• १८ कार्तिक २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मर्पेस डाँडाको सरसफाइमा जुटेका युवाहरूलाई स्थानीयद्वारा सम्मान




दाङ । पछिल्लो समय प्राकृतिक सौन्दर्यले भरिपूर्ण हुँदै सामाजिक सञ्जालमा भाइरल बन्दै गएको दाङको बंगलाचुली गाउँपालिका–२, मर्पेसको पोखरी डाँडामा स्वच्छता अभियानमा जुटेका युवाहरुलाई सम्मान गरिएको छ ।

सदरमुकाम घोराहीबाट करिब १० किलोमिटर पश्चिममा अवस्थित पोखरी डाँडा प्राकृतिक रूपमा अत्यन्तै सुन्दर गन्तव्यका रूपमा विकास हुँदै गएको छ । दैनिक सयौँ स्थानीय तथा बाहिरी पर्यटकको आवागमन हुने उक्त ठाउँमा केही व्यक्तिहरूले जिम्मेवारीको ख्याल नगरी फोहोर गर्ने गरेको भन्दै त्यसको विरोधमा युवाहरूले स्वेच्छिक रूपमा सरसफाइ थालेका हुन् ।

घोराहीका युवाहरूले पोखरी डाँडा क्षेत्रको वरिपरि प्लास्टिक, फोहर जन्य वस्तुहरू संकलन गरी सरसफाइमा सक्रिय भूमिका खेलेपछि उनीहरूलाई प्रोत्साहन स्वरूप नेपाली कांग्रेस बंगलाचुलीका सचिव तथा श्री आधारभूत विद्यालय मर्पेसका अध्यक्ष बलदेव मल्ल, नेपाली कांग्रेस बंगलाचुलीका कोषाध्यक्ष तथा वडा सदस्य भुपेन्द्र मल्ल, सुनछहरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिरा बहादुर पुन, र बराह टोल विकास संस्थाका अध्यक्ष शम्भु मल्लले लगायतले संयुक्त रूपमा सम्मान गरेका हुन् ।

कार्यक्रममा सरसफाइमा सहभागी कलाकार तथा सामाजिक अभियन्ता शुलभ पौडेल, पुजा पाण्डे, आशिष बुढाथोकी, आशिष पुन, अर्पण महरा, अनिश बुढा, उज्ज्वल सेन ठकुरी, रोशन क्षेत्री, विशाल गिरी, सुशील रिजाल लगायतका युवाहरूलाई एक प्याकेट ग्लोभ्स, टीका र खाद्यले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बंगलाचुलीका सचिव मल्लले पर्यटकीय सम्भावना बोकेको मर्पेस पोखरी डाँडालाई सफा र सुन्दर राख्न सबैको सहयोग आवश्यक रहेको बताएका थिए । उनीहरूले युवाहरूको सक्रियता उदाहरणीय रहेको उल्लेख गर्दै अन्य ठाउँका युवाहरूलाई पनि यस्तै अभियानमा लाग्न आग्रह गरे ।

सम्मानित युवाहरूले मर्पेस पोखरी डाँडाको प्राकृतिक सौन्दर्यलाई जोगाउन र सफाइको महत्त्वलाई जनचेतनामा पुर्‍याउन निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले पोखरी डाँडामा फोहोर नगर्न सबैलाई आग्रह गर्दै यस्ता सामाजिक काममा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

हाल मर्पेस पोखरी डाँडा घुम्न जानेको संख्या बढ्दै गएको छ । तर, पर्यटनसँगै फोहोर व्यवस्थापन चुनौती बनेको स्थानीयवासीको भनाइ छ । युवाहरूको सक्रियताले यस क्षेत्रलाई थप सफा, हरियाली र आकर्षक बनाउन सघाउ पुग्ने स्थानीयले विश्वास व्यक्त गरेका छन् ।

Facebook Comments