• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कथाः बाल्यकालको प्रेम– ४





खेमराज न्यौपाने

परीक्षाको चटारो सकिएसँगै समयले पनि केही राहतको सास फेर्‍यो। केही दिन क्याम्पस शान्त भयो, मानौं पढाइको थकाइलाई समयले पनि विश्राम दिएको होस्। तर त्यो शान्ति धेरै दिन टिक्न सकेन। बैशाख २० एक बिहान सूचना टाँगिएको थियो –
“बि.एड. प्रथम वर्षका सम्पूर्ण विद्यार्थीहरू बैशाख २३ गते बिहान ११ बजे क्याम्पसमा अनिवार्य रूपमा उपस्थित हुनुहोला।”

मानवले सूचना पढ्यो। सूचना पढेपछि उसले लामो सास फेर्‍यो – त्यो सासमा कुनै चिन्ता थिएन, बरु हर्ष थियो। उसले तुरुन्तै त्यो सूचना तुरुन्तै प्रकृतिलाई पठायो। आफूले तयार पारेका सबै शैक्षिक कागजातहरू ब्यागमा राख्यो। तर कागज मात्रै होइन, भित्र कतै मनले पनि तयारी गरिरहेको थियो, जुन उसले स्वयम् महसुस गरिरहेको थियो।

२० गतेकै दिन हापुरेमा रहेको प्रकृतिले पनि मोबाइलमा सूचना पढिन्। २३ गते बिहानै चुपचाप आफ्नो झोला बोकी घोराहीतिर लागिन्। त्यही घोराहीमा थियो मानव – जो उसलाई स्वागत गर्न आतुर थियो। प्रकृतिको उपस्थितिले मानवनामा अनौठो सिहरन ल्याएको थियो, उसको धडकन केही फेरिएको जस्तो महसुस भैरहेको थियो।

क्याम्पसमा उनीहरूको भेट भयो। अघिल्लो भेटका संकोचहरू बिस्तारै हराउँदै थिए। औपचारिकताको आवरणमुनि कुनै आत्मीयताको चुपचाप अंकुर फूटिरहेको थियो।

“अब त सबै काम सकियो, कतै घुम्न जाउँ न?”, मानवले उत्साहित स्वरमा भन्यो।
प्रकृतिको अनुहार एकाएक उज्यालो भयो, “हो, जाउँ त! तर कहाँ जाने?”

केही सल्लाहपछि उनीहरू पुगे एक निर्णयमा – मौलाकोट। घोराही बजारको माथि रहेको रमणीय डाँडामाथिको स्थान, जहाँबाट सारा दाङ उपत्यकाको सौन्दर्य एक नजरमै आत्मसात् गर्न सकिन्थ्यो।

घामको राप बाक्लिँदै थियो। वैशाखको उखरमौलो गर्मी तातो बतास शरीरभर निथारिन्थ्यो। तर उनीहरूको मुहारमा थकाइ थिएन। बरु, मानवको मनमा लुकेको प्रेम थियो भने प्रकृतिको मुटुमा लुकेको प्रसन्नता उनीहरूको पाइला अघि बढाइरहेको थियो।

“तपाईंको जीवनमा पनि यस्तै गर्मी आउँदा होला, है?”, प्रकृतिले मुस्कुराउँदै भनिन्।
“हो नि,” मानवले सहजै जवाफ दियो, “तर तपाईंको हाँसोले अहिलेको गर्मी पनि शीतल लाग्दैछ।”

प्रकृति केही लजाइन्। अनुहार अर्कोतिर फर्काइन्, तर गालामा फुलेको लालीले उसको भावनालाई ढाक्न सकिरहेको थिएन।
मानव पनि मौन भयो – उसले अनुभूत गर्‍यो, आफ्नो मुटुमा केही मिठो तर अब्यक्त प्रेम हलचल गर्दैछ।

२ घण्टाको पैदल यात्रापछि उनीहरू मौलाकोट पुगे। त्यहाँबाट देखिएको दृश्य कुनै कविको कल्पना भन्दा कम थिएन। वरिपरिका हरिया डाँडाहरू, सर्पझैं बगिरहेका खोलाहरू, खेतका चउरहरू, र दाङ उपत्यकाको शान्त अनुहार – मानौं पृथ्वीले सजाएको सानो स्वर्ग।
त्यही सौन्दर्यको साक्षी राख्दै प्रकृतिले भनिन् –
“मानव, एउटा फोटो खिचौं न।”

मानवले सहजै सहमति जनायो। त्यो फोटो प्रकृतिको याद बन्यो, तर मानवका लागि त्यो फोटो केवल दृश्यिक होइन – एउटा मौन प्रेमको बिम्ब बनिसकेको थियो।

त्यहाँ उनीहरूले झन्डै दुई घण्टा बिताए। साँझको झिसमिसे हावा, शरीरको थकाइ, र मनको मौनता – सबैकुरा मौन संवादमा परिणत हुँदै थिए।
त्यो मौनता पनि शब्दझैं गहिरो थियो।

