पूर्वी चीनको जियाङ्सु प्रान्तको याङ्झाउस्थित एक सौन्दर्य अस्पतालमा अठार वर्षीया शाओयु (नाम परिवर्तन) ले आफ्नो मोबाइलमा देखिएको चर्चित व्यक्तिको सुन्दर आँखा देखाउँदै प्लास्टिक सर्जनलाई भनिन्, “मलाई यस्तै चाहिन्छ।” स्थानीय सञ्चार माध्यमहरूका अनुसार, शाओयु जस्ता हजारौं नयाँ उच्च माध्यमिक तह उत्तीर्ण विद्यार्थीहरूका लागि गृष्मकालीन बिदा परीक्षा हलबाट शल्यकक्षतर्फको दौड हो।
चीनभरका प्लास्टिक सर्जरी अस्पतालहरू यतिखेर सिजनको चटारोमा छन्। चीनको केन्द्रीय टेलिभिजन (CCTV) समाचारअनुसार गृष्मकालीन बिदामा सौन्दर्य शल्यक्रियाको माग झण्डै तीस प्रतिशतले बढ्ने गरेको छ, जसमा मुख्यतया उच्च माध्यमिक उत्तीर्ण विद्यार्थीहरू अग्रस्थानमा छन्।
झेजियाङ प्रान्तका एक प्लास्टिक सर्जनका अनुसार, “पन्ध्र जनाको समय तालिका तीन सेकेन्डमै भरिन्छ।” उनीहरूले दैनिक शल्यक्रिया क्षमता बढाएर पैंतीस जनासम्म पुर्याएको जनाएका छन्। कतिपय डाक्टरहरूले एकै दिन सातदेखि आठवटा शल्यक्रिया गरिरहेका छन्।
नानफाङ अस्पतालका अनुसार, नियमित दिनहरूमा तुलनामा गृष्मकालमा विद्यार्थीहरूले गर्ने शल्यक्रिया माग दश प्रतिशतबाट तीस प्रतिशतसम्म बढेको छ। जुलाई र अगस्टमा सयभन्दा बढी अतिरिक्त शल्यक्रिया बुक गरिन्छ।
लोकप्रिय प्रक्रियाहरू र जोखिम
विद्यार्थीहरूमा सबैभन्दा बढी रुचाइएको प्रक्रियामा दोहोरो पलक बनाउने शल्यक्रिया (Double Eyelid Surgery) अगाडि छ। यसलाई ‘रूपान्तरणको पहिलो साँचो’ भन्ने गरिन्छ। परीक्षाको तनावका कारण चेन थरकी एक छात्रालाई गम्भीर डन्डिफोर (Acne) देखिएको थियो। डन्डिफोरको दाग हटाउने उपचारले उनीजस्ता धेरैलाई आत्मविश्वास फर्काएको छ। चेनले भने, “म यस्तो अनुहार लिएर विश्वविद्यालय जाँदिन,” भन्दै लेजर उपचार सुरु गरिन्।
तर पछिल्लो समय सबैभन्दा तीव्र वृद्धि स्लिमिङ इन्जेक्सनमा देखिएको छ। छिटो, सस्तो र कम समय लाग्ने भएकाले यो इन्जेक्सन विद्यार्थीहरूमा लोकप्रिय बनेको छ। तीन वर्षमा यसले परम्परागत उपचारहरूलाई पछि पारेको छ।

क्लिनिकहरूमा चकित बनाउने अर्को तथ्य भनेको किशोर किशोरीहरूमा कपाल झर्ने समस्या हो, जुन प्रायः परीक्षा तयारी, रातभर पढाइ र डाइटका कारण देखिन्छ।
चेहराका उपचार बाहेक, ग्वाङ्डोङ प्रान्तका एक प्लास्टिक सर्जन लु फेङका अनुसार किशोर किशोरीहरूले दैनिक रूपमा बोसो हटाउने (Liposuction) माग राखिरहेका छन्। “तर उनीहरू मानसिक रूपमा तयार छन् कि छैनन् भन्ने प्रश्न महत्वपूर्ण छ,” उनले भनेका छन्।
ट्याटु पनि किशोरीहरूमा लोकप्रिय बन्दै गएको छ। “धेरै उच्च माध्यमिक विद्यार्थीहरूले स्टाइल देखाउन ट्याटु गराउँछन्। गाओकाओ पछि सेना भर्ना हुन जाँदा अभिभावकहरू मात्र थाहा पाउँछन्,” डाक्टर शी गेले भनेका छन्।
तर ट्याटु हटाउन महँगो खर्च लाग्छ र छ महिनासम्म उपचार चक्र लाग्न सक्छ। कहिलेकाहीं दाग पनि रहन सक्छ, जसले सैनिक सेवाका लागि अयोग्य बनाउन सक्छ।
