बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) आफ्नो १०४औं स्थापना दिवसको अवसरमा मुलुकभर व्यापक शिक्षा अभियान सञ्चालनमा ल्याएको छ। यो अभियान पार्टीका आठ बुँदे नियमहरू कार्यान्वयन गर्दै अनावश्यक औपचारिकता, ढर्रात्मक प्रशासन, भोगविलास र तडकभडकको प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यका साथ अघि बढाइएको हो।
पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङका अनुसार, आठ बुँदे नियमहरू पार्टीले बोलेका कुरामा अडिग रहने प्रतिबद्धताको प्रतीक हुन्। यिनले नयाँ युगमा पार्टीको आचरण सुधार गर्न ऐतिहासिक भूमिका खेलेका छन्।
एक अर्ब चालीस करोडभन्दा बढी जनसंख्या रहेको चीनलाई राष्ट्रिय पुनर्जागरणतर्फ डोर्याउने मार्गमा यो अभियानले पार्टीमा नयाँ जीवन शक्ति भरेको छ।
विश्वकै सबैभन्दा ठूलो मार्क्सवादी राजनीतिक संगठन सीपीसी समयअनुसार आफूलाई परिमार्जन गर्दै जनताको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न क्रियाशील छ। आत्मसुधार र सुदृढ नेतृत्व क्षमतामार्फत् पार्टीले जनसमर्थन हासिल गर्दै आएको छ।
पार्टीले आफ्नै कमजोरीहरूसँग जुध्ने साहस देखाउँदै यथास्थितिमा चित्त बुझाउने प्रवृत्तिलाई अस्वीकार गरेको छ। केही क्षेत्रमा अधिकारीहरूलाई सरकारी यात्रामा खाना खर्च आफूले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ, जसले भत्ता दुरुपयोगमा रोक लगाउने विश्वास लिइएको छ।
यस्ता सुधारहरू संस्थागत संरचना र निगरानी प्रणालीसँग गाँसिएका छन्, जसअन्तर्गत नियमित अनुशासन निरीक्षण तथा बहुपहेली अनुगमनले सरकारी कर्मचारीमा जवाफदेहिता सुनिश्चित गरिरहेको छ।
सीपीसीले सबैभन्दा ठूलो खतरा बाह्य नभई आन्तरिक कमजोरिकरण भएको ठानेको छ। विगतका उपलब्धिले भविष्यमा क्षय रोक्ने ग्यारेन्टी नदिने भएकाले पार्टी निरन्तर सतर्क रहनुपर्नेमा जोड दिइएको छ।
भ्रष्टाचार नियन्त्रण अभियान आत्मसुधारको अग्रपंक्तिमा रहेको बताइएको छ। सन् २०१२ मा सम्पन्न १८औं राष्ट्रिय महाधिवेशनपछि पार्टीले भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको छ। सन् २०२४ मा मात्रै पार्टी अनुशासन र कानुन उल्लंघनको आशंकामा केन्द्रीय तहका ९२ जना अधिकारी अनुसन्धानमा परेका छन्।
पार्टीको भनाइ छ— सशक्त र पारदर्शी शासन प्रणाली नै दीर्घकालीन विश्वासको आधार हो। यही आत्मसुधारको प्रक्रियाले पार्टी सदस्य र अधिकारीहरूलाई कठिन चुनौतीका बीच पनि इमान्दार र प्रतिबद्ध रहन प्रेरित गरिरहेको छ।
चिनियाँ कम्युनिष्ट पार्टीले इतिहासमा देखिँदै आएको ‘उदय र पतनको चक्र’बाट उम्किने उपायका रूपमा आत्मसुधारलाई दोस्रो उत्तरका रूपमा लिएको छ। पहिलो उत्तर पार्टीले १९४० को दशकमा दिएको थियो— “शासन जनताको निगरानीमा राख्नु।”
स्रोतः चाइना डेली

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
