सर्जन गौतम
अहिले विश्व ( मुस्लिम विश्व बाहेक ) न्युन जनसंख्या वा न्यून जनसंख्या वृद्धिदरसँग जुधिरहेको छ । सामान्यत: २.१ प्रजननदरलाई प्रतिस्थापन तहको जनसंख्या मानिन्छ । हाल पश्चिम युरोप, रुस लगायत पूर्वी युरोप सबैतिर जनसंख्या वृद्धिदर प्रतिस्थापन तह भन्दा कम छ ।
नेपालमा पनि जनसंख्या वृद्धिदर प्रतिस्थापन तहभन्दा कम ०.९२मा झरिसकेको छ । प्रजनन दर प्रति महिला २.० बच्चा भन्दा कममा झरेको अनुमान छ । बढ्दो सहरी जनसंख्या , शिक्षित जोडीको कम बच्चा जन्माउने प्रवृत्ति र विदेश पलायनले यसमा थप संकट थप्न सक्छ ।
जनसंख्याको सन्तुलन कायम गर्न विश्वका विभिन्न देशका सरकार प्रमुखले आह्वान गर्दै आएका छन् ।
रूसको राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा घट्दो जन्मदरलाई सम्बोधन गर्न परिवारलाई आर्थिक प्रोत्साहन र सामाजिक सुविधाहरू प्रदान गर्ने नीतिहरू लागू गरेका छन्। उनले सन् २०२० मा आफ्नो सम्बोधनमा भनेका थिए- हाम्रो देशको भविष्य हाम्रा बच्चाहरूमा निर्भर छ। हामीले परिवारहरूलाई बच्चा जन्माउन र हुर्काउन सजिलो बनाउनुपर्छ।पुटिनले पटक पटक एकजना महिलाले कम्तिमा ४ बच्चा जन्माउनुपर्ने बताउने गरेका छन् ।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेले पटक पटक बच्चा जन्माउन महिलाहरुलाई आह्वान गर्ने गरेका थिए । त्यसो गर्दा पनि स्थितिमा कुनै सुधार नभएपछि बच्चा नजन्माउने महिलाको देशका लागि केही काम नभएको भनेर गाली समेत गरेका थिए ।
जापानमा लामो समयदेखि जन्मदर घट्दो छ, र सरकारले यसलाई बढाउन विभिन्न नीतिहरू अपनाएको छ। जापानले बच्चा जन्माउने परिवारलाई आर्थिक सहायता, सस्तो बाल हेरचाह, र कार्य-जीवन सन्तुलन नीतिहरू लागू गरेको छ। तर खास फरक स्थिति तयार हुन सकेको छैन । जनसंख्या एक्सपर्टहरुले सन् २०५० मा जापान पूर्णतः बूढो हुने चेतावनी दिइराखेका छन् ।
विश्वकै सबैभन्दा कम जन्मदरको सामना गरिरहेको दक्षिण कोरियाले बच्चा जन्माउने परिवारलाई मासिक भत्ता, आवास सहायता, र कार्यस्थलमा लचिलो नीतिहरू लागू गरेको छ।
हंगेरीले बच्चा जन्माउने परिवारलाई कर छुट, निःशुल्क नर्सरी र आजीवन व्यक्तिगत आयकर छुट (चार बच्चा भएका आमाहरूलाई) जस्ता सुविधाहरू प्रदान गरेको छ।
सबैभन्दा बढी सुविधा जर्मनले प्रदान गर्छ – जहाँ किन्डरगार्टनदेखि उच्चशिक्षासम्म नि:शुल्क त छँदैछ । बच्चालाई १८ वर्षसम्म २५० युरो बालभत्ता उपलब्ध गराउँछ । अभिभावक भत्ता, पितृत्व/ मातृत्व विदा समेत उपलब्ध गराउँछ ।