सीसीटीभीको रिपोर्ट अनुसार, डाक्टरहरूले विद्यार्थीहरूले पहिला आफूप्रति जिम्मेवार बन्न सुझाव दिएका छन्। केही प्रक्रियाहरू जस्तो कि दोहोरो पलक र स्लिमिङ इन्जेक्सन सबै किशोरहरूका लागि उपयुक्त नहुन सक्छन्। डाक्टरहरूका अनुसार, किशोरहरूमा यस्तो उपचारको परिणाम व्यक्ति–व्यक्तिमा फरक पर्न सक्छ।
दक्षिण चीनका एक डाक्टरका अनुसार, गृष्मकालीन बिदामा दैनिक तीनदेखि चार जना नाबालिगहरूलाई उनीहरूले फिर्ता पठाउने गरेका छन्।
“किशोरहरूको अनुहारको बनावट परिपक्व भइसकेको हुँदैन। उनीहरूको सौन्दर्यबोध बदलिन सक्छ। असफल परिणामले मानसिक असर पार्न सक्छ,” चिनियाँ मेडिकल साइन्स एकेडेमी अन्तर्गतको प्लास्टिक सर्जरी अस्पतालका प्रमुख चिकित्सक वाङ यङ्छिएनले ग्लोबल टाइम्ससँग भने।
“दोहोरो पलक शल्यक्रियाबाट दाग, असमानता वा आँखाको कार्यसम्पादनमा समस्या आउन सक्छ। पुनःस्थापना तीनदेखि छ महिनासम्म लाग्छ र सो समयमा सुन्निनु वा दाग देखिनाले चिन्ता बढ्न सक्छ,” उनले थपे।
अनधिकृत क्लिनिकहरूको दुरुपयोग
कसैले “सौन्दर्य सानो उमेरबाट सुरु हुन्छ” भन्ने नारा प्रयोग गर्दै नक्कली कागजात तयार गरेर किशोरलाई अठार वर्षभन्दा माथि देखाउने र अभिभावकको सहमति नलिइ शल्यक्रिया गराउने गरेको पाइएको छ।
केही क्लिनिकहरू नेल सैलुन वा स्पा जस्ता स्थानबाट सञ्चालन हुन्छन्, जहाँ सस्तो इन्जेक्सन वा लेजर उपचार दिइन्छ। त्यस्ता अव्यवस्थित उपचारले संक्रमण, स्नायु क्षति वा ज्यानै जाने जोखिम पनि हुन्छ।
डाक्टर वाङले भने, “सौन्दर्य उपचार भनेको मुख्यतः चिकित्सकीय उपचार हो। त्यसैले प्रमाणित र योग्य अस्पताल छान्न आवश्यक छ। सस्तो मूल्य र आशामा भर पर्नु जीवन जोखिममा पार्न सक्छ।”
सामाजिक दबाब र मानसिकता
चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्महरूमा गाओकाओ (परीक्षा) पास गरेपछि सौन्दर्य शल्यक्रिया गर्ने विषयमा चर्चा हुने गरेको छ। कतिपय अभिभावकहरू यो ‘रणनीतिक लगानी’ हो भन्ने तर्क गर्छन्।
तर बीजिङ नर्मल युनिभर्सिटीका समाजशास्त्री याङ लिचाओका अनुसार, यो सोचाइ गहिरो चिन्ताको प्रतिफल हो। “कतिपय अभिभावकले सन्तानको सौन्दर्यलाई समाजिक र विवाहिक बजार मूल्यको रुपमा हेर्छन्।”
याङका अनुसार, यस्तो सोचले किशोरहरूमा आफ्नो शरीरलाई वस्तुजस्तै मूल्यांकन गर्ने प्रवृत्ति बढाउँछ।
मनोवैज्ञानिक झाङ लुलुले के-पप स्टार जस्तो आँखा बनाउने चाहनामा तीन पटक असफल शल्यक्रिया गराएकी एक किशोरीको परामर्श दिइरहेकी छन्, जसले अझै आत्मग्लानीबाट उम्कन सकेकी छैनन्।
समाधानका उपायहरू
याङका अनुसार, परिवारले शारीरिकभन्दा अन्य गुणहरूलाई प्रशंसा गर्नु आवश्यक छ। विद्यालयहरूले पनि सौन्दर्यबोधबारे आलोचनात्मक पाठ्यक्रम समावेश गर्न सक्नेछन्।
नीतिगत रूपमा, रोजगारीमा रूप हेरेर हुने भेदभाव रोक्ने स्पष्ट कानुनी व्यवस्था र भ्रामक विज्ञापनहरू नियन्त्रण गर्न आवश्यक छ।
स्रोतः ग्लोबल टाइम्स

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
