दाङ। बालबालिकाले सामाजिक सरोकारका विषयमा आफ्ना धारणा प्रस्तुत गर्ने उद्देश्यसहित “हाम्रो आवाज : हाम्रो सन्देश” कार्यक्रम शनिबार घोराहीमा हुने भएको छ। आह्वान, दाङको आयोजनामा सर्वोदय पुस्तकालयको हलमा दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले समाजसँग सम्बन्धित विषयमा आफ्ना विचार राख्नेछन्।

कार्यक्रममा माउन्ट भ्यु स्कुलकी अनामिका घर्ती मगरले ‘हाम्रो शिक्षा प्रणाली’ विषयमा धारणा राख्नेछिन् भने पर्ल एकेडेमीकी रितु महराले ‘दाइजो प्रथा र यसको सामाजिक प्रभाव’ विषयमा विचार प्रस्तुत गर्नेछिन्। यस्तै, नेपाल पुलिस स्कुलका मेधावी बुढाथोकीले ‘लागू पदार्थ दुर्व्यसन र त्यसको प्रभाव’ र ज्ञानमाला एकेडेमीकी अदिति केसीले ‘लैङ्गिक भेदभाव र हाम्रो दायित्व’ विषयमा मन्तव्य दिनेछन्।
माउन्ट भ्यु स्कुलकी सौम्या आचार्यले ‘सामाजिक सञ्जालको प्रयोग र यसको असर’ विषयमा धारणा राख्नेछिन् भने शान्ति निकेतन स्कुलका प्रवीण रिजालले ‘अन्धविश्वास र यसका सामाजिक प्रभाव’ विषयमा बोल्नेछन्।
बालबालिकाको दृष्टिकोणलाई समाजको विमर्शमा ल्याउन र उनीहरूमा सामाजिक चेतना विकास गर्न कार्यक्रमको आयोजना गरिएको आह्वान, दाङले जनाएको छ। कार्यक्रममा शिक्षक, अभिभावक, बाल अधिकारकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