चीनले सन् २०२१ मा दुई-बच्चा नीतिलाई हटाएर तीन-बच्चा नीति लागू गर्यो। राष्ट्रपति सी जिनपिङले जनसंख्या वृद्धिलाई राष्ट्रिय रणनीतिक प्राथमिकता भनेका छन्। सरकारले मातृत्व बिदा विस्तार, आर्थिक सहायता, र स्थानीय स्तरमा जन्मदर प्रोत्साहन कार्यक्रमहरू लागू गरेको छ । तर परिस्थितिमा कुनै सुधार आएको छैन ।
जापान, भारत ,कोरिया, नेपाल लगायतका पूर्वीय देशहरुमा भ्रुण पहिचान गरेर कन्या भ्रुण हत्या गर्ने प्रचलन रहेकोले खतरनाक रुपमा एकसाथ लैंगिक असन्तुलन समेत निम्तिन सुरु गरेको छ ।
नेपालका प्रधानमन्त्री केपी ओलीले जनसंख्या वृद्धिलाई सघाउने कुनै पनि कार्यक्रमविना ३ बच्चा जन्माउन आह्वान गरेका छन् । यसको उपायको रुपमा उनले बिस वर्षमा बिहे अर्थात अर्ली म्यारिजलाई प्रोत्साहन गर्न खोजेका छन् ।
छिटो विवाह गर्नाले जनसंख्या बढ्छ । तर कृषिमा आधारित प्रणालीमा जस्तो श्रमशक्ति आपूर्ति गर्न जो जन्मे पनि भातै खान्छ भनेर बच्चा जन्माउन अहिले बढिरहेको सहरी जनसंख्याका लागि सम्भव छैन ।
कमसेकम एउटा न एउटा रोजगारीमा नझुन्डिएको अवस्थामा सहरी जनसंख्याको लागि भातको जोहो गर्न समेत सम्भव छैन । सबैका लागि देशभित्र रोजगारीको अवसर छैन र विदेश पलायन हुने मानिसले देशको जनसंख्यामा कुनै योगदान गर्ने कुरो पनि भएन । त्यसकारण लेटम्यारिजको हालको अवस्थामा कुनै सुधार आउने देखिन्न ।
विश्वमा जनसंख्या बढी हुँदा वा कम हुँदा दुवै अवस्थामा पुँजीवादको कारण संकट उत्पन्न हुन्छ । अहिले जनसंख्या कम हुँदा समस्या छ भने पनि पुँजीवादको कारण उत्पन्न भएको हो ।
पुँजीवादले जनसंख्यासम्बन्धि समस्यालाई थमस माल्थसको जनसंख्या सिद्धान्तको आधारमा समाधान गर्न खोज्यो ।
माल्थसले An Essay on the Principle of Population” (1798) को निबन्धमा जनसङ्ख्या वृद्धि र खाद्यान्न उत्पादनबीचको असन्तुलनले सामाजिक र आर्थिक समस्याहरू निम्त्याउने तर्क गरेका थिए ।
माल्थसले जनसङ्ख्या ज्यामितीय अनुपातमा (geometric progression) वृद्धि हुने तर खाद्यान्न उत्पादन अङ्कगणितीय अनुपातमा (arithmetic progression) मात्र वृद्धि हुने दाबी गरेका थिए।
यसले जनसंख्या वृद्धिका कारण गरिबी, भोकमरी र सामाजिक सङ्कटलाई अपरिहार्य ठान्छ।
माल्थसले यी सामाजिक संकटबाट मुक्त हुन एउटा त प्राकृतिक कारणले जस्तो कि महामारी, भोकमरी आदीले नियन्त्रण हुने तर्क अगाडि सारे । अर्कोतिर , त्यस्तो प्राकृतिक नियन्त्रणको दु:खद अवस्था आउन नदिन नैतिक संयम आदि अपनाएर गरिबहरुलाई बच्चा नजन्माउन आह्वान गरे ।
