• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सोभियत सत्ता र समाजवादी शिक्षाको अभ्यास




सर्जन गौतम
विषय प्रवेश

‘सोभियत सत्ता र समाजवादी शिक्षा’ विषयक अवधारणापत्र प्रस्तुत गर्ने क्रममा मार्क्सवादी विचारक क. शशिधर भण्डारीले सर्वप्रथम युरोप, विशेषतः ग्रीक कालदेखि पुनर्जागरणकालसम्मको बौद्धिक विकासको चर्चा गर्नुभएको छ। ग्रीक कालको ज्ञान खोजीमा आधारित सभ्यता, क्रिस्चियन धर्मको प्रभाव रहेको मध्यकाल, र पुनर्जागरणकालमा ज्ञान र विज्ञानमा भएका परिवर्तनहरूको विवेचना गर्दै उहाँ सोभियत क्रान्तिसम्म आइपुग्नुभएको छ।

रुसमा समाजवादी शिक्षाको वास्तविक अभ्यास कसरी भयो भन्ने विषयमा अवधारणापत्रमा सिमित चर्चा गरिएको भए पनि त्यसले तत्कालीन सोभियत सत्ताले अपनाएको समाजवादी शिक्षाको सैद्धान्तिक विशेषता प्रस्ट पारेको छ। अवधारणापत्रमा सोभियत शिक्षाका निम्न विशेषता उल्लेख गरिएका छन्:
१) शिक्षा वैज्ञानिकतामा आधारित थियो।
२) शिक्षाको चरित्र वर्गीय थियो।
३) शिक्षा धर्म, अन्धविश्वास र रुढिवादविरुद्ध थियो।

म यस अवधारणापत्रको सैद्धान्तिक समर्थन गर्दै केही थप बुँदागत विचारहरू प्रस्तुत गर्दछु।

सोभियत ढाँचाको शिक्षाको सुरुवात
१९१७ मा क्रान्तिपछि रुस अन्य क्षेत्रहरू जस्तै शिक्षामा पनि निकै पछाडि थियो। देशमा सामन्तवादी र प्राक–पुँजीवादी प्रणालीको प्रभाव थियो र जनसंख्याको ठूलो भाग निरक्षर थियो। १०० भन्दा बढी भाषिक समुदाय बसोबास गर्ने यस देशमा भाषाको बहुलताका कारण पनि शिक्षा सबैमा पुग्न सकेको थिएन।

लेनिनको स्पष्ट धारणा थियो: जनतालाई शिक्षित नगराई समाजवादको रक्षा सम्भव छैन। तसर्थ, बोल्सेभिक पार्टीले शिक्षालाई योजना र प्राथमिकताको विषय बनायो।

१९१८ मा आयोजित सम्पूर्ण रसियाली शिक्षा सम्मेलनमा लेनिनले सम्बोधन गर्दै शिक्षा वर्गीय हुन्छ र श्रमिक वर्गको पक्षमा शिक्षाको पुनः संरचना गर्नुपर्नेमा जोड दिनुभयो।

सम्मेलनमा ७०० जना शिक्षाविद्, शिक्षक र सरकारी अधिकारीको सहभागिता थियो।

उक्त सम्मेलनले समाजवादी शिक्षाको खाका तयार पार्यो र कम्युनिस्ट पार्टीको केन्द्रीय समितिबाट पारित गरियो।

दोस्रो सम्मेलन १९२१ मा भयो। लेनिनले फेब्रुअरी ७ मा सम्बोधन गर्दै जनकमिसारको कामको समीक्षा गरे।

पुस्तकालय सञ्जाल विस्तार, बहुप्राविधिक शिक्षामा केन्द्रित समीक्षा गरियो।

त्यसबेला ३३,९४० पुस्तकालय स्थापना भइसकेका थिए।

लेनिनले लुनाचार्स्की र ग्रीन्कोलाई शिक्षा विशेषज्ञका रूपमा अघि सारे पनि सोभियत शिक्षाको विकासमा तीन व्यक्तिको भूमिका विशेष रह्यो:
१) लुनाचार्स्की – जनकमिसार
२) पोक्रोभस्की – राज्य परिषद् शिक्षाध्यक्ष
३) क्रुप्सकाया – राजनीतिक शिक्षा समिति अध्यक्ष

लुनाचार्स्कीले १९२६ मा “Public Education in the Russian Socialistic Federation of Soviet Republics” नामक पुस्तक प्रकाशित गरेका थिए, जसबाट सोभियत शिक्षाको रूपरेखा बुझ्न सकिन्छ।

शिक्षाको संरचना र उद्देश्य
शिक्षा मन्त्रालय अन्तर्गत विभिन्न निकायहरू सञ्चालनमा थिए, जस्तै:

सामाजिक शिक्षा

बहुप्राविधिक शिक्षा

प्रौढ शिक्षा

राजनीतिक शिक्षा

विज्ञान तथा अनुसन्धान

कला, संग्रहालय, साहित्य, प्रकाशन

गैर-रसियन जातीय समुदायका लागि पृथक शिक्षा परिषद् गठन गरिएको थियो। शिक्षाका तीन आधारभूत शाखा:
१) सामाजिक शिक्षा
२) व्यावसायिक शिक्षा
३) राजनीतिक शिक्षा

