• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चौरीखर्कको दिगो विकासमा ध्यान दिनुपर्ने पूर्व अध्यक्ष बुढाको सुझाव




रुकुमपूर्व। भूमे गाउँपालिकाका पूर्व अध्यक्ष रामसुर बुढाले हाल देशभर चर्चित बनेको चुङुरी बुकी (चौरी खर्क) क्षेत्रको दीगो विकास, संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ।


पूर्व अध्यक्ष बुढाका अनुसार चुङुरी बुकीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित गाउँपालिकाको तर्फबाट पहिलोपटक २०७७ साल असोज १७ र १८ गते उहाँकै नेतृत्वमा टोली त्यहाँ पुगेको थियो। टोलीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, वडाध्यक्ष रामचन्द्र पुनलगायतको सहभागिता रहेको उहाँले बताउनुभयो। “त्यसबेला हाम्रो प्रयासबाट गरिएको पहल अहिले भाइरल बनेर चर्चामा आएको देख्दा गर्व लाग्छ,” बुढाले भन्नुभयो।

चुङुरी बुकीमा पर्यटकको चाप बढेसँगै यसको प्रभावकारी व्यवस्थापन आवश्यक भएको उहाँको भनाइ छ। “मानव गतिविधि बढ्दै जाँदा फोहोरमैला पनि बढ्छ, त्यसकारण सचेतना अभिवृद्धि र व्यवस्थापनमा योजना बनाई कार्यान्वयन गर्न आवश्यक छ,” उहाँले भन्नुभयो।

त्यहाँ पाइने प्राकृतिक फूलहरू तुन्न नहुने उल्लेख गर्दै उहाँले यसलाई प्रकृतिको उपहारको रूपमा लिँदै भावी पुस्ताका लागि संरक्षण गर्नु हाम्रो जिम्मेवारी भएको धारणा राख्नुभयो। साथै, मगर समुदायको आस्थाको प्रतीक मानिने चुङुरी बुकी क्षेत्रलाई धार्मिक आस्थासँग जोडिँदै भू–दृश्य अवलोकन गर्न सकिने ठाउँमा भ्यूपोइन्ट निर्माण गर्नुपर्ने उहाँको सुझाव छ।

बुकी पाटनको क्षेत्रले साहसिक पर्यटन गतिविधिका लागि सम्भावना बोकेको बताउँदै उहाँले हिउँ पर्दा स्किइङ र अन्य समयमा साइकलिङजस्ता खेल विकास गर्न निजी तथा सरकारी लगानी आवश्यक भएको बताउनुभयो।

पर्यटक व्यवस्थापन व्यवस्थित र विधिसम्मत बनाउन स्थानीय तहले नीति निर्माण गरी शुल्क उठाउन सक्ने व्यवस्था गर्नुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो। साथै, चुङुरी बुकी क्षेत्रका पर्यटकलाई खानपान, बास, सञ्चार, सडक, बिजुली, खानेपानी र शान्ति सुरक्षालगायत पूर्वाधारको आवश्यकता औंल्याउँदै उहाँले निजी क्षेत्रलाई रिसोर्ट, होटल र फास्टफुडजस्ता व्यवसाय सञ्चालन गर्न समेत आग्रह गर्नुभयो।

पूर्व अध्यक्ष बुढाले चुङुरी बुकी क्षेत्रको समुचित संरक्षण र योजनाबद्ध विकास गर्न सके निकट भविष्यमा रुकुमपूर्वलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ।

Facebook Comments