माल्थसको पालामा जनसंख्या नियन्त्रणका कृत्रिम साधनको विकास नभएकोले उनले ‘ नैतिक संयम ‘ वा ब्रम्हचर्यको पालना द्वारा जनसंख्या नियन्त्रणको उपाय अगाडि सारेका थिए ।तर पछि जनसंख्या नियन्त्रणका अस्थायी र स्थायी साधनको विकास भएपछि पुँजीवादले जनसंख्या नियन्त्रणलाई आक्रामक रुपले लागू गर्यो । जसको उद्देश्य गरिबहरुको जनसंख्या नियन्त्रण गर्ने नै थियो ।
कार्ल मार्क्सले माल्थसको सिद्धान्तको कडा आलोचना गर्दै गरिबी र भोकमरी जनसंख्या वृद्धिको प्राकृतिक परिणाम स्वरुप होइन, पूँजीवादी उत्पादन प्रणालीको शोषणकारी प्रकृतिका कारण उत्पन्न हुन्छन् भन्ने विचार प्रकट गरे ।
माल्थसले यी समस्याहरूलाई जनसङ्ख्या वृद्धिमा दोष दिएर पूँजीवादी व्यवस्थाको संरचनात्मक कमजोरीलाई लुकाउन खोजेको मार्क्सको आरोप थियो। मार्क्सले पछिल्लो समयमा भएको प्राविधिक प्रगति र कृषिको उत्पादकत्वमा वृद्धिका कारण बढ्दो जनसंख्यालाई पुग्ने गरि खाद्यान्नको व्यवस्था गर्न सकिन्छ । तर पुँजीवादको असमान वितरण प्रणालीले त्यस्तो हुन नदिएर विश्वभर भोकमरीको अवस्था सिर्जना गर्दछ भनेका छन् ।
माल्थसले आफ्नो सिद्धान्तलाई प्राकृतिक नियमको रूपमा प्रस्तुत गरे, जसलाई मार्क्सले गलत ठाने। मार्क्सका अनुसार, जनसङ्ख्या वृद्धि र खाद्यान्न उत्पादनबीचको सम्बन्ध प्राकृतिक नियम होइन, बरु सामाजिक र ऐतिहासिक परिस्थितिमा आधारित छ। मार्क्सले भने – प्रकृतिको नियमले होइन, पूँजीवादी उत्पादन सम्बन्धले खाद्यान्नको अभाव र गरिबी निम्त्याउँछ । मार्क्सले औंल्याए कि उत्पादनका साधनहरूको असमान वितरण र श्रमको शोषणले धेरै मानिसहरू खाद्यान्नबाट वञ्चित हुन्छन्, न कि प्राकृतिक रूपमा खाद्यान्नको कमी भएर।
मार्क्सका अनुसार, विज्ञान र प्रविधिको विकासले खाद्यान्न उत्पादनलाई जनसङ्ख्या वृद्धिसँगै समायोजन गर्न सकिन्छ, तर पूँजीवादी व्यवस्थाले यस्तो प्रगतिलाई समान रूपमा वितरण गर्न असफल हुन्छ। पुँजीवादी वितरण प्रणालीलाई सच्च्याउने हो भने जनसंख्यालाई नियन्त्रण गरिरहनु नपर्ने मार्क्सको तर्क थियो ।
त्यसैले, माल्थसको सिद्धान्त पूँजीवादी युगको विशिष्ट परिस्थितिमा मात्र लागू हुन्छ, न कि सर्वकालिक सत्यको रूपमा।
माल्थसले जुन अतिरिक्त जनसंख्या (surplus population) लाई समस्याको रुपमा प्रस्तुत गरेका थिए । त्यसलाई मार्क्सले पूँजीवादी व्यवस्थाको उपजको रूपमा व्याख्या गरे। मार्क्सले पुँजीको पहिलो खण्डमा मा के तर्क गरे भने पूँजीवादले रिजर्भ आर्मी अफ लेबर(reserve army of labor) सिर्जना गर्छ, जसले बेरोजगार श्रमिकहरूको समूहलाई बुझाउँछ। यो समूह पूँजीपतिहरूलाई सस्तो श्रम प्राप्त गर्न र मजदुरहरूलाई कम तलबमा काम गर्न बाध्य बनाउन सहयोगी हुन्छ।
