने व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीका लागि मंगलवारदेखि शिविर सुरु गरेको हो ।

कार्यक्रममा गोरखा ग्रुपका सिइओ नवल जीएमले करियर काउन्सिलिङ गर्नुभएको थियो भने योग गुरु रविन्द्र बस्नेतले योग र ध्यानको अभ्यास गराइरहनुभएको थियो । त्यसैगरी गोरखा आइडल मावि भालुबाङका प्रिन्सिपल बसन्त पुनले लागु औषध दुव्र्यसनले बालबालिकामा पार्ने असर र यसबाट बच्ने उपायका बारेमा काउन्सिलिङ गर्नुभएको थियो ।

यस विद्यालयमा कक्षा ११ र १२ मा पठनपाठन हुने शैक्षिक तालिका, पाठ्यक्रम र मूल्यांकन विधिबारे व्यवस्थापन संकायतर्फ संयोजक एमबी केसी र विज्ञान संकायतर्फ संयोजक स्वतन्त्र हमालले जानकारी गराउनुभएको थियो ।

विद्यालयका अध्यक्ष विष्णु घर्ती मगरको अध्यक्षतामा भएका दुबै कार्यक्रममा विद्यालयका प्राचार्य मानसिंह घर्ती मगरले स्वागत गर्दै विद्यार्थीले पालना गर्नुपर्ने नियम र ध्यान दिनुपर्ने उपायबारे जानकारी गराउनुभएको थियो । दुबै कार्यक्रममा कक्षा ११ मा भर्ना भएका चार सय भन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो । व्यवस्थापनतर्फका विद्यार्थीहरुको शिविर बुधवार सकिने छ ।

गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले हरेक वर्ष शैक्षिक वर्ष सुरु भएपछि कक्षा ११ र १२ का विद्यार्थीलाई अभिमुखीकरणका साथै योग र ध्यानको अभ्यास गराउने गरेको छ । विद्यार्थीमा मानसिक तनाव र चाप घटाउने, आत्मनियन्त्रण र अनुशासन कायम गर्न सहयोग पु¥याउने, शरीरलाई लचिलो, स्फूर्तिवान र स्वस्थ बनाउने तथा सकारात्मक सोच र आत्मविश्वास विकास गराउने भएकाले शिविर नै सञ्चालन गरेर योग र ध्यानको अभ्यास गराउने गरेको विद्यालयका प्राचार्यले घर्ती मगरले जानकारी दिनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
