
खेमराज न्यौपाने
दिनहरू साँच्चै पंखझैँ उडिरहेका थिए। बैशाखको त्यो एक दिनको घुमाइ, त्यो स्मृति बनेर मनको कुनामा बसेको थियो, जसले मानव र प्रकृतिको सम्बन्धलाई एक अर्को तहमा पुर्याइदिएको थियो। अब उनीहरूका संवादहरूमा औपचारिकताभन्दा बढी आत्मीयता भरिन थालेको थियो। बोलाइमा सावधानी थियो, व्यवहारमा सरलता, तर सम्बन्धमा एउटा अब्यक्त गहिराइ— जुन प्रेमजस्तो लाग्थ्यो, तर ‘प्रेम’ भनेर कहिल्यै उच्चारण गरिएका थिएन।
क्याम्पसमा पठनपाठन त चलिरहेकै थियो, तर त्यसैसँगै दुवैको जीवनमा भावना र भविष्यको द्वन्द्व पनि पलायमान थियो। प्रकृति अब घोराहीमै डेरा गरेर बस्न थालिसकेकी थिइन्। उनको र मानवको भेट दैनिकजस्तै हुन्थ्यो—चिया पसलको कुनामा गफिँदै, पुस्तकालयमा एक-अर्काको कापी निहाल्दै, कहिले काँही त सधैँजसो मौनतामा रमाउँदै पैदल हिँडिरहन्थे। उनीहरूको आत्मीयता असीमित लाग्थ्यो, तर अझै पनि अनौपचारिक र अनकही थियो।
एक बिहानको कुरा हो। क्याम्पसको वातावरण सधैँझैँ चहलपहलले भरिएको थियो। पूर्वबाट भर्खर उदाउँदै गरेको घामको न्यानो किरण गुलाफको झाडीमाथि पर्न थालेको थियो। त्यहीँ छेउको पुरानो बेन्चमा मानव र प्रकृति चुपचाप बसेका थिए। त्यो मौनताभित्र थुप्रै कुरा लुकेका थिए, जुन प्रकट हुने कुरै थिएनन्।
एकाएक प्रकृतिको स्वर फुसफुसाएझैँ आयो, हल्का कम्पित, तर गम्भीर—
“मानव सर… यहाँको भविष्य खासै उज्यालो देख्दिन म… हाम्रो जस्तो क्षमता भएर पनि, नेपालमा अवसर छैन। म त अब विदेश जाने सोच्दै छु… जापान।”
मानव केही छिन निस्सङ्कोच हेरिरह्यो। त्यो कुराले उसलाई झस्कायो। उसले मुस्कान त ल्याउने प्रयास गर्यो, तर त्यो मुस्कान भित्र कतै गहिरो चिरा परेको थियो।
“जापान?”, उसले आश्चर्य मिश्रित स्वरमा भन्यो।
प्रकृतिले दृष्टि आकाशतर्फ मोडिन्।
“हो, जापानी भाषा सिक्न थालेकी छु। त्यहाँको शिक्षा, संस्कृति, जीवनशैली… सबै सकारात्मक लाग्छ। तपाईं पनि सोच्नुस् न—यत्तिकै समय बिताउनुको खासै अर्थ छैन। हामी सँगै भाषा कक्षा पनि लिन सक्छौं…”
उनको स्वरमा सपनाको उज्यालो थियो, तर त्यो उज्यालो मानवको मुटुमा छायाँजस्तै लागिरहेको थियो। ऊ चुपचाप निधार निहुरायो। उसका भित्री भावनाहरूले उथलपुथल गरिरहेका थिए—तर प्रकृतिको प्रस्ताव उसलाई बहानाजस्तै लाग्यो, साथ पाइरहने नयाँ आधारजस्तो लाग्यो। उसले त्यो साँझ निश्चय गर्यो—ऊ पनि जापानी भाषा सिक्नेछ, सँगै कक्षा जानेछ।
समय नबोलिएर पनि धेरै कुरा बोल्थ्यो। तीन वर्ष बितिसकेका थिए, उनीहरूको मित्रता मौनतामै बलियो बनिरहेको थियो। ती तीन वर्षमा प्रकृति र मानवको सम्बन्ध केवल ‘साथी’को परिभाषामा सीमित थिएन—त्यो एक किसिमको आत्मीयता थियो, जसले समाजका सीमाना, परिभाषा, नियमहरू सबै पार गरिसकेको थियो।
तर त्यो सम्बन्ध अझै पनि ‘मौन’ थियो—अब्यक्त प्रेमको साक्षी।
मानव भित्रभित्रै अझै द्वन्द्वमा थियो—
“के म उसलाई प्रेम गर्छु?”
“तर म विवाहित छु, ऊ स्वतन्त्र छ। के उसले बुझ्लिन्?”
“माया भन्ने कुरा उसलाई थाहा छ त?”