घोराही फर्कने बेला प्रकृति थकित देखिइन्। उकालो-ओरालोको यात्रा उनलाई सजिलो थिएन। हापुरेसम्म फर्कन अझै यात्रा बाँकी थियो।

“मिस थकित हुनुहुन्छ ?”, मानवले सोध्यो।
“थोरै मात्र…”, उनले हल्का मुस्कान दिइन्। तर त्यो मुस्कानभित्र थकाइको गहिरो रेखा लुकेको थियो।

त्यसदिन प्रकृति घोराही मै आफन्त कहाँ बसिन अर्को दिन बिहानै म्यसेन्जरको घण्टी बज्यो। स्क्रिनमा देखिएको नामले मानवको मुटु एकाएक चहकियो – प्रकृति। तर त्यो चहक केही क्षणमै आशंकामा बदलियो।

फोन उठाउँदै उसले भन्यो, “हेलो… प्रकृति?”
फोनको अर्को छेउबाट सुस्त आवाज आयो,
“मानव सर… खुट्टा साह्रै दुखिरहेको छ… साँझदेखि सुन्निएको जस्तो छ… हिँड्नै सकिरहेको छैन…”

त्यो आवाजले मानवको मुटु थरथरायो। उसले केही सोचेन। तुरुन्त बजारतिर दौडियो – मलम, औषधि, ब्यान्डेज किन्यो, अनि सोझै प्रकृतिको डेरातिर लाग्यो।

जब प्रकृतिलाई देख्यो, मानवका आँखामा लुकेका आशु, अनुहारमा विवशता, र नजरमा विश्वासको भाव देखिन्थ्यो । त्यो विश्वास केवल मित्रप्रति थिएन, त्यो विश्वास शायद एक अब्यक्त प्रेमप्रति थियो – जसले शब्द माग्दैन, तर व्यवहारमा पोखिन्छ।

मानवले औषधि तयार पार्दै खुट्टामा मलम लगाइदिन चाहान्थ्यो । तर उसको हरेक स्पर्शमा कसमसाएको प्रेम ब्यक्त गर्न सकेको थिएन।
तर मनभित्र एउटा कटु सत्य थियो त्यो सत्यले मानव हच्कचेन थियो किनकि मानव विवाहित थियो।

उसको विवाहित जीवन, उसका उत्तरदायित्व, र समाजको कठोर दृष्टि – यी सबैले उसलाई बाँधेको थियो। प्रेमलाई पोख्न उसले सक्दैनथ्यो। आफ्नो प्रेम ब्यक्त गर्न उसलाई डर लाग्ने गर्थ्यो कतै म बाट प्रकृति टाढा त हुदैनन्

त्यो साँझ मानव आफ्नो कोठामा फर्किएपछि लामो समयसम्म टोलाइ रह्यो । झ्यालबाहिरको झिल्को हेर्दै, आँखा चिम्लियो। प्रकृतिको खुट्टाको र उसको हेरचाह,कसले गर्यो होला.. फेरि एकपटक प्रकृतिको मलिन अनुहार आवाज, उसका हरेक व्यवहार एकपटक फेरि स्मृतिमा फनफनी घुमे।

मानव मन र मस्तिष्कबीचको द्वन्द्वको ठूलो चपेटामा छ छउसले आफ्नै छेउनेर रहेको पेन लिइ छेउमै रहेको कापीको पाना खोल्यो र लेख्न थाल्यो –

“म विवाहित छु। तर किन आज उसको पीडाले मलाई पोल्यो?
हिजोको ‘मानव सर’ भन्ने आवाजले किन मेरो मुटु काँप्यो?
प्रेम केवल शरीर होइन – आत्माको सम्बन्ध हो।
म प्रेम गर्छु – तर पीडा दिँदैन।”

“आज म बुझिन – उसको दुखाइमा मेरो मन किन दुख्यो? आँखा किन रसाय उसको पिडाम मलाई किन छट्पटी भयो खुट्टामा मलम लगाउन म किन तयार भए त्यो के थियो आत्मीयता या प्रेमले
के त्यो केवल मित्रता थियो?
यदि मित्रता हो भने, किन म हिजो रातभर उसकै अनुहार सम्झिरहेकी थिएँ?”

समाप्ति होइन, सुरुवात

बाल्यकालको नामको मात्र मित्रता अब पुनः जीवनको नयाँ मोडमा आइपुगेको थियो।
तर यो सम्बन्ध सजिलो थिएन –
एक विवाहित पुरुष र एक स्वतन्त्र युवतीबीचको सम्बन्ध समाजका लागि सधैं चुलोचौकाको विषय हुन्छ।

मानवको मनमा अझै द्वन्द्व चलिरहेको थियो –
कर्तव्य बनाम करुणा, सामाजिक मूल्य बनाम आत्माको पुकार।

प्रकृति अझै अनभिज्ञ थिइन् – मानवको वास्तविक प्रेमप्रति। तर उनको मन पनि अब भावनासँगै बहिन थालिसकेको थियो।
क्रमशः

Facebook Comments