यसरी बेरोजगार श्रमिकहरुको ठूलो जनसंख्या हुनु पुँजीपतिको लागि त फाइदाको कुरो भएको थियो । किनभने उनीहरुले बेरोजगारहरुको प्रतिस्पर्धाले न्यून मूल्यमा श्रमिकहरुलाई काममा लगाउन पाइरहेका थिए । तर विश्वव्यापी रुपमा मजदुर आन्दोलनको लहर चलेपछि भने न्यून ज्यालामा मजदुरलाई काममा लगाउन सम्भव भएन । एकस्तरको मानवीय ज्याला दिनुपर्ने बाध्यतामा पुँजीवाद पुग्यो ।
बेरोजगार श्रमिकको आन्दोलन वा भिड धान्न नसकेर पुँजीवादी सरकारहरुले जनसंख्या नियन्त्रणको नीति आक्रामक रुपले लागू गरे । त्यसै समयमा मजदुरहरु पनि अबको मजदुर स्किल्ड हुनुपर्ने त्यसको लागि शिक्षा , स्वास्थ्य , खाद्यान्न आदिमा चर्को लगानी गर्नुपर्ने बाध्यताले समान रुपबाट जनसंख्या नियन्त्रणमा इच्छुक भए । पुँजीपतिका लागि ‘सस्तो श्रमिक’ किन जन्माइदिने भन्ने मानसिकताले नै श्रमिकहरुले कम बच्चा जन्माउन थालेका हुन् ।
अर्कोतिर लेनिनले पुँजीवादी व्यवस्थाले महिलालाई उत्पादनको साधनबाट टाढा राखेर उनीहरूलाई घरेलु श्रममा बाँध्ने जसले जनसंख्याको वृद्धिदरलाई नियन्त्रित गर्न र श्रमिक वर्गको आपूर्तिलाई सुनिश्चित गर्न भूमिका खेल्ने गरेको बताएका थिए।
लेनिनले महिलालाई उत्पादन प्रक्रियामा समावेश गर्नुपर्नेमा जोड दिएका थिए । उनको महिला मुक्तिको बारेमा ( On Emancipation of women ) नामक लेखमा समाजवादी व्यवस्थामा महिलालाई घरेलु श्रमबाट मुक्त गरेर औद्योगिक र सामाजिक श्रममा सहभागी गराउनुपर्ने बताएका छन्। यसमा जनसंख्यासँग सम्बन्धित नीतिलाई स्पष्ट गर्दै लेनिनले प्रजनन लाई केवल जैविक प्रक्रियाको रूपमा नभई सामाजिक र आर्थिक प्रक्रियासँग जोड्नुपर्ने बताएका थिए ।
लेनिनले समाजवादी व्यवस्थामा बच्चा जन्माउने र हुर्काउने कार्यलाई सामुदायिक दायित्व बनाउनुपर्ने र सामुदायिक भान्साघर, बाल हेरचाह केन्द्रहरू, र सामाजिक कल्याणकारी नीतिहरू मार्फत हेरचाह गर्नुपर्ने बताएका थिए । यसले महिलालाई घरेलु दासताबाट मुक्त गर्ने र जनसंख्या वृद्धिलाई समाजवादी योजनासँग जोड्ने र जनसंख्या नीति व्यक्तिगत स्वतन्त्रता र सामाजिक कल्याणमा आधारित हुने बताएका थिए । निश्चय नै लेनिनले भनेजस्तो महिलालाई औद्योगिक र सामाजिक श्रममा समावेश गरेर बच्चा हुर्काउने कार्यलाई सामुदायिक दायित्व बनाउन सकेको भए जनसंख्याको कमीको सम्भावना हुने थिएन ।
पहिलो र दोस्रो विश्वयुद्धको विशिष्ट परिस्थितिमा पुरुषको जनसंख्या कमि भएको अवस्थामा पुँजीवादले महिलालाई औद्योगिक श्रमबाट त बन्चित गर्न सकेन । तर एकातिर महिलाहरु औद्योगिक उत्पादन र सामाजिक श्रममा काम गर्न बाध्य हुनु तर अर्कोतिर बच्चा जन्माउने कुरालाई व्यक्तिगत उत्तरदायित्वको रुपमा लिनुपर्दा बच्चा नजन्माउने कुरातर्फ बढी आकर्षित भए ।