शिक्षाको लक्ष्य:

श्रमशक्तिसँग जोडिएको साधारण शिक्षा

राज्यलाई आवश्यक जनशक्ति उत्पादन

सामाजिक र व्यावसायिक शिक्षाको समन्वय

गुणस्तरीय शिक्षामा एकरुपता

ट्रेड युनियन र युवा संगठनलाई शिक्षासँग जोड्ने


शिक्षालयको संरचना र विद्यार्थी संख्या (१९२६ सम्म):

शिक्षालयको प्रकार संख्या विद्यार्थी

बहुप्राविधिक ५०३ ६१,०६४
कृषि प्राविधिक २३९ ४४,३२८
शिक्षाशास्त्र २१८ ३६,१७९
मेडिकल १५८ १६,५६४
कला २१४ २८,५२६
उच्च शिक्षा (विश्वविद्यालय) ८६ १,१५,११६

राजनीतिक शिक्षा कार्यक्रम (क्रुप्सकायाको नेतृत्व):
१) निरक्षरताको उन्मूलन
२) प्रौढ शिक्षा
३) पुस्तकालय स्थापना
४) क्लब र पढ्ने कटेज
५) प्रचार–प्रसार
६) स्वयं अध्ययन
७) कला र सिनेमा

प्रगति र प्रभाव:

१९३९ मा साक्षरता दर ८०%,

१९४० मा ९०% पुग्यो।

ताजिकिस्तानमा १९१४ मा ४०० मात्र स्कुल विद्यार्थी थिए, १९३८ मा २३५,००० भए।

कजाकस्तानमा साक्षरता १९१७ मा २% बाट १९४८ मा ९८% पुग्यो।

पूर्व–प्राथमिक शिक्षा: नर्सरी र किन्डरगार्टन

नर्सरी २४ घण्टा खुला, बच्चा तीन महिनादेखि भर्ना हुने व्यवस्था

किन्डरगार्टन ६–२४ घण्टा वैकल्पिक सेवा, बाल–मनोविज्ञानमा आधारित

प्राथमिक, माध्यमिक र पूर्ण माध्यमिक स्कुल

प्राथमिक: ४ वर्ष, मातृभाषामा शिक्षा

अपूर्ण माध्यमिक: ७ वर्ष, अनिवार्य र निःशुल्क

पूर्ण माध्यमिक: १० वर्ष, वैज्ञानिक र व्यावसायिक विषय समेटिएको

टेक्निकम, ट्रेड स्कुल, श्रमिक स्कुल, भेट्रान स्कुल

टेक्निकम: व्यावसायिक जनशक्ति उत्पादन

ट्रेड स्कुल: ४ वर्षको फिल्ड कार्य अनिवार्य

श्रमिक स्कुल: कम्पनीद्वारा सञ्चालन

भेट्रान र अपांग बालबालिकालाई समावेश गर्ने व्यवस्था

फरेस्ट स्कुल, चिल्ड्रेन्स होम, प्रौढ शिक्षा

स्वास्थ्य वा बौद्धिक कमजोरी भएका बालबालिकाको लागि विशेष शिक्षा

अनाथ बालबालिकाको लागि आवासीय स्कुल

प्रौढ शिक्षा अन्तर्गत १०,००० स्कुल

शिक्षक तालिम

माध्यमिकपछि ४ वर्षको तालिम अनिवार्य

पिटिई, शिक्षाशास्त्र, मनोविज्ञान र मार्क्सवाद–लेनिनवादको पाठ्यक्रम

प्रशंसा र आलोचना:

अमेरिकी शिक्षाविद् जोन ड्यूईले सामाजिक व्यवहारवादको प्रशंसा गरे

तर शिक्षा प्रणालीको अत्यधिक केन्द्रिकरणको आलोचना गरे

समाप्ति:
रुसको शिक्षाले विश्व समाजवादी शिक्षामा ऐतिहासिक योगदान दियो। चीन र क्यूबाले यसको अनुकरण गर्दै आफ्नो शिक्षात्मक संरचना विकास गरे। आजको युगमा पाउलो फ्रेरेजस्ता चिन्तकले सामाजिक सहभागिता र मुक्तिको शिक्षाशास्त्र प्रस्तुत गरेका छन्।

तसर्थ, सोभियत अनुभव, फ्रेरेको दृष्टिकोण र हाम्रो आवश्यकता अनुसार शोध–विश्लेषण गरेर नेपालमा पनि समाजवादी शिक्षाको संरचना सम्भव छ।
(यो टिप्पणी लेनिन स्मृति शतवार्षिकी दाङले आयोजना गरेको विचार गोष्ठीमा शशिधर भण्डारीद्वारा प्रस्तुत कार्यपत्रमाथि टिप्पणीस्वरूप व्यक्त विचारहरू हुन्। तसर्थ, यसमा अनुसन्धानात्मक लेखमा हुनुपर्ने सम्पूर्ण गुण नहुन पनि सक्छ।-लेखक)

Facebook Comments