• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा निःशुल्क पत्रकारिता तालिम: प्रविधि र दृष्टिकोणलाई समृद्ध बनाउन जोड




दाङ। प्रेस सेन्टर नेपाल, घोराही शाखाको आयोजनामा सञ्चालित निःशुल्क समाचार लेखन तथा डिजिटल पत्रकारिता तालिम आजदेखि घोराहीमा सुरु भएको छ।

पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई सशक्त बनाउने उद्देश्यले सुरु गरिएको तीनदिने तालिमको उद्घाटन कार्यक्रम शाखाका अध्यक्ष हेमराज परिवर्तनको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

प्रमुख अतिथि आचार्यले तालिमले जिल्लामा क्रियाशील र नवप्रवेशी पत्रकारहरूलाई नयाँ सिप, प्रविधि र दृष्टिकोणमा समृद्ध बनाउन मद्दत गर्ने बताउनुभयो। उहाँले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै नवप्रवेशी पत्रकारहरूलाई सही मार्गदर्शन दिन र पत्रकारितालाई जिम्मेवार बनाउने यस्ता तालिमहरू अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले डिजिटल युगमा पत्रकारिताका चुनौतीहरू झन् जटिल बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले सचेत, खोजी र तथ्यमा आधारित पत्रकारिता आजको आवश्यकता भएको बताउँदै यस्ता तालिमले पत्रकारहरूलाई प्रविधिसँग अभ्यस्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासङ्घ, दाङका अध्यक्ष सन्तोष सुवेदीले तालिमले जिल्लाका पत्रकारहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो। उहाँले यसले व्यावसायिकता, जिम्मेवारी र मूल्यमा आधारित पत्रकारिता अभ्यास गर्न सहयोग गर्ने धारणा राख्नुभयो।

नेकपा (माओवादी केन्द्र) प्रचार विभाग सदस्य तथा महासङ्घका निवर्तमान केन्द्रीय उपाध्यक्ष उदय जिएमले यस्ता तालिमहरू केवल सीप विकासका लागि मात्र नभई विचार र दृष्टिकोण विस्तारको माध्यम भएको बताउनुभयो। पत्रकारिता परिवर्तनको माध्यम भएकाले त्यसमा निहित मूल्य र जिम्मेवारी बुझ्न यस्ता तालिमहरू आवश्यक रहेको उहाँले बताउनुभयो।

यस्तै, कार्यक्रममा उपस्थित प्रेस सेन्टर नेपाल अनुशासन आयोगका सदस्य प्रकाश चौधरी, प्रेस सेन्टर नेपाल दाङका उपाध्यक्ष जीवन रोका, संस्थापक अध्यक्ष पूरण शर्मा, प्रेस चौतारी दाङका सचिव निमुसंगम घर्ती, दाङ महिला जेसिसकी कार्यकारिणी उपाध्यक्ष लक्ष्मी घमालगायत वक्ताहरूले पत्रकारितामा आचारसंहिता र नैतिकताको पालनाले दीर्घकालीन विश्वास निर्माण हुने बताउँदै यस्ता तालिमले अनुशासित पत्रकार उत्पादनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

शाखाका उपाध्यक्ष विष्णु गोराथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव सुविनराज सेर्पालीले गर्नुभयो।

पहिलो दिन : समाचार र समाचार लेखन

तालिमको पहिलो दिन वरिष्ठ पत्रकार नरेन्द्र केसीले ‘समाचार र समाचार लेखन’ विषयमा विस्तृत प्रशिक्षण दिनुभयो। उहाँले समाचार लेखनमा निष्पक्षता, सन्तुलन र तथ्यको महत्वमाथि विशेष जोड दिनुभयो। तालिममा नयाँ र अनुभवी दुवै खालका पत्रकारहरूको सहभागिता रहेको छ। सहभागीको संख्या २५ जना रहेको छ।

तालिम अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकहरूले पत्रकारिताका विविध पक्षबारे प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ। दोस्रो दिन लक्ष्मी आचार्यले महिला तथा लैङ्गिक संवेदनशीलतासहितको पत्रकारिता, अजयदीप शर्माले सम्पादकीय लेखन र विचार पत्रकारिता, जनक नेपालीले टेलिभिजन पत्रकारिता विषयमा प्रशिक्षण दिनुहुनेछ।

तेस्रो दिन सन्तोष सुवेदीले फ्याक्ट चेक र गलत सूचना विरुद्धको पत्रकारिता, हेमराज परिवर्तनले डिजिटल पत्रकारिता तथा मोबाइल जर्नालिजम विषयमा प्रशिक्षण दिनुहुने तालिका तय गरिएको छ।

तालिम नेपाल पत्रकार महासङ्घ, दाङ शाखाको सभाहलमा सञ्चालन भइरहेको छ।

Facebook Comments