• १६ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सीमा क्षेत्रमा किन लडिरहेका छन् थाइल्याण्ड र कम्बोडिया ?




गत बिहीबार थाइल्याण्ड र कम्बोडियाबीच लामो समयदेखि बलिरहेको सिमाना तनाव घातक संघर्षमा परिणत भयो।

थाइ अधिकारीहरूका अनुसार कम्तीमा बाह्र जना थाइल्याण्डका नागरिक—जसमध्ये अधिकांश सर्वसाधारण थिए—मृत्यु भएका छन्।

कम्बोडियाको तर्फबाट कति मानिसको ज्यान गएको छ भन्ने स्पष्ट छैन।

यस द्वन्द्वको सुरुवात सीमापार गोलीबारीबाट भएको जनाइएको छ। दुवै पक्षले एकअर्कालाई तनाव चर्काएको आरोप लगाएका छन्।

थाइल्याण्डले कम्बोडियाले रकेट प्रहार गरेको आरोप लगाएको छ भने बैंककले जवाफी रूपमा कम्बोडियाका सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको छ।

विवाद कहाँबाट सुरु भयो ?

यो कुनै नयाँ विवाद होइन। थाइल्याण्ड र कम्बोडियाबीचको असमझदारीको जरा एक शताब्दीभन्दा पुरानो हो, जब फ्रान्सेली उपनिवेशकालपछि दुवै मुलुकको सिमाना खिचिएको थियो।

विवाद सन् २००८ मा झनै चर्किएको थियो, जब कम्बोडियाले सन् ११ औं शताब्दीको एक मन्दिर—जो विवादित क्षेत्रमा पर्छ—लाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गर्न खोज्यो। यस कदमको थाइल्याण्डमा तीव्र विरोध भयो।

त्यसयता दुवै पक्षबीच बेलाबेलामा झडप हुँदै आएका छन्, जसमा सैनिक र सर्वसाधारण दुबैको ज्यान गएको छ।

हालैको तनाव सन् २०२५ को मे महिनामा फेरि चर्किएको हो, जब एक कम्बोडियाली सैनिक झडपमा मारिए। यस घटनापछि दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध दशकयताकै न्यूनतम अवस्थामा पुगेको हो।

गएको दुई महिनामा दुवै देशले एकअर्कामाथि सिमाना प्रतिबन्ध लगाएका छन्। कम्बोडियाले थाइल्याण्डबाट फलफूल, तरकारी, विद्युत् र इन्टरनेट सेवा आयात गर्न रोकेको छ।

साथै, पछिल्लो केही हप्तामा दुवैले सिमानामा सैनिक उपस्थिति थप मजबुत बनाएका छन्।
कम्बोडियाद्वारा तत्काल युद्धविराम गर्न थाइल्याण्डसँग आग्रह

दुई दिनसम्म चलेको सिमापार संघर्षपछि कम्बोडियाले थाइल्याण्डसँग ‘तत्काल र सर्तरहित’ युद्धविरामको आह्वान गरेको छ।

संयुक्त राष्ट्रसंघका लागि कम्बोडियाका राजदूत चेया केओले आफ्नो देशले शान्तिपूर्ण समाधान खोज्दै बिना कुनै सर्त युद्धविराम प्रस्ताव गरेको बताए।

थाइल्याण्डले हालसम्म यो प्रस्तावबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, थाइल्याण्डले कम्बोडियासँग सिमाना जोडिएका आठ जिल्लामा मार्शल लअ (सैनिक कानुन) लागू गरिसकेको छ।

दुई देशमा कम्तीमा १६ जनाको मृत्यु भइसकेको छ भने दसौं हजार मानिस विस्थापित भएका छन्। दुबै पक्षले बिहीबार संघर्षको सुरुवात एकअर्काले गरेको आरोप लगाएका छन्।

थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचयाचाईले शुक्रबार चेतावनी दिँदै भने, “सङ्घर्ष यति गम्भीर बनेको छ कि यो युद्धतिर लम्कन सक्ने अवस्था देखिएको छ।”

उनका अनुसार हालको लडाइँमा गम्भीर हतियार प्रयोग भइरहेको छ र संघर्ष सिमाका १२ ठाउँसम्म फैलिसकेको छ।

थाइल्याण्डले कम्बोडियाले सर्वसाधारण बस्तीमा आक्रमण गरेको आरोप लगाएको छ र आफ्ना रकेटका दायराभित्र परेका सबै गाउँहरू खाली गराएको जनाएको छ।

उता, कम्बोडियाले थाइल्याण्डले क्लस्टर बम (विस्फोट भएपछि धेरै साना बम छरिने हथियार) प्रयोग गरेको आरोप लगाएको छ। यस्ता हतियारहरू सर्वसाधारणमाथि विनाशकारी असर पार्ने भएकाले अधिकांश देशमा प्रतिबन्धित छन्। थाइल्याण्डले यस आरोपमा प्रतिक्रिया दिएको छैन।

यसैबीच, थाइल्याण्डका परराष्ट्रमन्त्रीले रोयटर्सलाई भनेका छन् कि यो विवादमा कुनै तेस्रो पक्षको मध्यस्थता आवश्यक छैन, जबकि विश्व नेताहरूले तत्काल युद्धविरामको अपिल गरेका छन्।

आसेआन (दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन) का अध्यक्ष तथा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दुई देशबीच वार्ताका लागि पहल गर्न तयार रहेको बताएका थिए।

त्यस्तै, संयुक्त राज्य अमेरिकाले पनि ‘तत्काल द्वन्द्व रोक्न’, ‘सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न’ र ‘शान्तिपूर्ण समाधान निकाल्न’ आह्वान गरेको छ।

Facebook Comments