अर्कोतिर लेनिनले जनसंख्या नियन्त्रण सम्बन्धि नवमाल्थसवादी सिद्धान्तलाई आलोचना गर्दै नवमाल्थसवादीहरूले जनसंख्या वृद्धिलाई गरिबी र आर्थिक समस्याहरूको कारण देखाएर पुँजीवादी शोषण र असमान वितरण प्रणालीमाथि पर्दा हाल्न खोजेको आरोप लगाएका छन् ।
लेनिनले भनेका छन् कि गरिबी र भोकमरी जनसंख्या वृद्धिको कारणले होइन, बरु साधनहरूको असमान वितरण र पुँजीवादी उत्पादन प्रणालीको कारणले हुने हो। जनसंख्या नियन्त्रणको नीति पुँजीवादीहरूले श्रमिक वर्गलाई नियन्त्रित गर्न र आफ्नो शक्तिलाई कायम राख्न प्रयोग गर्छन्।
लेनिनले यस्ता नीतिहरूलाई “श्रमिक वर्गको सामाजिक हत्या को रूपमा चित्रण गर्दै समाजवादी व्यवस्थामा जनसंख्या वृद्धि समस्याको रूपमा नभई सामाजिक समृद्धिको साधनको रूपमा कायम हुने बताएका थिए । उनले नवमाल्थसवादी सिद्धान्तको विरोध गर्दै भनेका छन् कि समाजवादी उत्पादन प्रणालीले सबैलाई पर्याप्त खाद्यान्न, आवास, शिक्षा, र स्वास्थ्य सेवा उपलब्ध गराउन सक्छ, जसले जनसंख्या वृद्धिलाई समस्याको रूपमा उपस्थित हुँदैन । महिलाहरुको स्वास्थ्य र स्वायत्ततामाथि प्रतिकुल प्रभाव पार्ने अवस्थामा बाहेक अन्य अवस्थामा जनसंख्या नियन्त्रणको नीतिलाई प्रोत्साहन गर्न नहुने कुरामा लेनिनले विशेष जोड दिएका छन् ।
माथिको विवेचनाले के स्पष्ट गर्छ भने जनसंख्या सम्बन्धि समस्या पुँजीवादी उत्पादन प्रणालीका कारण उत्पन्न समस्या हो । पुँजीवादी उत्पादन र वितरणको समस्या समाधान नगर्दै पुटिन, सिन्जो आबे वा केपी ओलीले आह्वान गर्दैमा कम जनसंख्याको समस्या समाधान हुने होइन । यसको लागि उत्पादन र वितरणको पुँजीवादी प्रणाली बदलेर समाजवादी प्रणाली अपनाउनुपर्छ ।
पुँजीवादले अन्य श्रोतजस्तै श्रमिक वर्गलाई पनि वस्तु ( कमोडिटी) को रुपमा लिन्छ । पुँजीवादी कारखानामा श्रमिकहरुको आवश्यकता अनुसार बढी जनसंख्या वा कम जनसंख्या गराउने आवश्यकतामा जोड दिन्छ । यद्यपि पुँजीवादले रोबोटिक्स लगायत धेरै प्रविधिमा फड्को मारेको भएपनि सस्तो श्रमिकको तुलनामा तिनको प्रयोग लागत उच्च छ । वर्तमान अर्थ राजनीतिक प्रणाली अन्तर्गत बढी बच्चा जन्माउने आह्वान गर्नुको अर्थ पुँजीवादको लागि सस्तो श्रमिक उपलब्ध गराउनु नै हो ।
तर अहिलेको लिभिङ कस्टमा श्रमिक किसान र मजदुरहरू थप बच्चा जन्माउन समर्थ हुन्छन् भन्ने लाग्दैन ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
