• २९ भाद्र २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अझै पाउन सकेनन् किसानले क्षतिपूर्ति




घोराही । दाङको बंगलाचुली गाउँपालिका–६ रिभानका किसानहरू विगत केही वर्षदेखि खेतीयोग्य जमिन गुमाएर बसेका छन्। तर आजसम्म उनीहरूले त्यसको क्षतिपूर्ति पाएका छैनन्। चुनढुंगा उत्खननका लागि सञ्चालनमा आएका सिमेन्ट उद्योगहरूको लापरवाहीका कारण धान फल्ने जमिन बगरमा परिणत भएपछि किसानहरू गहिरो पीडामा छन्।

रिभान गाउँका किसानहरू वर्षौँदेखि धान खेती गर्दै आएका थिए। तर घोराही सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगले दाङबाङ खोलामा जथाभावी रूपमा ढुंगा र गिट्टी फाल्दा खोलाको बहाव अवरुद्ध भई जमिन कटान हुनुका साथै पहिरो खसेर खेत पूरिएको हो। खोलाको धार परिवर्तन भएपछि खेतीयोग्य जमिन नै नामेट भएको किसानहरूको गुनासो छ।

स्थानीय बासु महराले भन्नुभयो, “विगत ३–४ वर्षदेखि वडादेखि पालिकासम्म १०–१२ पटकसम्म बैठकमा गुनासो गरिसकेका छौँ। तर समस्या समाधानको सट्टा अझै पनि हामी सुनुवाइको पर्खाइमै छौं।”

उद्योगको लापरवाहीका कारण अहिले रिभान गाउँका झन्डै ३० घरधुरीको १८४ रोपनीभन्दा बढी जमिन खोला र पहिरोले बर्बाद पारेको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले जानकारी दिनुभयो। “यो समस्या कुनै एक व्यक्तिको मात्र होइन, सामूहिक रूपमा सम्पूर्ण गाउँ नै प्रभावित भएको छ,” उपाध्यक्ष जिसीले भन्नुभयो।

पीडित किसानहरूले बंगलाचुली गाउँपालिकाको न्यायिक समितिमा पटक–पटक उजुरी गरेका छन्। न्यायिक समितिमा निवेदन परेपछि गाउँपालिकाले सिमेन्ट उद्योगलाई जानकारी गराएको थियो। त्यसपछि उद्योग प्रतिनिधि, स्थानीय किसान र प्रशासनबीच गत माघ ६ गते जिल्ला प्रशासन कार्यालयको रोहबरमा बैठक बसेको थियो।

उक्त बैठकमा प्राविधिक टोली गठन गरी क्षतिको एकिन विवरण संकलन गर्ने र १५ दिनभित्र समाधान गर्ने सहमति भएको वडाध्यक्ष डोम बहादुर खत्रीले जानकारी दिनुभयो। तर उहाँका अनुसार, “प्रतिवेदन तयार भइसकेपछि उद्योगका प्रतिनिधि पुनः सम्पर्कमै आएका छैनन्। १५ दिनभित्र समस्या समाधान गर्ने भनिए पनि त्यो निर्णय कार्यान्वयनमा आएको छैन।”

पीडित किसानहरूको धैर्य सकिँदै गएको छ। “सरकार र प्रशासन हाम्रो पक्षमा उभिएन भने हामी अब शान्तिपूर्ण आन्दोलनमा जान बाध्य हुन्छौं,” किसान यज्ञबहादुर महराले चेतावनी दिनुभयो।

क्षतिपूर्तिका लागि प्रशासनिक प्रक्रिया सुरु भए पनि प्रभावकारी पहल नहुँदा किसानहरू अझै अन्योलमा छन्। स्थानीय सरकार तथा सम्बन्धित निकायहरूले तत्काल ध्यान नदिए यसले ठूलो सामाजिक आन्दोलनको रूप लिन सक्ने देखिएको छ।

 

 

Facebook Comments