
खेमराज न्यौपाने
नेपालमा जनताको स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्नका लागि स्थापना गरिएको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममाथि हाल गम्भीर प्रश्न उठ्न थालेका छन्। २०७३ सालदेखि सुरु गरिएको यस बीमा कार्यक्रमले छोटो समयमा नै लोकप्रियता कमाएको थियो। तर पछिल्लो समयमा यो प्रणाली पुँजीवादी नियन्त्रणमा परेको भन्दै सर्वसाधारण आक्रोशित देखिएका छन्।
स्वास्थ्य बीमाको उद्देश्य जनतालाई न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने थियो। सरकारले रु. ३५०० तिरेपछि एक परिवारका पाँच सदस्यलाई एक वर्षसम्म रु. १ लाखसम्मको निःशुल्क उपचार सुविधा दिने व्यवस्था गरेको थियो। यसले गरिब, श्रमिक, किसान लगायतको जीवनयापनमा सहजता ल्याउने संकेत दिएको थियो।
तर व्यवहारमा भने यो बीमा प्रणाली झन्झटिलो बन्दै गएको छ। बीमितले सेवा लिने क्रममा सरकारी अस्पतालहरूमा लामाे लाइन, फाइलिङको झन्झट, डाक्टरको उपेक्षा र असहज व्यवहारको सामना गर्नुपरेको गुनासो घोराही उपमहानगरपालिका १० बस्ने इन्दिरा शर्माले भन्नुभयो यस्तो अवस्था सिर्जना हुनुमा ठूला निजी अस्पतालहरू र स्वास्थ्य माफियाहरूको भूमिका रहेको देख्न सकिन्छ
सरकारले पछिल्लो निर्णयअनुसार देशभरका ठूला अस्पतालहरूलाई रेफर सेन्टर मात्र बनाएपछि झनै समस्या थपिएको छ। अब बीमित नागरिकले सिधै ती अस्पतालमा उपचार गर्न नपाउने, प्राथमिक अस्पतालबाट रेफर भएर मात्र जानुपर्ने व्यवस्था लागू गरिएको छ। यसले समय, पैसा र स्वास्थ्य दुवैको जोखिम बढाएको भन्दै नागरिक आक्रोशित भएका छन्।
स्वास्थ्य मन्त्रालयले यस प्रणालीलाई व्यवस्थित रेफरल प्रणाली भन्दै बचाउ गरे तापनि, जनताको अनुभव र भोगाइले यसमा गम्भीर प्रश्न खडा गरेको छ। जनताको भनाइ छ – “स्वास्थ्य बीमाले गरिबको सहारा बन्नु पर्ने हो, तर अहिले त झन् रोगीलाई अस्पताल चहार्ने, सिफारिस खोज्नेको झनझट बनाइएको छ।”
“नेपाल पुँजीवादी स्वास्थ्य प्रणाली बलियो बन्दै गएको यो उदाहरण हो । निजी अस्पतालहरूमा लगानी गरेका पुँजीपतिहरू स्वास्थ्य बीमा प्रणालीलाई कमजोर बनाएर आफ्ना अस्पतालहरूमा पैसा कमाउने रणनीतिमा लागेका छन्।”सरकारले ठुला अस्पतालमा लाई रेफर प्रणाली लागू गरेर प्रत्यक्ष रूपमा रुपमा सरकारी स्वास्थ्य सेवाको पहुँच घटाउँदैछ, जसको लाभ निजी क्षेत्रले उठाउने निश्चित छ।
हाल नेपालका ८० लाखभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध छन्। तर यो संख्या बढ्दै जाँदा सेवा प्रणाली भने उल्टो घट्दै गएको छ। यही कारणले गर्दा जनताको बिमा प्रति विश्वास गुम्दै गएको छ।
नेपालमा स्वास्थ्य बीमा प्रणाली सुरुआतमा गरीब जनताको आशा बने पनि अहिले त्यो आशा निराशामा परिणत हुँदै गएको छ। यो अवस्था परिवर्तन गर्न सरकार, बीमाकर्ता र स्वास्थ्य संस्थाबीच समन्वय र पारदर्शिता अत्यावश्यक छ। नत्र भने, यो प्रणाली पुँजीवादको नयाँ चपेटा बन्ने निश्चित देखिन्छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
