दिपक जिएम
दाङ। नेपालकै चर्चित बाल गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन ४’ को सेमिफाइनल चरणमा दाङकी बालगायिका सोनम श्रेष्ठ प्रवेश गरेकी छन्। सशक्त आवाज र भावपूर्ण प्रस्तुतीका कारण सोनमले दर्शकको मन जित्दै प्रतियोगितामा आफ्नो विशिष्ट पहिचान बनाएकी हुन्।
सुरुवातमा कोच मेलिना राईको टिममा रहेर प्रतिस्पर्धा गरेकी सोनम, बटल चरणमा बाहिरिएपछि कोच मिलन नेवारले स्टिल गर्दै आफ्नै टिममा समावेश गरेका थिए। अहिले उनी कोच मिलनको टिमबाट सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेकी छन्।
उपाधि जित्नका लागि आयोजकले ‘खल्ती’ एपमार्फत भोटिङ प्रणाली सुरु गरेको छ। सोनमले आफ्ना शुभचिन्तकहरूलाई भोटमार्फत साथ दिन अपिल गरेकी छन्। उनले भनेकी छिन्, “मलाई यहाँसम्म ल्याउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद छ। अबको यात्राका लागि तपाईंहरूको भोट र साथको खाँचो छ।”
संगीतमा प्रारम्भिक रुचिबाट प्रतियोगितासम्म
दाङको घोराही उपमहानगरपालिकाकी सोनम सानैदेखि संगीतप्रति रुचि राख्थिन्। निरन्तर अभ्यास र पारिवारिक समर्थनका कारण उनले सानै उमेरमा गायनमा उल्लेखनीय प्रगति गरेकी हुन्।
उनको आवाजमा रहेको स्पष्टता, भावप्रवणता र आत्मीयताले दर्शक तथा निर्णायकहरूको ध्यान आकर्षित गर्दै आएको छ। विभिन्न चरण पार गर्दै उनले सेमिफाइनलसम्मको यात्रा तय गरेकी हुन्।
कोचहरूको मार्गदर्शन र पारिवारिक समर्थन
सोनमले प्रतियोगिता अवधिभर कोचहरूको हौसला र मार्गदर्शनले आफूलाई अझ निखारिएको बताएकी छन्। प्रारम्भमा कोच मेलिना राईको टिमबाट यात्रा सुरु गरेकी उनले सेमिफाइनलसम्म आइपुग्दा कोच मिलन नेवारको प्रशिक्षणमा प्रस्तुतिहरू दिइरहेकी छन्।
उनले भनिन्, “मेरो गुरुहरूको साथ, परिवारको माया र दर्शकहरूको समर्थन मेरो सबैभन्दा ठूलो शक्ति हो। म यो यात्रालाई संगीतप्रतिको समर्पणको रूपमा लिइरहेकी छु।”
भोट गर्नका लागि ‘खल्ती’ एप डाउनलोड गर्नुहोस् । एप खोल्नुहोस् र ‘द भ्वाई किड्स नेपाल’ चयन गर्नुहोस् र सोनम श्रेष्ठ र टिम मिलन चयन गरेर भोट गर्न सक्नु हुनेछ । तपाईको भोटले सोनमलाई उपाधि जित्न सहयोग गर्नेछ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