एक साँझ, मन भारी बनाएर उसले प्रकृतिलाई म्यासेन्जरमा भिडियो कल गर्यो। स्क्रिनको अर्को छेउमा देखिएको प्रकृतिको अनुहारमा उदासी थियो—पहिला देखिएकाभन्दा अलिक फरक, बुझिनसक्ने पीडा बोकेको।
“के भयो?”, मानवले चिन्तासहित सोध्यो।
प्रकृतिले गहिरो सास फेरिन्।
“आज घरबाट फोन आएको थियो। केटाहरू माग्न आएका रहेछन्… म त नकारेँ, तर आमा–बुबाको आँखा र अपेक्षा बुझ्न गाह्रो भइरहेको छ…”
त्यस पल्ट मानवको शरीर त शान्त थियो, तर भित्रभित्रै एक भूकम्प आयो। उसको मुटुमा फलामको सिम गाडिएको झैं अनुभव भयो। शब्द हराए, स्वर चुँडियो—ऊ केवल टोलाएर हेरिरह्यो।
त्यो रात उसले आँखा बन्द गर्न सकेन। निद्रा त परै जाओस्, एकछिन आँखा झिमिक्क भएन। उसलाई बारम्बार प्रकृतिको अनुहार देखिइरह्यो—त्यो थकित स्वर, त्यो अबुझ दृष्टि, त्यो सहनशील मुस्कान…
र उसले आफैसँग प्रश्न गर्यो—
“किन मलाई उसको पीडाले पोल्छ?”
“किन उसको विवाहको कुरा सुन्दा मेरो हृदय झसङ्ग हुन्छ?”
“के म माया गर्छु?”
तर उसले आफैलाई थाम्यो। भावना विस्फोट गराउनुभन्दा, सम्झाउने निर्णय गर्यो—
“म माया गर्छु, तर बाँध्ने होइन।
म प्रेम गर्छु, तर बोझ दिने होइन।
म त चाहन्छु—ऊ जहाँ खुशी हुन्छे, त्यहीँ उसलाई आशीर्वाद दिऊँ।”
त्यस रात, मानवले आफ्नो डायरीको एउटै पानामा धेरै भावना पोख्यो—
“प्रकृति,
तिमी मेरा हरेक मौनताका स्वर हौ।
म तिमीलाई बाँध्न चाहन्न। तिमी जहाँ स्वतन्त्र छौ, त्यहीँ मेरो प्रेम छ।
यदि तिमी विवाहपछि खुसी हुन सक्छौ भने, म त्यसैमा सन्तुष्टि लिन्छु।
यदि तिमी आफ्ना सपना पुरा गर्न सफल भयौ भने, मलाई लाग्नेछ—म सफल भएँ।
म प्रेम गर्छु—तिमीप्रति, तिम्रो उज्यालोपनप्रति।
तिमी जहाँ मुस्कुराउँछौ, त्यहीँ मेरो सारा सन्तोष लुकेको हुन्छ।”
त्यसपछि पनि ऊ प्रकृतिसँग सँगै क्याम्पस जान्थ्यो। उसलाई किताब किन्न सहयोग गर्थ्यो हरेक नयाँ ज्ञानले उसलाई हाँसाउने प्रयास गर्थ्यो। तर हरेक हाँसोभित्र एउटा मौन सन्देश हुन्थ्यो—“म तिमीलाई माया गर्छु”, जुन उसले कहिल्यै उच्चारण गरेन।
प्रकृति त्यस्ता व्यवहार बुझ्थिन् पनि, अनबुझ झैँ पनि गर्थिन्। उनी मानवप्रति एक किसिमको श्रद्धा, आस्था र आत्मीयता महसुस गर्थिन्, तर त्यो भावना प्रेम थियो वा केवल मित्रता—शायद उनी आफै अन्योलमा थिइन्।
तर समयले अब एउटा ठुलो मोड लिइसकेको थियो।
प्रकृति विवाह बन्धनमा बाँधिइन्। मानवले त्यसलाई रोकेन, प्रश्न गरेन, आशंका देखाएन। उसले एउटा गहिरो मुस्कानका साथ स्वीकार गर्यो।
प्रेम थियो—तर स्वीकार्न कठिन समय थियो।
प्रेम थियो—तर समाजले दिएको नाम थिएन।
अनि अन्ततः, बाल्यकालको नामसितको त्यो मित्रता, तीन वर्षको मौन आत्मीयता, र नबोलेको प्रेम—सबै अब एउटै निष्कर्षमा आइपुगेका थिए।
“प्रेम पाउनु मात्रै होइन, प्रेम गर्नु पनि ठूलो कुरा हो।
यदि तिमी मुस्कुराउँछौ भने,
म तिमीलाई पाउनु नपाएर पनि
साँचो खुसी महसुस गर्छु।”
क्रमशः…

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
